१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुईजनाको उद्धार गर्ने साहसी चणिकलाललाई प्रचण्डको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १६:५७:oo

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नक्खु खोलाले बगाएका दुईजनाको उद्धार गर्ने साहसी युवा चणिकलाल तामाङलाई सम्मान गरेका छन्।

आइतबार आफ्नै निवास खुमलटार बोलाएर प्रचण्डले चणिकलाललाई सम्मान गरेका हुन्।

चणिकलालले शनिबार ललितपुर महानगरपालिका– २५ सुगमटोलस्थित नक्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए।

टहराको छानामाथि चढेर गुहार मागिरहेका चारजनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए। खोलाले बगाएर झन्डै तीन सय मिटर तल पुर्‍याएका वेला देखेपछि उर्लँदो भेलमा हामफालेर चणिकलालले दुईजनाको उद्धार गरेका थिए।

उद्धार गरिएका दुवैजनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ। सँगै बगेका राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेर निस्किएका थिए भने उनकी चार वर्षीया छोरी सेर्तु बेपत्ता छिन्।

चणिकलाललाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुईजनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद व्यक्त गरे। ‘संकटको वेला नै बहादुरहरूको जन्म हुन्छ,’ उनले भने, ‘तपाईंले आफू बहादुर भएको प्रमाणित गर्नुभएको छ।’

चणिकलालको चर्चा अहिले देश–विदेशमा भइरहेको भन्दै प्रचण्डले उनी माओवादी पार्टीको युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झन् खुसी लागेको बताए।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुन्। उनका दाइ चन्द्र तामाङ ‘शुक्र’ तत्कालीन जनमुक्ति सेनाका कमान्डर थिए। उनले जनयुद्धकै क्रममा सर्लाही भिडन्तमा ज्यान गुमाएका थिए।

सो क्रममा चणिकलालले खाेला बढेको हेर्न आएका वेला दुईजना बगेको देखेपछि हामफालेर दुईजनाको उद्धार गरेको बताए। सानो छँदा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सीपले दुईजनाको ज्यान बचाउन सहयोग मिलेको पनि उनले बताए।