१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रघुराम राजन
२०७६ जेठ १२ आइतबार ०८:५४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

आलोचनाले नै पुँजीवाद फस्टाउँछ

नयाँ अवसर सिर्जना गर्न, बजार अर्थव्यवस्थामा आफ्ना सदस्यको भरोसा कायम राख्न बटम–अप नीति चाहिन्छ र लोकतान्त्रिक आलोचनालाई ध्यान दिनुपर्छ

Read Time : > 3 मिनेट
रघुराम राजन
२०७६ जेठ १२ आइतबार ०८:५४:००

नयाँ पत्रिका अन्तर्राष्ट्रिय शृंखला

पछिल्लो समय अमेरिकाका ठूला व्यवसाय आलोचनाको तारो बनिरहेका छन् । अमेजनले न्युयोर्कको क्विन्समा नयाँ मुख्यालय स्थापना गर्ने योजनामा स्थानीयबाट ठूलो विरोध खेप्नुपरेपछि योजना रद्द गर्नुपर्‍यो । 

साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले फेसबुकको प्रतिस्पर्धाविहीन बजार अवस्थितिमाथि प्रश्न उठाएका छन् । उनका सहकर्मी म्यासाच्युएटकी डेमोक्रेटिक सिनेटर एलिजाबेथ वारेनले पनि कम्पनीहरूलाई विभाजित गर्नुपर्ने आह्वान गरेकी छन् । वारेनले सिनेटमा एक विधेयक पेस गरेकी छन्, जसअनुसार कर्पोरेट बोर्डमा रहने सदस्यमा ४० प्रतिशत हिस्सा श्रमिकको सुनिश्चिता खोजिएको छ । 

यस्ता प्रस्ताव स्वतन्त्र बजार पुँजीवाद भएको देशमा असंगत देखिएला । तर, यो बहस आजको अमेरिकाका लागि आवश्यक छ । अमेरिकाको इतिहास हेर्दा, पुँजीवादलाई ठीक ठाउँमा राख्न यसका आलोचकले निकै ठूलो भूमिका खेलेका छन् । तिनले पुँजीवादअन्तर्गत हुने आर्थिक शक्तिको केन्द्रीकरण र आर्थिक शक्तिबाट आउने राजनीतिक लाभविरुद्ध लडेर पुँजीवादलाई सुचारु रहन सघाएका छन् । 

जब केही ठूला औद्योगिक प्रतिष्ठानले अर्थ व्यवस्थालाई प्रभावमा पार्छन्, तिनीहरूले राज्यनियन्त्रित संयन्त्रसँग तालमेल गर्छन् र निजी तथा सार्वजनिक क्षेत्रका कुलीन वर्गको अपवित्र गठबन्धन निर्माण गर्छन् । 

रुसमा यस्तै भएको हो । फलस्वरूप त्यहाँ नाम मात्रको पुँजीवाद र प्रजातन्त्र छ । त्यहाँको राज्य वयवस्था सीमित व्यक्तिको हातमा छ । त्यहाँ क्रेमलिनप्रति अनुगृहीत कुलीनतन्त्रले निर्माण र बैंकिङ क्षेत्रमाथि पूर्ण नियन्त्रण कायम गरेर, आर्थिक र राजनीतिक प्रतिस्पर्धाको सम्भावना अन्त्य गरिदिएको छ । वास्तवमा रुस त्यस्तै चरम समस्यामा छ, जस्तो सन् १९६१ मा अमेरिकी राष्ट्रपति ड्विट डी आइजनहावरले आफ्नो बिदाइ समारोहको सम्बोधनमा व्यक्त गरेका थिए । सम्बोधनमा उनले अमेरिकी नागरिकलाई ‘सैन्य–औद्योगिक गठबन्धन’लाई ‘असीमित प्रभाव हासिल गर्नबाट रोक्न’ सतर्क गराएका थिए । त्यस्तै, उनले ‘अनुपयुक्त शक्तिको ध्वंशात्मक उदयको सम्भावना’को पनि चेतावनी दिएका थिए । 

अमेरिकाको इतिहास हेर्दा पुँजीवादलाई ठीक ठाउँमा राख्न यसका आलोचकले निकै ठूलो भूमिका खेलेका छन् । तिनले पुँजीवादअन्तर्गत हुने आर्थिक शक्तिको केन्द्रीकरण र त्यसबाट आउने राजनीतिक लाभविरुद्ध लडेर पुँजीवादलाई सुचारु राखेका छन् ।

