१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार २o:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीधाकुराले अदालतको मानहानी गरेको ठहर, सर्वाेच्चको पूर्ण इजलासले तोक्यो कैद र जरिवाना 

क्षमायाचना गरे सम्पादक र प्रकाशकले ७ दिन कैद बसे पुग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार २o:३१:oo

सर्वोच्च अदालतले सीधाकुरा डटकमले अदालतको मानहानी गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ।

आइतबार बसेको सर्वोच्च अदालतको नौसदस्यीय बृहत् पूर्ण इजलासले ‘फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना तथा प्रकाशन-प्रसारण गर्ने सीधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन–तीन महिना कैद हुने सजाय सुनाएको हो।

सीधाकुरा अनलाइनलाई पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको छ। क्षमायाचना गरे सम्पादक र प्रकाशकको सजाय घटाई सात दिन मात्र थुनामा बसे हुने तथा अनलाइनले क्षमायाचना गरे पाँच हजार रुपैयाँ आर्थिक जरिवाना मिनाहा हुने फैसलामा भनिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सीधाकुरा डटकमले ‘डार्क फाइल्स’ नामको शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो।

सीधाकुरा अनलाइनले सत्यतथ्य परीक्षण नगरी भ्रमपूर्ण सामग्री पटक-पटक प्रसारण प्रकाशन गरेकोले त्यसलाई हेलचेक्र्याइँ मात्र भन्न नमिल्ने सर्वोच्चको ठहर छ।

सीधाकुराका प्रकाशक र सम्पादकले बयानको क्रममा आफूहरूले अदालतको अवहेलना गर्न खोजेको होइन भनेर क्षमायाचना गरेको पनि फैसलामा उल्लेख छ। तर, त्यो क्षमायाचना निःसर्त नभएको पनि सर्वोच्चले बताएको छ।

अदालको अवहेलनाजन्य कार्य गरेको भनेर निःसर्त क्षमायाचना र आउँदा दिनमा यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता गरेमा उनीहरूलाइ सात दिनसम्म मात्र कैद सजाय गर्न सर्वोच्चले भनेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको बृहत् पूर्ण इजलासले मुद्दा किनारा लगाएको हो।