Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
श्रीलाेचन राजोपाध्याय
२०७६ जेठ ११ शनिबार ११:३१:००
Read Time : > 3 मिनेट
खेलकुद

विश्वकप गुमाउने १० क्रिकेटर

Read Time : > 3 मिनेट
श्रीलाेचन राजोपाध्याय
२०७६ जेठ ११ शनिबार ११:३१:००

१. सुनील नारिन (वेस्ट इन्डिज)
वेस्ट इन्डिज क्रिकेट बोर्डले घरेलु क्रिकेटमा समय नदिने खेलाडीलाई टिममा समावेश नगर्ने नियम लागू गर्‍यो । यही नियममा परे, अलराउन्डर सुनील नारिन । पछिल्लो समय टी–२० फ्रेन्चाइज क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तर, घरेलु क्रिकेट नखेलेका कारण विश्वकपमा स्थान बनाउन सकेनन् । सुनीलले वेस्ट इन्डिजको जर्सीमा अन्तिमपटक सन् २०१६ मा पाकिस्तानविरुद्ध खेलेका थिए । सुनीलले सन् २०११ मा भारतविरुद्ध डेब्यु गरेका थिए । उनले ६५ एकदिवसीय खेलमा ९२ विकेट लिनुका साथै तीन सय ६३ रन बनाएका छन् । आइपिएलमा भने उनी ब्याटिङमा चम्किए । १२औँ आइपिएलमा कोलकाताका लागि उनले १४ खेलमा तीन सय ४४ रन बनाए । यसै क्रममा उनले तीन अर्धशतक बनाए । 

२. अम्बाती रायडु (भारत)
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले विश्वकपका लागि छानेको १५ खेलाडीको सूचीले धेरैलाई आश्चर्यमा पार्‍यो । अनुभवी र फर्ममा रहेका खेलाडीले पहिलो प्राथमिकता पाउने अनुमान थियो । भारतको ब्याटिङ अर्डरमा चौथो स्थान महत्वपूर्ण मानिन्छ । यो स्थानका दाबेदार अम्बाती रायडू थिए । तर, उनी टिममै परेनन् । सन् २०१३ मा जिम्बावेविरुद्ध डेब्यु गरेका रायडूले भारतबाट ५५ एकदिवसीय खेल्दै एक हजार ६ सय ९४ रन बनाएका छन् । तीन शतक र १० अर्धशतक बनाएका छन् । उनको स्ट्राइक रेट ७९ छ । १२औँ आइपिएलमा उनले चेन्नईबाट प्रतिनिधित्व गरी १५ खेलमा दुई अर्धशतकको मद्दतमा दुई सय ६१ रन बटुलेका थिए । 

३. ऋषभ पन्त (भारत)
बिसिसिआईले खेलाडी घोषणा गर्दा युवा विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तलाई बाहिर राखेको छ । विश्वकपमा भारतले एक मात्र विकेट किपर ब्याट्सम्यान राख्ने निर्णय गर्दा ऋषभ बाहिरिएका हुन् । पूर्वकप्तान महेन्द्रसिंह धोनी उत्कृष्ट फर्ममा छन् । उनी खेलको परस्थितिअनुसार राम्रो ब्याटिङ, फिल्डिङ र विकेटकिपिङ गर्न सक्छन् । ऋषभलाई समावेश गर्दा एक बलर कमी हुने छनोटकर्ताका भनाइ छन् । उनलाई टोलीबाट बाहिर राखेपछि छनोटकर्ताको आलोचना भइरहेको छ । धेरैले बोर्डद्वारा निर्णय उल्ट्याउनुपर्ने दबाब दिएका छन् । १२औँ आइपिएलमा दिल्ली क्यापिटलबाट खेलेका ऋषभले १४ खेलमा तीन अर्धशतकसहित चार सय एक रन बनाए । उनले २०१७ मा इंग्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए । 

