यो सक्कली विवाह होइन

परिवार–५

२०७६ जेठ ११ शनिबार ११:२२:००

स्थान : भद्रकाली मन्दिर, काठमाडौं 
समय : आइबार बिहान ११ः३० बजे 

दुईजना पण्डितले जग्गेवरपर केही टपरी राखे । टपरीमाथि धान र केही पैसा पनि । केरा, नरिवल अन्य फलफूल पनि राखे । त्यसपछि लगाउन थाले जग्गेमा रेखी । कोट लगाएका चार/पाँचजना जन्ती जग्गेनजिकै आए । सारी लगाएका एक हुल महिला पनि सँगै आइपुगे । हुलबीच हाँस्दै आइन्– बेहुली । अब जग्गे वरपर १० जनाजति जन्ती जम्मा भए ।

हस्याङ्फस्याङ् गर्दै आइपुगे क्यामरा पर्सन । त्यसपछि सुरु भयो बिहे । तर, पण्डितले मन्त्रोच्चारण गरेनन् । दुई शब्द मन्त्र पढेझैँ गरे अनि ‘क्यामरा खै क्यामरा’ भन्दै कराउन थाले । बुहुला–बेहुलीको तस्बिर एंगल मिलाइमिलाइ खिच्न लगाए । यस्तो लाग्थ्यो– उनी बिहे गरिदिने पण्डित होइनन्, फिल्मका निर्देशक हुन् । यस्तो लाग्थ्यो, यहाँ कुनै फिल्मका लागि बिहेको सिन– सुटिङ भइरहेको थियो । 

बेहुला शान्त थिए, तर बेहुली अघिदेखि नै हाँसिरहेकी थिइन् । पण्डितले बेहुलीलाई भने, ‘बहिनी धेरै नहाँस, अनुहार अँध्यारो बनाऊ ।’ तर, बेहुली मुसुमुसु हाँसिरहिन् ।औँठी लगाउने वेला भयो । बेहुलालाई औँठी लगाइदिन बेहुली ठीक परिन् । त्यति नै वेला विवाहमण्डपमा होहल्ला भयो । सबै एकसाथ कराउन, ‘औँलामा औँठी पूरै नहाल, रोक रोक ।’

सबैजना आत्तिए । बेहुलीले बेहुलाको औँलाबाट औँठी फुत्तै निकालिन् । पण्डितले हत्तपत्त औँठी लगाउने विधि सिकाए । बेहुला–बेहुली दुवैले पालैपालो औँलामा आधा मात्रै औँठी लगाए । त्यसपछि ताली बजिरह्यो । फोटो खिच्नेले खिचिरहे । 
लगनगाँठो कसेर बेहुला–बेहुली जग्गे घुम्न थाले । बेहुली फेरि मुसुमुसु हाँस्न थालिन् । पण्डितले रुखो स्वरमा भने, ‘घोसे मुन्टो लगाएर बिस्तारै हिँड बहिनी ।’ बेहुली हाँसो रोकेर कुप्रो परिन् । सिन्दुर लगाउने उपाय पनि पण्डितले सिकाए । बेहुलाले निधारनजिकै सिन्दुर लगे । अर्कै महिलाले सिउँदो रंग्याइदिइन् । रंगिरहेको सिउँदोमा बेहुलाले हात लगे । फोटो खिचियो । 

बेहुली उठेर लुगा फेर्न गइन् । बेहुलाले दुबोको माला खोलेर पण्डितलाई बुझाए अनि पानीले मुख धुन थाले । ‘यस्तो बिहे केका लागि गर्नुभएको ?’ मुख धोइरहेका ती युवकले पुलुक्क हेर्दै भने, ‘अस्ट्रेलिया जान । उनले मलाई लैजान्छे अब ।’ ‘प्रत्येक दिन चार जोडीको नक्कली बिहे गराउँदै आएको छु,’ जग्गे उठाउँदै गरेका पण्डितले भने, ‘यस्तै नक्कली बिहे दाजुबहिनी र बाउछोरीको समेत गरियो ।’

