मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विदुर पाैडेल
२०७६ जेठ १२ आइतबार १०:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

एक राहत शिक्षकको भरमा  पाँचवटा कक्षाका ८१ विद्यार्थी

 पालैपालो गर्दा एउटा कक्षामा दिनमा एक घन्टी मात्रै पढाइ

Read Time : > 1 मिनेट
विदुर पाैडेल
२०७६ जेठ १२ आइतबार १०:०१:००

हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ । प्रधानाध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै पढाउने गरेका छन् । ‘एकजनाले पाँचवटा कक्षाकोठामा पढाउनुपर्ने अवस्था छ । दिनमा एक कक्षाकोठामा एक घन्टी मात्र जान भ्याइन्छ । अन्य समय विद्यार्थीलाई पढ्दै गर, फलानो पाठ पढ भन्नुको विकल्प छैन,’ उनले भने । विद्यालयमा ९० जना विद्यार्थी छन् । नौजना बालविकास कक्षामा अध्ययनरत छन् भने एकदेखि पाँच कक्षासम्म ८१ विद्यार्थी छन् । कक्षा १ मा १९, २ मा १०, ३ मा आठ, ४ मा २७ र ५ मा १७ विद्यार्थी अध्ययनरत छन् । 

बालविकास कोटामा पातलीमाया थिङ कार्यरत छिन् । ‘बालविकासमा पढ्ने बालबालिकालाई एकजनाले छोड्नै मिल्दैन, अन्य कक्षाका विद्यार्थीलाई आफू एक्लैले पढाउनुपर्ने अवस्था छ,’ प्रधानाध्यापक गोपाल थिङले भने, ‘विद्यालयको शिक्षक पनि आफैँ, आफ्नो प्रधानाध्यापक पनि आफैँ भएको छु ।’ लामो समयदेखि आफू एक्लैले पढाउँदै आएको उनले बताए । ०४५ मा स्थापना भएको विद्यालयको भवनसमेत जीर्ण छ । काठले बारेर बनाइएको विद्यालय पानी पर्दा र हावाहुरी चल्दा बन्द गर्नुपर्ने अवस्था छ । 

गाउँपालिकामा २७ शिक्षकको दरबन्दी खाली 
हरिहरपुरगढी गाउँपालिकाका अधिकांश विद्यालयमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या परेको छ । २७ शिक्षकको दरबन्दी खाली हुँदा गाउँपालिकाको शिक्षा लथालिंग बनेको गाउँपालिका अध्यक्ष कारसाङ लामाले बताए । ‘दरबन्दीअनुसार विज्ञापन गर्न शिक्षा शाखालाई भनेको छु,’ लामाले भने, ‘कतै त एकजना शिक्षकले नै विद्यालय सञ्चालन गरेका छन् ।’

भौतिक रूपमा विकट भएका कारण शिक्षक आउन नचाहने उनले बताए । उनले भने, ‘राज्य पुनर्संरचनाअघि पनि शिक्षक आउन चाहँदैनथे । अहिले त झन् समायोजनले समस्या छ । शिक्षक अभाव हुँदा शिक्षा क्षेत्र लथालिंग बनेको छ । यसमा छिट्टै सुधार ल्याउनेछौँ ।’

सम्बन्धित ठाउँमा धेरैपटक भनेँ : गोपालसिंह थिङ, प्रधानाध्यापक
विद्यालयको अवस्थाबारे गाउँपालिकालाई बारम्बार जानकारी गराएको छु । तर, शिक्षा 
एकाइले शिक्षक नै पठाएन भन्ने जवाफ गाउँपालिकाबाट आउँछ । एकाइलाई भन्यो भने अहिले सबै शिक्षक गाउँपालिकाले खटाउने हो, हाम्रो जिम्मेवारी होइन भन्छ । 

शिक्षक व्यवस्था गर्दै र्छौँ : कारसाङ लामा, गाउँपालिका अध्यक्ष
विद्यालयले हामीलाई जानकारी गराएको छ । जीवनज्योति प्राविको समस्याबारे सोचेकै छौँ । विज्ञापनमार्फत छिट्टै शिक्षक पठाउने तयारी गरिरहेका छौँ ।