४. अकिला धनञ्जय (श्रीलंका)
विश्वकपका लागि खेलाडी घोषणा गर्नुअघि श्रीलंकाली क्रिकेट बोर्डले युवा खेलाडीलाई प्राथमिकता दिने बताएको थियो । यस घोषणासँगै अकिला धनञ्जय टिममा पक्कै पर्ने विश्वास थियो । तर, अन्तिम १५ खेलाडी घोषणा हुँदा उनी अटाएनन् । ५० ओभरको घरेलु प्रतियोगितामा अकिलाले कोलम्बोबाट खेल्दै बलिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले फाइनलमा ५३ रन खर्चेर पाँच विकेट पनि लिएका थिए । तर, बोर्डले अकिलाको अफ ब्रेक बलिङ एक्सन प्रतिबन्ध रहेकाले विश्वकपमा समावेश गर्न नसकेको जनाएको छ । गत मार्चमा दक्षिण अफ्रिकासँगको प्रतिस्पर्धामा पनि उनले सहभागिता जनाएनन् । अकिलाले ३४ एकदिवसीय खेलमा दुई सय ८३ रन बनाउनुका साथै ४८ विकेट लिएका छन् ।

५. एलेक्स हेल्स (इंग्ल्यान्ड)
एलेक्स आफ्नै कारणले विश्वकप गुमाउने खेलाडीमा पर्छन् । विश्वकप सुरु हुन तीन साताअघि उनले लागुऔषध सेवन गरेको प्रमाणित भयो । इंग्लिस क्रिकेट बोर्डले सुरुमा २१ दिनको प्रतिबन्ध सुनायो । बोर्डले उनलाई विश्वकप टिममा समेत राखेन । जसकारण उनी घरमै हुन लागेको विश्वकप गुमाउन बाध्य भए । एलेक्स वेला वेलामा विवादमा आइरहने खेलाडीमा पर्छन् । पछिल्लो समय क्रिकेटका तीनवटै फम्र्याटमा उत्कृष्ट ब्याटिङ गर्दै आइरहेका थिए । उनी टी–२० खेलमा इंग्ल्यान्डका लागि एक मात्र शतक बनाउने खेलाडी हुन् । उनले एकदिवसीय खेलमा ६ शतक र ११ अर्धशतकसहित दुई हजार चार सय १९ रन बनाएका छन् । 

६. जुनिद खान (पाकिस्तान)
पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) ले सुरुवातमा खेलाडी घोषणा गर्दा बायाँहाते फास्टबलर जुनिद खान पनि समावेश थिए । तर, एक साताअघि पिसिबीले तीन खेलाडी परिवर्तन गर्दा उनी बाहिरिए । मोहम्मद आमिरलाई टिममा समावेश गर्दा जुनिद बाहिरिन पुगे । जुनिदले सामाजिक सञ्जालमार्फत बोर्ड निर्णयको विरोध गरे । ट्विटरमा मुखमा कालो पट्टी बाँधेको फोटो राखेर उनले लेखेका छन्, ‘म केही पनि बोलिनँ किनभने सत्य सधैँ तितो हुनेछ ।’ यता बोर्डले इंग्ल्यान्डको पिचमा जुनिदभन्दा अमिर उपयुक्त हुने जनाएको छ । २०११ मा वेस्ट इन्डिजविरुद्ध एकदिवसीयमा डेब्यु गरेका जुनिदले ७४ खेलमा एक सय ८ विकेट लिएका छन् । 

