मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार ०८:२६:००
Read Time : > 1 मिनेट
सम्पादकीय

सगरमाथामा ट्राफिक जाम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार ०८:२६:००

यो साता सर एड्मन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको शिखरमा पाइला राखेको ६६ वर्ष पूरा हुँदै छ । आउँदो बुधबार मे २९ मा सगरमाथामाथि मानिसको विजयको वर्षगाँठ मनाउँदै गर्दा समग्र हिमाल आरोहण र खासगरी सगरमाथा आरोहणका सन्दर्भमा केही नयाँ बहस गर्नुपर्ने अवस्था सिर्जना भएको छ । साहसिक खेलका रूपमा लिइने हिमाल आरोहण अब पहिलेजस्तो धेरै साहसिक रहेन । बाटो बनाउने, गाइडको काम गर्ने र आरोहीका सहयोगीको काम गर्नेका लागि त यो अहिले पनि साहसिक काम नै हो ।

यसै पनि सगरमाथा आरोहणमा जानेहरूले ज्यानको जोखिम उठाउनैपर्छ । तर, आमआरोहीको हकमा भने यो शेर्पाहरूले बनाइदिएको बाटो, टाँगिदिएको डोरी र अड्याएको भ¥याङ हुँदै जाने तर कठिन काममा फेरिएको छ । आफैँ बाटो पहिल्याउँदै, आफैँले डोरी र भ¥याङको व्यवस्था गरेर खर्पस या आइसफलहरू काट्दै जाने काम भने अब यो रहेन । हिलारीले जस्तो काठमाडौंबाट चार सय भरिया लिएर जाने अवस्था पनि रहेन । सातामै दुईपटक शिखर ओहोरदोहोर गर्ने कामरिता शेर्पाका लागि पानीपँधेरो बन्दै गएको सगरमाथा चढ्न विश्वभरबाट बर्सेनि सयौँले इच्छा देखाउन थालेका छन् । 

यो सिजनामा मात्रै शुक्रबारसम्म ६ सय आरोहीले दक्षिणी मोहडाबाट हिमाल चढिसकेका छन् । आधार शिविरमा मानिसको भिड लागेको छ । एकै दिनमा दुई सय आरोहीले शिखर चढ्ने र ओर्लने भएपछि आरोहणको मजा र शान पनि सम्भवतः कम हुँदै गएको छ । यता, सबै पवित्र वस्तुलाई नाफाको विषय बनाएको व्यापारी युगले सगरमाथाजस्तो आकर्षणको क्षेत्रलाई व्यापारको वस्तु बनाउनु अस्वाभाविक भएन । यसपटक एकैदिन राम्रो मौसम छोपेर ओहोरदोहोर गर्नेको भिडले अक्करे उचाइमा बाटो दिन पर्खनुपरेकाले कतिपय आरोहीको मृत्यु भएको छ ।

सगरमाथा आरोहणमा जाँदा बाटो जाम हुने र त्यही कारण कसैले मृत्युवरण गर्नुपर्ने अवस्था आउनु भनेको त्यससम्बन्धी व्यवस्था हेर्ने नेपाल सरकारका अधिकारीको अदूरदृष्टि र लापरबाही हो

अहिलेसम्म आठजनाको निधन भइसकेको समाचार आएका छन् । यसलाई लिएर विश्वभरका समाचार संस्थाले चिन्ता र चासोसहित समाचार छापेका छन् । यसै पनि सगरमाथामा उहिल्यैदेखि हराएका आरोहीका लास छन्, आरोहीले प्रयोग गरेर छाडेका फोहोरका कुडाकर्कटले त्यस क्षेत्रमा फोहोर बढाएको छ । नेपाल सरकारले लिने रोयल्टी र नेपालमा सिर्जना हुने रोजगारी तथ आयस्ता हुने विदेशी मुद्राको अहिलेको गतिलाई कायम राखेर अब सगरमाथा आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउनेतिर ध्यान दिनुपर्ने वेला आएको छ ।

आरोहणका लागि मे महिना उत्तम मानिन्छ । अक्टोबरमा पनि आरोहण गरिन्छ । निकै सीमित दिन मात्र आरोहण अनुकूल हुने भएकाले त्यही समयमा सबैले चढ्ने प्रयास गर्नु स्वाभाविक हो । तर, बाटो नै जाम हुने र त्यही कारण कसैले मृत्युवरण गर्नुपर्ने अवस्था आउनु भनेको त्यससम्बन्धी व्यवस्था हेर्ने नेपाल सरकारका अधिकारीको अदूरदृष्टि र लापरवाही हो । अनुमति दिने क्रममै सबैका लागि निश्चित दिन तोकेर अनुमति दिने, एक दिनमा चढ्न पाउनेको संख्या तोक्ने र नियन्त्रण गर्ने र जसले अनुमति पाउने हो, उसले तिर्ने लोयल्टी बढाउने हो भने यस्तो जोखिम न्यूनीकरण गर्न र साहसिक पर्यटनको आकर्षण थप बढाउन सकिन्छ । मागेजतिलाई दिने होइन, मिल्नेजतिलाई पहिलो आउनेले पालो पाउने आधारमा अनुमति दिने र निश्चित संख्या तोक्ने हो भने मात्र यसलाई प्रदूषण कम गर्ने, व्यवस्थापन सहज हुने र आयस्ता बढी हुने गुणस्तरीय पर्यटनका रूपमा विकास गर्न सकिन्छ ।