अमेरिका एक प्रजातान्त्रिक पुँजीवादी राष्ट्र हो । यद्यपि, आजको दिनमा ठूलो संख्याका अमेरिकी उद्योग ‘सुपरस्टार’ फर्मबाट शासित भइरहँदा ‘लोकतान्त्रिक समाजवादी’ अभियन्ता र लोकप्रिय प्रदर्शनकारीहरू आइजेनहावरको चेतावनीअनुरूप चलिरहेको देखिन्छ । रुसका कुलीन वर्गले सन् १९९० को दशकमा राज्यको सम्पत्ति हडपेर धन आर्जेका हुन् । तर, त्योभन्दा अलग अमेरिका ‘सुपरस्टार फर्म’ले आजको स्थिति तिनको उच्च उत्पादकत्वबाट हासिल गरेका हुन् । यसको अर्थ तीमाथि अत्यन्त होसियारीपूर्वक नियमनकारी कदम चालिनुपर्छ । अर्थात्, तीमाथि घन होइन, छिनो प्रयोग गरिनुपर्छ । 

विशेषतः आपूर्ति सञ्जालको यो युगमा, अमेरिकी प्रतिष्ठान अर्थतन्त्रको सूक्ष्म लाभ, नेटवर्क व्यापारबाट लाभान्वित भएका छन् । उत्पादन प्रक्रियाका सबै तहमा रियल टाइम डाटा प्रयोगबाट आफ्नो कार्यकुशलता र कार्यक्षमतामा सुधार गरेका छन् । अमेजनजस्तो कम्पनीले डेलिभरी समय घटाउन र सेवाको गुणस्तर सुधार गर्न निरन्तर रूपमा यसको तथ्यांकको विश्लेषणबाटै सिक्ने गर्छन् । प्रतिस्पर्धामा यो यति अघि छ कि यसलाई कमै मात्र सरकारी सहयोगको आवश्यकता पर्छ । यही कारण अमेजनका संस्थापक जेफ बेजोस अमेरिका प्रशासनप्रति सधैँ आलोचनात्मक रहने ‘द वासिङ्टन पोस्ट’को स्वामित्व लिने सामथ्र्य राख्छन् । 

सुपरस्टार फर्म आज अत्यन्त दक्ष छन् भन्नुको अर्थ सधैँ यस्तै रहिरन्छन् भन्ने पनि होइन । विशेष सार्थक प्रतिस्पर्धाको अभावमा त्यो सम्भावना पनि हुन्न । पहिलाको अवस्थामा कायम रहिरहन उनीहरू प्रतिस्पर्धाविरोधी माध्यमतर्फ लालायित पनि हुनेछन् । अमेरिकी सरकारले सन् १९८४ को ‘कम्प्युटर फ्रड एन्ड एब्युज एक्ट’ र सन् १९९८ को ‘डिजिटल मिलेनियम कपिराइट एक्ट’ ल्यायो । यी कानुनको समर्थन गरेर इन्टरनेटका नेतृत्वदायी कम्पनीले आफ्नो क्षेत्राधिकारमा प्रतिस्पर्धीलाई छिर्नै नसक्ने गरी आफ्नो लाभको सुनिश्चितता गरे । 

त्यसैगरी, सन् २००९ को आर्थिक संकटपछि ठूला बैंकले नियमनको लागत खर्चलाई स्वीकार गरे । उनीहरूले त्यस नियमनका लागि लबिङ नै गरे, ता कि नियम पालना गर्न लागत खर्च बढ्नेछ । साना कम्पनीले यो धान्न सक्ने छैनन् र प्रतिस्पर्धामै आउने छैनन् । अहिले अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासन आयात महसुल बढेकोमा औधी खुसी छ । राम्रा ठूला कम्पनी पनि खुसी छन्, जसले संरक्षण पाएका छन् र लागत खर्च बेहोर्ने सामथ्र्य पनि राख्छन् । साधारणतया, उत्पादकत्वभन्दा कम्पनीको मुनाफा बढाउन सरकारले बौद्धिक सम्पत्तिको अधिकार, नियम र महसुलजस्ता विषयमा ध्यान दिन थालेको छ । किनकि सरकारको कार्यक्षमता यसैसँग निर्भर हुन्छ । त्यसैले भोलिको संस्थागत कार्यक्षमता र स्वतन्त्रता सुनिश्चितता भनेकै आजको प्रतिस्पर्धाको हो । 

