१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
२o८१ असोज १३ आइतबार २१:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोलि मौसम सफा हुने, मंगलबार र बुधबार वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार २१:१४:oo

शनिबार साँझबाट वर्षा थामिएपछि मौसममा सुधार हुँदै गएको छ। आइतबार केही ठाउँमा हल्का वर्षा भए पनि धेरैजसो ठाउँमा मौसम सफा रह्यो। हवाई उडान पनि सुचारु भएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि पहाडी भूभागबाहेक अन्यत्र मौसम सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

तर, मंगलबार र बुधबार भने वर्षाको आकलन गरिएको छ। ‘ठूलो वर्षाको सम्भावना त छैन। मंगलबार र बुधबार २४ घन्टामा ५० मिलिमिटरसम्म वर्षा हुन सक्छ,’ मौसमविद् विनु महर्जनले भनिन्, ‘मनसुनी वायु र न्यूनचापीय प्रणालीको असर कायमै रहेकाले वर्षा हुने देखिन्छ।’

मौसमविद् महर्जनका अनुसार तुलनात्मक रूपमा मंगलबारभन्दा बुधबार धेरै ठाउँमा वर्षा हुनेछ। तर, गत शनिबार र आइतबारको जस्तो भीषण वर्षा भने होइन।

मंगलबार कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

बुधबार भने कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा ५० मिमिसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले बताइन्। 

हाल देशभर मनसुनी वायुको प्रभाव छ। भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालमा छ।