१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
२o८१ असोज १३ आइतबार १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक वर्षदेखिको पारिश्रमिक नपाएपछि बबई क्याम्पसका आंशिक प्राध्यापकले गरे तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १७:३४:oo

गुलरियास्थित बर्दियाकै जेठो क्याम्पस बबई बहुमुखी क्याम्पसमा आंशिक प्राध्यापकहरूले तालाबन्दी गरेका छन्। विगत एक वर्षभन्दा बढी समयदेखि पारिश्रमिक नपाएका आंशिक प्राध्यापकहरूले तत्काल पारिश्रमिक पाउनुपर्ने माग गर्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन्।

प्रेस विज्ञप्ति जारी गर्दै आंशिक प्राध्यापकले आफूहरूले धेरैभन्दा धेरै विषय अध्यापन गराइरहेको भए पनि पारिश्रमिक नपाउनाले मनोबल घट्दै गएको बताएका छन्। पाउनुपर्ने पारिश्रमिक छिटोभन्दा छिटो उपलब्ध गराउन पटक-पटक माग राख्दासमेत पूरा नभएपछि ताला लगाउन बाध्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

क्याम्पसले अन्य खर्चको भुक्तानी गरिराख्ने, तर प्राध्यापकहरूको पारिश्रमिकको भने भुक्तानी नगर्ने क्याम्पस प्रशासनको नियतमाथि नै गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै उनीहरूले बाध्य भएर तालाबन्दी गर्दा पर्ने असुविधाप्रति क्षमा मागेका छन्।

चाडपर्वको समयमा पनि एक वर्षअघिदेखिको पारिश्रमिक नपाउने अवस्था देखिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको आंशिक प्राध्यापक गजैसिंह कार्कीले बताए। ‘हामीले पटक-पटक क्याम्पसदेखि विश्वविद्यालयसम्म आवाज उठायौँ,’ उनले भने, ‘गत वर्ष दसैँपछि ७ जना आंशिक प्राध्यापकहरूले ५०–६० हजार रकम पाएकोमा त्यसपछि पारिश्रमिक नै पाएका छैनौँ।’

क्याम्पस प्रमुख वीरेन्द्रकुमार लम्सालले आंशिक प्राध्यापकहरूले पाउन बाँकी रहेको रकम उपलब्ध गराउने प्रक्रियामा रहेको बताए। क्याम्पसको आन्तरिक स्राेतबाट दिन नसक्ने अवस्था रहेको बताउँदै उनले मध्यपश्चिम विश्वविद्यालयबाट सिलिङ पास भइसकेको र रकम आएपछि तुरुन्त पारिश्रमिक दिइने बताए।