स्थान : जलविनायक मन्दिर, चोभार
समय : शुक्रबार दिउँसो २ः१५ बजे

०२८ सालदेखि पूजा गर्दै आएका पुजारी नरेन्द्र कर्माचार्य (७४) बिरामीले थलिएका थिए । उनी ०७० सालदेखि नयाँ–नयाँ जोडीको नक्कली बिहे गरिदिन बाध्य छन् । भन्छन्, ‘बिहेजस्तो कर्म सक्कली नै गर्ने मन छ । तर, के गर्नु मन्दिरमा बिहे गर्न आउनेलाई नआऊ भन्न मिलेन ।’ ०७० सालअघि उनलाई कसैको नक्कली बिहे गरिदिएको सम्झना छैन । ‘त्यसवेला पनि एकाध आउँथे होलान्, तर नक्कली बिहे गर्ने भन्दैनथे,’ उनी भन्छन्, ‘अहिले त हाकाहाकी नक्कली बिहे गर्न आएका हौँ भन्छन् ।’ 

सक्कली बिहे तीन घन्टामा सक्छन्, नरेन्द्र । तर, नक्कली बिहे गर्नेहरूले एक घन्टामै सक्न नरेन्द्रसँग जिद्दी गर्छन् । भन्छन्, ‘कत्ति जोडी एक घन्टा पनि धैर्य गर्दैनन् । दुई–चारवटा फोटो खिचेर टाप ठोक्छन् ।’ नरेन्द्रले पाँच दशकमा तीनथरीको बिहे गरिदिए । पहिलो, भागेर आउने प्रेमजोडीको ।

त्रिभुवन विश्वविद्यालयमा पढ्दा–पढ्दै भागेर आएका जोडीको पनि उनले बिहे गरिदिए । दोस्रो, घरपरिवारको सहभागितामा सक्कली बिहे । र तेस्रो, नक्कली बिहे । आफैँले विधि गरेर सक्कली बिहे गरिदिएका केही जोडीको पछि डिभोर्स भएको पनि उनले भेटे । नक्कली बिहे गरेर सक्कली सम्बन्धमा फेरिएकाहरू पनि उनले भेटे । भन्छन्, ‘सक्कली बिहे गर्नेहरू हामी छुट्टियौँ भन्दै एक्लै आउने पनि छन् । नक्कली बिहे गरेर जानेहरू केही वर्षपछि छोराछोरी च्यापेर आउनेहरू पनि छन् ।’ 

स्थान : गुह्येश्वरी मन्दिर 
समय : सोमबार बिहान ११ बजे 

मन्दिरका पण्डित सन्तोष भण्डारी भन्छन्, ‘पण्डितलाई नै थाहा नदिई कतिपय जोडीले नक्कली बिहे गरेको हुन सक्छ ।’ काठमाडौंस्थित गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका कार्यालय सहयोगी अमन डंगोलले विवाह दर्ताको फाइल पल्टाउँदै भने, ‘माघ महिनामा मात्रै यहाँ दुई सय जोडीले विवाह गरे । त्यसमध्ये कत्तिले नक्कली बिहे गरे भन्न सकिन्न ।’ नक्कली विवाह गर्नेहरूले मन्दिरमा फोटो मात्रै खिचेर जाने गरेको उनले देखेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी भन्छन्, ‘विदेश जान मात्रै बिहे गर्न आउनेहरू पनि मन्दिरमा आउने गरेका छन् ।’ 

नक्कली बिहेको विगत
तीनवटा मन्दिरमा भेटिएका र पुजारीले सुनाएका यी घटनालाई उदाहरण मान्ने हो भने ०७० देखि नक्कली विवाह गर्नेको संख्या ह्वात्तै बढेको देखिन्छ । राजधानीको एउटा मन्दिरमा मात्रै दैनिक चार जोडीले नक्कली विवाह गर्ने गरेको पाइयो । यस घटनालाई उदाहरण मान्ने हो भने, महिनाको १२० जोडी एउटा मन्दिरमा नक्कली विवाह गर्छन् । उपत्यकाका सयौँ मन्दिरमा विदेश जानकै लागि वार्षिक रूपमा कति जोडीले नक्कली बिहे गर्छन् ? यसको कुनै आधिकारिक तथ्यांक कतै छैन । 

नक्कली बिहेको सामाजिक प्रभाव के हुन सक्छ ? विवाह संस्थामा यो कस्तो किसिमको बदलाव हो ? विज्ञहरू यसबारे विषद् अनुसन्धानको खाँचो देख्छन् । बढ्दो नक्कली बिहेलाई सामान्य घटनाका रूपमा लिन नहुने समाज विश्लेषकहरूको भनाइ छ । 

