मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गोविन्द पौडेल
२०७६ जेठ १२ आइतबार ०८:३७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

सुधारौँ परीक्षा प्रणाली

Read Time : > 2 मिनेट
गोविन्द पौडेल
२०७६ जेठ १२ आइतबार ०८:३७:००

हाम्रो परीक्षा प्रणाली स्मृतिको मापनमा आधारित छ । वर्षभरि विद्यार्थीलाई किताब कण्ठ गर्न लगाउने, कत्तिको कण्ठ गर्न सक्यो भन्ने जाँच्न परीक्षा लिने । राम्रोसँग कण्ठ गर्न सक्ने विद्यार्थीलाई ‘ट्यालेन्ट’ र कण्ठ गर्न नसकेका विद्यार्थीलाई ‘कमजोर’को बिल्ला भिराइदिने । कण्ठ गर्न नसक्ने वा गर्न मन नपराउने, तर गायन, नृत्य, खेल, कलाजस्ता सिर्जनात्मक क्षेत्रमा माहिर विद्यार्थीलाई भने यो परीक्षाले कमजोर देखाइदिन्छ । यसर्थ सिर्जनशील व्यक्तिका लागि यस्तो परीक्षा धोका हो । प्रतिभाशाली विद्यार्थीका प्रतिभाको समेत जाँच लिएर विद्यार्थीले प्राप्त गर्ने प्रमाणपत्रमा विद्यार्थीको विशेष प्रतिभाको स्तर पनि उल्लेख हुनुपर्छ । 

परीक्षा कसरी लिइन्छ र कस्ता प्रश्न सोधिन्छ भन्ने विषयले वर्षभरिको शिक्षणलाई प्रभावित पार्छ । हाम्रोमा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको परीक्षाले स्मृतिको जाँच लिन्छन् । यसकारण सिंगो शिक्षण प्रणाली रट्ने र रटाउने कार्यमा सीमित छ । आगामी वर्षमा देशका लागि कस्तो जनशक्ति कति मात्रामा उत्पादन गर्ने, विश्वमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक कसरी तयार गर्ने, देशलाई आत्मनिर्भर बनाउन सक्ने जनशक्ति तयार पार्न कस्तो खालको शिक्षा दिने, शिक्षामा नवीन प्रविधि कसरी भिœयाउने भन्ने प्रश्नको उत्तर दिने गरी शिक्षा प्रणाली अगाडि बढाउनुपथ्र्यो । सोचेअनुरूपको जनशक्ति तयार भए÷भएनन् मूल्यांकन गर्न परीक्षा लिनुपथ्र्योे । 

अहिलेकै शिक्षा प्रणालीअनुरूपको परीक्षा पनि वैज्ञानिक छैन । एसइर्र्ईदेखि विश्वविद्यालयसम्म विद्यार्थीले गेसपेपर, गाइड र नोटबाट निश्चित प्रश्न तयारी गरे राम्रै ग्रेड पाइहाल्छन् । पुराना प्रश्न अत्यधिक दोहोरिन्छन् । पुराना प्रश्नपत्रको संगालोबाट सीमित प्रश्नको उत्तर जानेपछि विद्यार्थीले थप दुःख गर्नुपर्दैन । यसले विद्यार्थीलाई रामै्र ग्रेडको त देखाइदिन्छ, तर विद्यार्थी केही पनि बनेको हुँदैन । मास्टर्स सकेर निस्केको तन्नेरीको हातमा प्रमाणपत्रबाहेक कुनै सीप, क्षमता हुँदैन । परिणाम, मास्टर्स सकेको युवा सर्टिफिकेट बाकसमा थन्क्याएर कोरियन र जापानिज भाषा सिक्न फेरि कन्सल्टेन्सी धाउनुपर्ने अवस्था छ । परीक्षामा सोधिने प्रश्न घोकेको उत्तर हुबहु लेख्न मिल्ने वेलासम्म चिट चोर्ने संस्कार पनि हट्दैन ।

नागरिकलाई महान् बनाउने वा पंगु, स्वदेशमै केही गर्न सक्ने बनाउने वा विदेशीको सेवक, अल्छी बनाउने वा ऊर्जाशील, आत्मविश्वासी बनाउने वा कायर, देशप्रति गौरवबोध गर्न सक्ने बनाउने या हीनताबोध, सबै शिक्षाको हातमा छ ।

