१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
रासस काठमाडौं
२o८१ असोज १३ आइतबार १४:o६:oo
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

आजदेखि सफा र सुकिलो नोट साट्न पाइने

Read Time : > 3 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १४:o६:oo

नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आज आइतबारदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ। राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ।

‘नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढीस्थित कार्यालयबाट सुकिलो नोट साट्न सकिनेछ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत नोट सटही गर्ने व्यवस्था मिलाइएको छ,’ पोख्रेलले भने।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको जुनकुनै बैंक तथा वित्तीय संस्थामा गएर सुकिलो नोट साट्न सक्नेछन्। एकजना व्यक्तिले रु. पाँच, दश, बीस, पचास र एक सय दरका नोटसहितको रु. १८ हजार पाँच सयसम्म साट्न पाउनेछन्।

राष्ट्र बैंकले विगतका वर्षमा एकपटक पनि प्रयोगमा नआएका नयाँ नोटको सटही दिने गरेकोमा यसपटक भने प्रयोगमा आइसकेका सुकिलो र सफा नोट साट्न सकिने जनाएको छ। दसैँ अगाडि सटही गरिएका नोट चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र त्यसपछि ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

नेपाली नोटको कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमै भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ। यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाँदा पुनः प्रयोग गर्न योग्य नहुने अवस्थासमेत आउन सक्ने बैंकको भनाइ छ।

साथै, बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हात हातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ। यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यलाई मितव्ययी एवंं प्रभावकारी बनाउनसमेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक भएको राष्ट्र बैंकले जनाएको छ।

चाडबाडका समयमा मुख्यतयाः रु पाँच, १०, २०, ५० र एक सय दरका नोटको माग अत्यधिक हुने गरेको छ । साना दरका यस्ता नोटको ‘होल्डिङ’ लागतसमेत न्यून हुने हुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटही गरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलनसमेत रहेको पाइन्छ। पाँच सय र एक हजार दरका नोटको हकमा भने बजारमा वृद्धि हुने चाडबाडलक्षित कारोबाअनुरूप माग हुने गरेको छ।

देशभर नोटको आपूर्ति गर्ने र पुराना तथा मैला नोटलाई खिचेर प्रतिस्थापन गर्दै जाने कार्य नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ।

मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष ०६७/६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो। आर्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारका क्रममा पुराना मैला नोटहरू खिचेर जलाउने नीतिगत व्यवस्था नै सफा नोट नीति हो।

बैंक नोट छपाइको काम अन्तर्राष्ट्रिय टेन्डर प्रक्रियाबाट विदेशमा हुने गरेको छ। नोट छपाइमा विदेशी मुद्राको ठुलो राशि खर्च हुने भएकाले त्यसमा कमी ल्याउनका लागि पनि नोट सफा राखिराख्नु आवश्यक छ।

गुणस्तरीय, विश्वस्त र सफा नोटहरू मात्र चलन चल्तीमा ल्याउने तथा मक्किएका, च्यातिएका, गलेका पुराना तथा मैलो नोटहरू प्रशोधन तथा जलानमार्फत चलनचल्तीबाट हटाउँदै लैजाने काम गर्दै आएको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थामा रहेका नोटको गुणस्तर हेरी वर्गीकरण गरेर राख्नुपर्ने व्यवस्था रहेको र यसलाई कार्यान्वयन गरे–नगरेकोबारे राष्ट्र बैंकले अनुगमनसमेत गर्ने गरेको सहायक प्रवक्ता पोखरेलले बताए। उनका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएमलगायतका मेसिनका माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी नोटलाई तीन वर्गमा छुट्याउनुपर्ने व्यवस्था छ।

बैंक नोटको अवस्थाअनुसार त्यसलाई छुट्याएको–नछुट्याएको विषयमा राष्ट्र बैंकले अनुगमन गर्ने गरेको छ। एटिएमलगायतका मेसिनको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य नोटको प्याकेटमा सेतो रङ र चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङको स्लिप प्रयोग गर्नुपर्ने व्यवस्था छ।

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर अक, चित्र तथा सुरक्षण विशेषता नबुझिने वा बिग्रिने गरी रङ लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको वा पूर्वराजाको तस्बिर अंकित नोटलाई पुनः निष्कासन अयोग्य नोटका रूपमा वर्गीकरण गरी नेपाल राष्ट्र बैंकले नष्ट गर्ने गरेको छ।

टीका लगाई दक्षिणा दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ लागेको वा मैलिएका हातहरूले नोट छुँदा त्यस्ता नोट चलनचल्तीमा आउँदैनन्। नोट राष्ट्रको सम्पत्तिसमेत भएकाले यसमा रङ लगाउने, लेख्ने वा केरमेट गर्ने, नोटको आकार बिगार्नेजस्ता कार्य गरी नेपाली नोटको दुरुपयोग गर्ने–गराउनेउपर कारबाही गर्न सकिने व्यवस्था छ।

मुलुकी अपराधसंहिता, २०७४ मा परिच्छेद २२ मा मुद्रासम्बन्धी कसुरसम्बन्धी व्यवस्था गरिएको छ । दफा २६३ मा बैंक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैंक नोटमा लेख्न नहुने व्यवस्था छ । यदि त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र रु. पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तै, अपराध संहिताको दफा २६४ मा झुत्रो बैंक नोट दुरुपयोग गर्न नहुनेसम्बन्धी व्यवस्था छ।

नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याईकन राख्ने, कुनै पनि प्रकारको रङ लगाउन हुँदैन। नोटमा जथाभावी लेख्नु पनि हुँदैन। त्यस्तै, नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस गर्नेजस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्नुहुँदैन। यसमा आवश्यकताअनुसार रबर, प्लास्टिक, पेपर ब्यान्ड प्रयोग गर्न सकिन्छ।