सन् १९९० को दशकपछि नेपालले नवउदारवादी आर्थिक नीति अवलम्बन ग-यो । कृषिमा आधारित अर्थतन्त्र डगमगायो । नीतिकरण मौलायो । सोही अवधिबाट खाडी मुलुकमा जान थाले युवाहरू । नयाँ अवसर पनि खुल्यो । उच्च शिक्षा अध्ययन गर्न विदेश जानेको संख्या ह्वात्तै बढ्यो । विदेशप्रतिको आकर्षण र स्वदेशप्रतिको विकर्षण तीव्र भयो । श्रम गर्न जाने र पढ्न जानेको संख्या पनि बढ्यो । कतिपयले विदेशमै घरजम पनि गरे । यस्तै, माहोलबीच समाजमा नक्कली विवाहको ग्राफ उकालो लाग्यो । 

९० को दशकअघि पनि मानव तस्करले नेपाली चेलीलाई नक्कली बिहे गरेर बम्बईको कोठीमा लैजाने गरेकोे घटना समाजमा नसुनिएका होइनन् । विदेशप्रतिको बढ्दो मोहसँगै नक्कली बिहे गर्ने गिरोह नेपालमा सक्रिय हुन थाल्यो । कार्यालय नै खोलेर नक्कली विवाह सुरु भयो । बम्बैको कोठीदेखि, खाडी मुलुकसम्म नक्कली विवाह गरेर पुगेका नेपाली चेली बेचिन थाले ।

नक्कली बिहे गराइदिने ‘म्यारिज ब्युरो’ राजधानीमा सक्रिय भएको समाचार वेला–वेला बाहिर आउने गरेको छ । ब्युरोले नक्कली बिहे गराएर दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया, बेलायतलगायत देशमा पठाउने गरेको बताइन्छ । ११ वर्षअघि नै नक्कली बिहे गरेर १३० नेपाली महिला दक्षिण कोरिया पुगेको समाचार प्रकाशित भएको थियो । त्यस्तो गिरोहलाई प्रहरीले पटक–पटक पक्राउ पनि ग-यो । तर, नक्कली बिहे रोकिएन । नेपालसहित तेस्रो मुलुकबाट नक्कली बिहे गरेर अमेरिका जानेको संख्या बढेपछि ट्रम्प प्रशासनसमेत सचेत भयो । ट्रम्प प्रशासनले नक्कली बिहे गर्नेलाई पाँच वर्ष कैद र दुई लाख ५० हजार डलर जरिवानासमेत गर्ने व्यवस्था ग-यो । 

यता डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पढ्न जाने विद्यार्थीको संख्या ३० हजार पुगेको शिक्षा मन्त्रालयको रिपोर्टले देखाउँछ । त्यहाँ पढ्न जाने विद्यार्थी सबै नक्कली विवाह गरेर गएका हुँदै होइनन् । तर, विवाहित जोडी अस्ट्रेलिया जान पाउने भएपछि नक्कली विवाह गरेर पनि अस्ट्रेलिया जानेको संख्या बढ्यो । अस्ट्रेलियासँगै दक्षिण कोरिया, चीन, अमेरिकालगायतका देशमा समेत विद्यार्थी गइरहेका छन् । समाजको यो सत्य घटना सरोकारवालाको नजरमा परेको देखिँदैन । यो घटनाको कारण र परिणाम खोतल्नुपर्ने समाजशास्त्रीको बुझाइ छ । उनीहरू भन्छन्, ‘यो नेपाली समाजको अनदेखा सच्चाइ हो ।’

नक्कली बिहेको अन्तर्य
विश्लेषक तथा समाजशास्त्री नक्कली बिहेको मूल कारण खोतल्नुपर्ने बताउँछन् । उनीहरू नक्कली बिहेलाई समाज व्यवस्थासँग जोडेर अध्ययन गर्नुपर्ने विचार राख्छन् । लेखक राजेन्द्र महर्जन नक्कली विवाहको सम्बन्ध पुँजीवादसँग जोडिएको ठान्छन् । भन्छन्, ‘पुँजीवादले निर्माण गर्न खोजेको मान्छे र विवाह परम्पराबीच अन्तरविरोध भइरहेको छ ।’ महर्जन नक्कली बिहेलाई त्यही अन्तरविरोधको प्रतिबिम्ब ठान्छन् । भन्छन्, ‘मुलुक पुँजीवादतिर लम्किरहेको छ । तर, केही सांस्कृतिक मूल्य–मान्यता पनि बोकिरहनुपर्ने बाध्यता कायम छ ।’ 