७. अन्रिच नोटर्जे (दक्षिण अफ्रिका)
गत मार्चमै श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजमा दक्षिण अफ्रिकाबाट डेब्यु गरेका अन्रिच नोटर्जेको विश्वकप खेल्ने सपना पूरा भएन । भविष्यकै उदाउँदा युवा अलराउन्डर अन्रिचलाई विश्वकपमा स्थान दिनुपर्ने मान्यता राख्दा सुरुको घोषित टोलीमा अनुभवी अलराउन्डर क्रिस मोरिस बाहिरिएका थिए । तर, पोर्ट एलिजावेथमा भएको नेट अभ्यासमा अन्रिचको दायाँ हातको बुढी औँलामा चोट लाग्यो । निको हुन कम्तीमा आठ साता लाग्ने भएपछि दक्षिण अफ्रिकाको बोर्डले तत्कालै पुनः अन्रिचको स्थानमा मोरिसलाई विश्वकप टोलीमा समावेश गरेको छ । अन्रिचले चार एकदिवसीय खेलमा आठ विकेट लिएका छन् । 

८. इमरुल काएस (बंगलादेश)
बायाँहाते ब्याट्सम्यान इमरुल काएसले १२औँ एकदिवसीय विश्वकपमा बंगलादेशको टोलीमा स्थान बनाउन सकेनन् । उनले सन् २००८ मै बंगलादेशका लागि डेब्यु गरेका थिए । उनलाई खराब फर्मका कारण टोलीमा नराखिएको बताइएको छ । उनी दुई वर्षयता बंगलादेशी टोलीमा छैनन् । तर, घरेलु लिगमा गतिलो प्रदर्शन गरिरहेका छन् । यसैकारण उनले क्रिकेटकै ठूलो प्रतियोगितामा आफू पर्ने विश्वास राखेका थिए । उनले ७८ एकदिवसीय खेलमा चार शतक र १६ अर्धशतकको सहयोगमा दुई हजार चार सय ३४ रन बनाएका छन् । 

९. जोस हेजलउड (अस्ट्रेलिया) 
पछिल्लो पुस्ताका भरपर्दा अलराउन्डर खेलाडीका रूपमा जोस हेजलउडले अस्ट्रेलियन टोलीमा स्थान जमाएका थिए । जोसले डेढ वर्षदेखि लगातार अस्ट्रेलियालाई ब्याटिङ, बलिङ र फिल्डिङमा योगदान दिए । तर, उनलाई विश्वकपमा देख्न पाइनेछैन । गत जनवरीमा भारतविरुद्धको टेस्ट सिरिजमा ढाडमा समस्या भएपछि टोलीमा स्थान बनाउन सकेका छैनन् । अस्ट्रेलियाले विश्वकपअघिसम्म उनको शारीरिक समस्या ठीक हुने विश्वास राखेको थियो । तर, विश्वकप अगाडि पनि शतप्रतिशत फिट नहुँदा विश्वकप गुमाउने निश्चित भयो । २८ वर्षीय जोसलाई इंग्ल्यान्डविरुद्धको एसेज सिरिजका लागि तयार हुन बोर्डले निर्देशन दिएको छ । 

१०. डेभिड विलिय (इंग्ल्यान्ड) 
विश्वकप आयोजक इंग्ल्यान्डले बायाँहाते ब्याट्सम्यान र बलर डेभिड विलियलाई बाहिर राख्ने निर्णय गर्दा धेरै क्रिकेटप्रेमी अचम्ममा परे । प्रमुख छनोटकर्ता एड स्मिथले विश्वकप सुरु हुन एक साताअघि खेलाडी परिवर्तन गर्दा उनी बाहिरिएका हुन् । स्मिथले बलिङ लाइनअप बलियो बनाउन जोफ्रा आचेरलाई स्थान दिँदा डेभिडले विश्वकप गुमाए । एडले एक राम्रो खेलाडीलाई राख्दा उत्तिकै अर्काे राम्रो खेलाडी गुमाउँदा दुःख लागेको बताएका छन् । सन २०१५ मा आयरल्यान्डविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका डेभिडले ४६ खेलमा एक हजार ८ सय ८९ रन बनाएका छन् । यसक्रममा उनले एक शतक तथा २१ अर्धशतक बनाए । बलिङमा उनले ४६ खेलमा ५२ विकेट लिएका छन् ।