१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ जेठ ११ शनिबार ०६:५८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

एक बच्चाको खोपमा  राज्यको ३० हजार लगानी

खोपमा वार्षिक १२ अर्ब खर्च, अझै १% बालबालिका खोपको पहुँचबाहिर

Read Time : > 1 मिनेट
२०७६ जेठ ११ शनिबार ०६:५८:००

राज्यले बालबालिकालाई स्वस्थ राख्न ११ रोगविरुद्धका खोप अनिवार्य गरेको छ । यी खोपको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ । बच्चा जन्मेदेखि १५ महिनाको अवधिमा सातपटक गरेर लगाइसक्नुपर्ने यी खोपका लागि राज्यले प्रतिबच्चा ३० हजार रुपैयाँ खर्च गर्दै आएको छ । बाल स्वास्थ्य महाशाखाका अनुसार एउटा बच्चालाई दिइने खोप सरकारले ४५ सय रुपैयाँमा खरिद गर्छ । तर, त्यसको प्रयोग अवधिभर हुने व्यवस्थापनको खर्च जोड्दा राज्यको लगानी ३० हजार हुन आउँछ ।

खोपमा वार्षिक १२ अर्ब खर्च
बालबालिकाको खोपका लागि मात्रै वर्षमा करिब १२ अर्ब खर्च हुने गरेको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । सरकारले प्रतिवर्ष तीन अर्ब रुपैयाँको खोप किन्छ । वार्षिक ६ लाख बालबालिकालाई खोप दिइँदै आएको छ । जसका लागि सरकारले देशभर १६ हजार खोप केन्द्र सञ्चालन गरिरहेको छ । 

नयाँ खोप थप्ने तयारीमा सरकार
सरकार नयाँ खोप थप्ने तयारीमा रहेको डा. गौतमले बताए । अहिले खोपको बहुवर्षीय योजना चलिरहेको छ । योजनाअनुसार सरकारले सुरु गरेका ११ वटा खोपलाई नियमित गर्दै अन्य नयाँ खोप थपिने उल्लेख छ । थप्नुपर्ने प्राथमिकतामा रोटा भाइरस र एचपिभी खोप परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै खोप अन्यत्रबाट आयात हुने गर्छ । 

१% बालबालिका खोपको पहुँचबाहिर
देशका कुनै पनि बालबालिका खोपको पहुँचभन्दा बाहिर नपरून् भनेर सरकारले राष्ट्रिय खोप कार्यक्रम चलाएको हो । तर, अझै २२ प्रतिशत बालबालिकाले खोपको सही सेवा पाएका छैनन् । जनसांख्यिक स्वास्थ्य सर्वेक्षणमा एक प्रतिशत बालबालिकाले कुनै पनि खोप नपाएको देखिएको छ । खोप शाखा प्रमुख डा. गौतमका अनुसार कुनै न कुनै खोप नलगाएकाहरूको संख्या पनि ठूलो छ । तसर्थ, ७८ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप पाएका छन् । २१ प्रतिशतले आंशिक खोप लगाएका छन् भने एक प्रतिशत यो सेवाबाट वञ्चित छन् । 

बच्चा जन्मिएपछि तालिकाबमोजिम तोकिएको समयमा सबै रोगविरुद्धका खोप लगाउँदा बालबालिकालाई सरुवा रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ । रोग लाग्ने दर, अपांगता हुने दर र मृत्यु हुने दरमा समेत कमी आउने परिवार कल्याण महाशाखाले जनाएको छ । 

खोप लगाएपछि देखापर्न सक्ने असर
बालबालिकामा खोप लगाइसकेपछि सामान्य ज्वरो आउने, सुई लगाएको ठाउँमा सुन्निनेजस्ता समस्या हुन सक्छ । स्वास्थ्यकर्मीका अनुसार धेरै ज्वरो आएमा वा सुई लगाएको ठाउँमा संक्रमण भएमा बालबालिकालाई तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जचाउनुपर्छ । सामान्य समस्या देखिँदैमा आत्तिनुपर्दैन । 

यी हुन् ११ रोगविरुद्धका निःशुल्क खोप
सरकारले क्षयरोग, भ्यागुते, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, इन्फ्लुएन्जा बी, निमोनिया, पोलियो, दादुरा, रुबेला र जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप बालबालिकालाई निःशुल्क प्रदान गरिरहेको छ ।