समाजशास्त्री सम्राट शर्मा पनि नक्कली विवाहलाई पुँजीवादी अर्थ व्यवस्थासँग जोडेर हेर्छन् । उनी पुँजीवादी अर्थव्यवस्थाका कारण परम्परागत विवाह संस्थाको धरातलीय बनोटमा संकट आएको देख्छन् । भन्छन्, ‘विवाहलाई साध्य होइन, केवल साधनका रूपमा परिभाषित हुन थालेको छ ।’

 लेखक कुमारी लामा नक्कली विवाहको अन्तर्य अर्थतन्त्र र त्यसले निर्माण गर्ने सामाजिक प्रतिष्ठासँग जोडिएको देख्छिन् । भन्छिन्, ‘नक्कली बिहे गर्ने घटनासँग जसरी हुन्छ विदेश जाने, पैसा कमाउने र सामाजिक प्रतिष्ठा बढाउने मानसिकता जिम्मेवार छ ।’ समाजशास्त्री प्रा.डा. गणेशमान गुरुङ पनि नक्कली बिहेलाई पुँजीवादी अर्थ व्यवस्थाको अंश मान्छन् ।

उनी नक्कली विवाहलाई आधुनिकीकरण र विदेश पलायन हुने संस्कृतिसँग जोड्छन् । भन्छन्, ‘नक्कली विवाह पश्चिमी संस्कृतिसँग जोडिएको छ । नेपालमा परिश्रम नगर्ने र विदेशमा सबथोक देख्ने संस्कृतिसँग सम्बन्धित छ यो ।’ हाडनातामा समेत नक्कली विवाह गरेर विदेश पलायन भएको घटना सम्झन्छन् उनी । भन्छन्, ‘बाबुछोरी, दाजुबहिनी पनि नक्कली बिहे गरेर बिदेसिएका घटना सुनेको छु । यो एकदमै दुःख लाग्दो घटना हो ।’ 

समाजशास्त्री भन्छन्, ‘नक्कली विवाह पश्चिमी संस्कृतिसँग जोडिएको छ । नेपालमा परिश्रम नगर्ने र विदेशमा सबथोक देख्ने संस्कृतिसँग सम्बन्धित छ यो ।’

विशिष्ट कि सामान्य घटना ?
महर्जन यसलाई समाजको विशिष्ट घटना मान्छन् । भन्छन्, ‘यसले विवाहको परम्परागत मान्यतामाथि नै प्रश्न उठाएको छ ।’ विवाहको परम्परागत मान्यताको ठाउँमा अब देखावटी, नक्कली र औपचारिकताको समिश्रण हुन थालेको उनी बताउँछन् । यौन, प्रेम र विवाहको पुरानो परिभाषाले अब करिअर चल्न गाह्रो भएको उनलाई लागेको छ । ‘नक्कली बिहेले परम्परागत मान्यताबाट मुक्ति खोजिरहेको संकेत गर्छ,’ भन्छन्, ‘महिला र पुरुषको सम्बन्ध अब नयाँ ढंगले परिभाषित गर्नुपर्ने भएको हो कि ?’

यस घटनालाई सामान्य मान्न नहुने मत राख्छन् गुरुङ पनि । भन्छन्, ‘यो असमान्य र विशिष्ट घटना हो ।’ नक्कली बिहेलाई नेपाली समाजको एउटा ‘हिडन फ्याक्ट’ मान्छन् उनी । भन्छन्, ‘यो नेपालको हिडन इस्न्टिच्युसन हो ।’ तर, शर्मा यसलाई ‘विशिष्ट घटना’ मानिहाल्नु नहुने मत राख्छन् । विशिष्ट घटना बन्न पर्याप्त आधार नभएको तर्क उनको छ । भन्छन्, ‘घटना विशिष्ट भइसकेको छैन । तर, अति सामान्य पनि होइन । विवाहको आधारभूत तत्वलाई नक्कली बिहेले चुनौती भने दिएको छ ।’

