१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
२o८१ असोज १३ आइतबार १६:१५:oo
Read Time : > 1 मिनेट
समाचार

राजमार्ग भत्किएर नागरिकलाई सास्ती, भौतिक पूर्वाधारमन्त्रीलाई बधाई थाप्न भ्याइनभ्याई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १६:१५:oo

लगातारको वर्षाले देशका विभिन्न ठाउँमा जनधन र भौतिक पूर्वाधारमा ठुलो क्षति पुर्‍याएको छ। राजमार्ग, पुल भत्किएर तथा बगाएर नागरिकले सास्ती व्यहोरिरहेका छन्। तर, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भने सम्मान र बधाई थाप्न भ्याइनभ्याई छ।

नेपाल प्रहरीका अनुसार हालसम्म कम्तीमा १४८ जनाले ज्यान गुमाइसकेका छन्। राजमार्ग, सहायक राजमार्ग, गाउँ–सहरभित्रका सडक, पुलजस्ता भौतिक पूर्वाधारहरू, घर–टहरा, मठमन्दिरहरूमा उत्तिकै क्षति पुगेको छ। पहिरोले भत्काएका मुख्य तथा सहायक राजमार्ग हालसम्म अवरुद्ध नै छन्। 

प्रहरीका अनुसार देशको राजधानी काठमाडौं जोड्ने बिपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथमा बाढीपहिरोका कारण शुक्रबारबाट सवारीसाधन चल्न सकेका छैनन्। 

राजधानी जोड्ने बिपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथमा बाढीपहिरोका कारण शुक्रबारबाट सवारीसाधन चल्न सकेका छैनन्। यिनै राजमार्गमा पहिरोले सवारीसाधन पुर्दा धेरै नागरिकले ज्यान गुमाएका छन्। 

दसैँ नजिकिएसँग सर्वसाधारणले राजधानी छाड्ने गर्छन्। तर, यहीवेला आएको वर्षाका कारण राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण अन्योलमा छन्। तर, क्षतिग्रस्त भौतिक संरचना चाँडो निर्माणका लागि सक्रियता र सडक यातायात सञ्चालनका लागि सहजतामा भूमिका खेल्नुपर्नेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालको प्राथमिकतामा सर्वसाधारण पर्न सकेका छैनन्।

तीन दिनअघि गृहजिल्ला झापा पुगेका मन्त्री दाहाल यो संकटका वेला पनि सम्मान थापेर गृहजिल्लामै बसिरहे। उनले आइतबार गृहजिल्लामा एमाले झापाको स्वागत तथा बधाई थापे। झापामा सञ्चालित योजनाको अनुगमन गर्न पुगेका भनिए पनि उनी एमालेले बधाई तथा शुभकामनामा व्यस्त देखिए। 

एमाले झापाका अध्यक्ष प्रेम गिरीले मन्त्री दाहाललाई खासमा जिल्लाका योजना दिने कार्यक्रम राखिए पनि योजना दिने कार्यक्रमभन्दा असहज सुनिने भएपछि स्वागत तथा बधाई कार्यक्रम राखिएको जिकिर गरे। यद्यपि, कार्यक्रममा मन्त्री दाहाललाई बधाईपत्र नै टक्य्राइएको थियो। 

‘जिल्लाका योजना अनुगमन गर्न आउनुभएको थियो। शनिबार नै अनुगमन सकिएको हो। तर, प्लेन नपाएर बस्नुभयो। उहाँ आइतबार काठमाडौं फर्कनुभयो,’ उनले भने, ‘हामीले सम्मान गरेका होइनौँ । योजना मागपत्र दिने कार्यक्रम राखेको हो । तर, त्यसो भन्न असहज हुने भएकाले स्वागत तथा बधाई कार्यक्रम राख्यौँ,’ एमाले झापा अध्यक्ष गिरीले नयाँ पत्रिकासँग भने।