पुँजीवाद स्वभावतः मुठ्ठीभर व्यक्तिको नियन्त्रणमा जान खोज्छ, तर त्यस अवस्थामा जानबाट रोकेर प्रतिस्पर्धी बनाइराख्ने दबाब सरकारमाथि आमसर्वसाधरणबाट आउने गर्छ । इतिहासमा आमसर्वसाधरणले आफ्नो समुदायमा लोकतान्त्रिक रूपमा संगठित भएर बजारको प्रतिस्पर्धा र खुला प्रवेश सुनिश्चित गराएका छन् । अमेरिकामा १९औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको प्रारम्भमा पपुलिस्ट र प्रगतिशील आन्दोलन उठेको थियो । यी आन्दोलन रेलमार्ग र बैंकिङजस्ता महत्वपूर्ण उद्योगमा देखिएको एकाधिकारको प्रतिक्रिया थियो । जनस्तरमा भएको परिचालनले सन् १८९० को ‘सरमन एन्टी–ट्रस्ट एक्ट’ र सन् १९३३ को ‘ग्लास–स्टिगल एक्ट’जस्ता नियमनकारी कानुन निर्माण गरायो । शिक्षा, स्वास्थ, ऋण र व्यवासाय क्षेत्रमा सुधारका महत्वपूर्ण कदम पनि त्यही समय चालियो । प्रतिस्पर्धालाई समर्थन गरेर यी अभियानले पुँजीवादलाई झन् सजीव मात्र बनाएनन्, कर्पोरेटवादी अधिनायकवादीको खतरालाई पनि नियन्त्रण गरे । 

पिछडिएको एक फ्रान्सेली गाउँ र अमेरिकाका साना सहरका मतदातालाई निराशाले छोप्यो र बजार अर्थतन्त्रमाथिको आशा गुम्यो भने तिनलाई नश्लीय राष्ट्रवाद र पूर्ण समाजवादको नाराले तान्नेछ । दुवैले बजार र राज्यबीचको नाजुक सन्तुलनलाई नष्ट गर्नेछन् तथा त्यसले समृद्धि र लोकतन्त्र दुवैको अन्त्य गर्नेछ । 

आज, सुपरस्टार फर्मका उत्कृष्ट रोजगार क्षेत्र मुठ्ठीभर प्रतिष्ठित विश्वविद्यालय पास गरेका विद्यार्थीको हातमा जान थालेको छ । विकासतर्फको मार्गमा साना र मध्यम आकारका उद्योगले र प्रभुत्वशाली फर्मले विछ्याएका अवरोधले असहजता निम्याउँछ । साना सहर र अर्थ–ग्रामीण समुदायबाट अमेरिकाका आर्थिक क्रियाकलाप महानगरतर्फ सरेपछि पपुलिजम पुनः उदाइरहेको छ । राजनीतिज्ञमाझ हालको अवस्थामा समाधान चाहिएको भन्ने विषय छलफलमा आउन थालेका छन्, तर तिनले अघि सार्ने प्रस्तावले हामीलाई सही दिशामा लैजान्छ भन्ने कुनै प्रमाण छैन । सन् १९३० को दशकको अनुभवले स्पष्ट पारेको छ, यथास्थितिको विकल्प एकदमै अध्यारो हुन सक्छ । यदि पिछडिएको एक फ्रान्सेली गाउँ र अमेरिकाका साना सहरका मतदातालाई निराशाले छोप्यो भने र बजार अर्थतन्त्रमाथिको आशा गुम्यो भने तिनलाई नश्लीय राष्ट्रवाद र पूर्ण समाजवादको नाराले तान्नेछ । दुवैले बजार र राज्यबीचको नाजुक सन्तुलनलाई नष्ट गर्नेछ । त्यसले समृद्धि र लोकतन्त्र दुवैको अन्त्य गर्नेछ । 

त्यसैले सही प्रतिक्रिया कुनै क्रान्ति होइन, पुनरुत्थान हो । पुँजीवादलाई टप–डाउन (माथिबाट तल झर्ने) सुधार आवश्यक पर्छ । जस्तो, एन्टी–ट्रस्ट एक्ट (अमेरिकाको एकाधिकारविरोधी कानुन) अध्यावधिक गरिँदा उद्योगको कार्यक्षमताको सुनिश्चितता हुन्छ । त्यसले नयाँ फर्म प्रवेशमा खुला छन् भन्ने कुराको पनि सुनिश्चितता गर्छ । तर, नयाँ अवसर सिर्जना गर्न, बजार अर्थव्यवस्थामा आफ्ना सदस्यको भरोसा कायम राख्न बटम–अप (तलबाट माथि जाने) नीति पनि चाहिन्छ । लोकतान्त्रिक आलोचनालाई ध्यान दिनुपर्छ । यदि लोकतन्त्रिक नेताले कट्टरपन्थी अवधारणालाई पछ्याउँदैनन् भने उनीहरूका प्रस्तावलाई महत्व दिनुपर्छ । यस्तो गर्नु जीवन्त बजार र लोकतान्त्रिक पद्धति संरक्षणका लागि आवश्यक तत्व हो । 

(रिजर्भ बैंक अफ इन्डियाका पूर्वगभर्नर रघुराम राजन अमेरिकास्थित ‘युनिभर्सिटी अफ सिकागो बुथ स्कुल अफ बिजनेस’का प्रोफेसर पनि हुन् ।)

C Project Syndicate 2019

नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य 

यो स्तम्भमा यो साताभरि ख्यातिप्राप्त अन्तर्राष्ट्रिय लेखकका दृष्टिकोण प्रकाशित हुनेछन्