विवाहको बजारीकरण 
विश्लेषकहरू नक्कली बिहेलाई बजारीकरणको ज्वलन्त नमुना मान्छन् । उनीहरू पुँजीवादी समाजमा सबैथोक मूल्यमा निर्धारण भएपछि विवाह पनि मूल्यमा सूचीकृत भएको धारणा राख्छन् । समाजशास्त्री गुरुङ नक्कली विवाहले विवाह संस्थालाई नाफा र नोक्सानसँग जोडेको बताउँछन् । भन्छन्, ‘नक्कली विवाहले विवाहको बजारीकरण भयो । नाफा हुनेबित्तिकै अनमेल विवाह गर्न पनि मानिस तयार हुन थाले ।’ नक्कली विवाहले सामाजिक विघटनको संकेत गर्ने उनको विचार छ । 

महर्जन विवाह मात्रै होइन, जन्मदेखि मृत्यु संस्कारसम्म नै बजारीकरण भएको बताउँछन् । अधिकांश संस्कारको अन्तर्यमा पुँजीवाद प्रवेश गरिसकेको उनको भनाइ छ । ‘पैसाका लागि जस्तोसुकै नाटक गर्न पनि मानिस तयार हुन थाले,’ उनी भन्छन्, ‘बजार र परम्पराबीच समिश्रण हुँदा यस्तो रूप देखिएको हो ।’ 

शर्माका धारणा पनि माथिल्ला धारणासँग मेल खान्छ । विवाहलाई ‘सक्कली’ र ‘नक्कली’को बास्केटमा हाल्नेबित्तिकै, त्यहाँ बजार स्वतः जोडिएको मान्नुपर्ने उनको भनाइ छ । भन्छन्, ‘बजारसँग जोडिएको सम्बन्धमा सामीप्यता, समर्पण, समन्वयजस्ता संवेगात्मक पक्ष हुँदैनन् । त्यस ठाउँमा सस्तो, महँगो, फाइदा र घाटा मात्रै हुन्छ ।’ समाजका हरेक संस्था यसरी वस्तुकरण हुँदै जाँदा सामाजिक संस्था नै धराशयी हुने खतरा देख्छन् उनी । 

कसरी रोक्ने ?
नक्कली विवाहलाई राज्यको ‘बाइप्रोडक्ट’ मान्छन् लेखक महर्जन । भन्छन्, ‘राज्यले डिपेन्डेन्ट भिसा स्विकारेपछि यो बाटो खुलेको हो । चोरले छिद्र देखेजस्तो हो यो नक्कली विवाह ।’ राज्यकै बाइप्रोडक्ट भएकाले यसलाई बन्द गर्न राज्यलाई गाह्रो पर्ने महर्जन बताउँछन् । नक्कली विवाहलाई रोक्न राज्यले उचित कदम चाल्नुपर्ने मत शर्माको छ । भन्छन्, ‘नक्कली बिहे रोक्न राज्यले आफ्नै देशमा रोजगारीको अवसर दिलाउनुपर्छ ।’ राष्ट्रिय योजना आयोगले राम्रो योजना बनाउनुपर्ने गुरुङको भनाइ छ । भन्छन्, ‘शिक्षा प्रणालीमा देशभक्तिको भावना, नैतिक शिक्षा र प्राविधिक शिक्षा समेटिनुपर्छ । रोजगार, तालिम, चेतनाको व्यवस्था सरकारले गर्नुपर्छ ।’ 

नक्कली बिहेमा बढोत्तरी आएपछि नेपाल सरकारले तीन वर्षअघि नागरिकता लिएकै ठाउँमा विवाह दर्ता गर्नुपर्ने प्रावधान ल्याएको थियो । तर, हाल देखिएको बढ्दो नक्कली बिहेले सरकारको कदम प्रभावकारी नभएको देखाउँछ । सरकारसँग नक्कली बिहे रोक्ने कुनै संयन्त्र बनेको देखिन्न । मानव बेचबिखनको उजुरी पर्न आए मात्रै प्रहरीले कारबाही गर्ने गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी बताउँछन् । भन्छन्, ‘बेचबिचन भएको उजुरी आए प्रहरीले कारबाही गर्छ ।’ 

 

 

प्रतिकृया दिनुहोस