स्कुल हुँदै मास्टर्स डिग्रीको परीक्षा चलिरहेको कोठादेखि शौचालयसम्म चिटका कागज भेटिन्छन् । एउटा कोठामा पचासौँ विद्यार्थी खाँदेर एकै खालको प्रश्नपत्र वितरण गरिन्छ । हलभित्र होहल्ला, सार्ने, सार्न दिने सबै हुन्छ । आजको प्राविधिक युगमा कति आदिम रूपले परीक्षा लिइरहेका छौँ भन्ने यसले प्रमाणित गर्छ । जान्नेको आडमा पर्दा पढ्दै नपढ्ने परीक्षार्थीले पनि ‘ए ग्रेड’ पाउने गर्छ । यसर्थ, प्रचलित परीक्षाको शैली यथार्थपरक स्मृतिको जाँच गर्नमा समेत असफल छ । चिट चोर्ने प्रवृत्तिलाई निरुत्साहित पार्न प्रश्नको ढाँचा बदल्नुपर्ने हुन्छ । सिर्जनात्मक, मौलिक र विगतका सँग नदोहोरिने गरी प्रश्न सोध्दा घोक्ने र चोर्ने प्रवृत्ति रोकिन्छ । 

सैद्धान्तिक मात्र होइन, प्रयोगात्मक भनिएको परीक्षा झन् अर्थहीन छ । स्कुलमा अर्थपूर्ण तरिकाले प्रयोगात्मक कक्षा सञ्चालन गरिएको पाइन्न । धेरै स्कुलमा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने उपकरण र कक्षाकोठासमेत भेटिन्न । प्राक्टिकल मार्क शिक्षकको गोजीबाट निकालेर दिइन्छ । सैद्धान्तिक परीक्षामा डी÷ई ग्रेडप्राप्त विद्यार्थीको प्राक्टिकलमा ‘ए प्लस’ आइराखेको हुन्छ । के विद्यार्थी प्रयोगात्मक रूपमा जेहेनदार भएर हो ? होइन । प्राक्टिकल कक्षा/ परीक्षा केही नलिईकन हचुवाका आधारमा चढाइएको मार्क हो, त्यो । यस्तो प्रचलनले शिक्षालाई प्रयोगात्मक बनाउनुपर्छ भन्ने मान्यतामाथि मजाक उडाएको छ । विश्वविद्यालय तहमा पनि प्राक्टिकल कक्षा र परीक्षा औपचारिकतामा सीमित छन् । प्राक्टिकल गराइसकेपछि विद्यार्थी केही न केही बनेर निस्कनुपर्ने थियो । सिकेको ज्ञान व्यवहारमा प्रयोग गर्न सक्षम हुनुपर्ने थियो । विद्यार्थीको प्राक्टिकल मार्क करिब पूर्णांक आइरहेको हुन्छ, तर विद्यार्थी प्रयोगात्मक सीपसँग खास योग्यता हासिल गरिरहेको हुँदैन । 

नागरिकलाई महान् बनाउने वा पंगु, स्वदेशमै केही गर्न सक्ने बनाउने वा विदेशीको सेवक, अल्छी बनाउने वा ऊर्जाशील, आत्मविश्वासी बनाउने वा कायर, देशप्रति गौरवबोध गर्न सक्ने बनाउने या हीनताबोध, सबै शिक्षाको हातमा छ । त्यसै भनिएको होइन, शिक्षा नागरिकको चेतलाई उकास्ने हतियार हो । विश्वविद्यालयबाट निस्केको तन्नेरीले देश बनाउने योग्यता हासिल गर्नुपथ्र्योे । वर्षभरि किताब र नोट घोक्ने÷घोकाउने, कत्तिको घोक्न सक्यो भन्ने जाँच्न परीक्षा लिने, परीक्षापछि घोकेका कुरा सम्झिरहनु नपर्ने, तन्नेरीसँग कुनै सीप र क्षमता नरहने, देशभित्र काम नपाइने भएपछि पढेका युवा देशलाई धिक्कार्दै विदेशीको सेवा गर्न नगए कहाँ जान्छन् ? परीक्षाकेन्द्रित पढाइले मौलिक ढंगले सोच्ने, आविष्कार गर्ने र सिर्जना गर्ने खुबीलाई पनि मार्छ । एउटा निश्चित कोर्स उपलब्ध गराइएको छ, हरेक तहमा । त्यही कोर्स पढाएर सक्न पनि हम्मेहम्मे पर्छ, वर्ष दिनमा । शिक्षकको पूरा ध्यान कोर्स सक्नतिर गएको हुन्छ । प्राक्टिकल गराउने, फिल्डमा लगेर काम सिकाउने गराउने, सिर्जनाको लागि पे्ररित गर्ने, पढाइलाई व्यवहारसँग जोड्न सिकाउने न शिक्षकसँग समय हुन्छ न त्यस्तो गर्ने गराउने वातावरण नै । सिंगो शिक्षा परीक्षाको मियोवरिपरि घुमिरहेको छ । यसबाट बाहिर ननिस्केसम्म व्यक्ति केही बन्दैन । देश कहीँ पुग्दैन ।