१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाकाे निष्कर्ष: ‘वर्तमान सरकार जनताको जीवनप्रति संवेदनहीन’

विपत्तिको समयमा प्रधानमन्त्री अमेरिकामा घुमेर बसेको भन्दै आलोचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १७:३९:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार आमजनताको जीवनप्रति संवेदनहीन रहेको आरोप लगाएको छ। दुई दिनको वर्षातले दुईतिहाइको सरकारको हैसियत देखाइदिएको भन्दै रास्वपाले वर्तमान सरकार असंवेदनशील, अकर्मण्य, अक्षम र असफल साबित भएको जनाएको छ।

आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले देशभर व्याप्त विपद्को परिस्थितिमा नागरिकलाई आपत् पर्दा जिम्मेवार सरकार छ भन्ने अनुभूति हुन नसकेको निष्कर्ष निकालेको हो।

बैठकपछि रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै राज्य संयन्त्रले विपद्का वेला तत्काल उद्धार तथा राहतका लागि आवश्यक प्रबन्ध मिलाउन नसकेको जनाएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपको चपेटामा पर्न सक्ने क्षेत्र र सर्वसाधारणको पहिचान गरी उनीहरूको सुरक्षा, पुनर्स्थापनाका लागि राज्यले यथोचित गृहकार्य र तयारी गर्ने, विपत्तिमा रहेका नागरिकहरूको उद्धारका लागि पूर्वानुमानसहित आवश्यक उद्धार टोलीलाई तयारी अवस्थामा राख्ने, सम्भावित परिस्थितिको विश्लेषण गरी आवश्यक पूर्वतयारी गर्ने, प्राप्त सूचनाअनुरूप घटनास्थलमा योजनाबद्ध रूपमा उद्धार टोली परिचालन गरी प्रभावित तथा पीडितको सुरक्षामा सक्रियतासाथ परिचालन गर्ने कार्य राज्य संयन्त्रबाट हुनुपर्दछ। तर, सरकारले जिम्मेवार ढंगले पीडित नागरिकको उद्धारमा सक्रियता प्रदर्शन गर्न सकेन।’

रास्वपाले विपत्तिको समयमा प्रधानमन्त्री केपी ओली अमेरिकामा घुमेर बसेको भन्दै आलोचना पनि गरेको छ। ‘आजको विपत्तिको समयमा समेत सरकार प्रमुख अमेरिका घुम्दै बस्ने, तर बाढीपहिरोको त्रासमा रहेका आमसर्वसाधारणको उद्धारमा यथोचित तदारुकताका साथ प्रस्तुत नगर्ने राज्य संयन्त्र जनताका लागि समर्पित रहेको मान्न सकिन्न,’ रास्वपाले भनेको छ।