१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नारायण रिजाल
२०७६ जेठ १० शुक्रबार ११:०६:००
Read Time : < 1 मिनेट
प्रदेश

असिनापानीले बाग्लुङका ग्रामीण सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नारायण रिजाल
२०७६ जेठ १० शुक्रबार ११:०६:००

बुधबार साँझ परेको असिनासहितको वर्षाले बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । असिनापानीपछि आएको बाढीले ग्रामिण सडकहरू अवरुद्ध भएका हुन् । असिना पानीले काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा लगाएको अन्न बालीमा क्षति पुगेको छ । सुनापोखरी, कर्लिम, गौश्वारा, रहालेका किसानले लगाएको खेतीबाली असिनाले नष्ट गरेको स्थानीय भरत सापकोटाले बताए । 

‘बिहुँका धेरै ठाउँमा खेतीबालीमा क्षति पुगेको छ, सडकहरू पहिरोका कारण अवरुद्ध छन्,’ सापकोटाले भने, ‘मध्यपहाडी लोकमार्ग र ग्रामिण सडकमा भेलले ठूलो क्षति पुगेको छ । बारीहरू बगरमा परिणत भएका छन् ।’ काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाका अनुसार बाढीपहिरोले काठेखोलाका सबै वडाका सडक अवरुद्ध भएका छन् । ‘हिजोको असिना पानीले बिजोग बनाएको छ, सबै वडामा सडक अवरुद्ध भएपछि सडक सफा गरिरहेका छौँ,’ उनले भने । तंग्राम, बिहुँ र भिमापोखरामा बालीनालीमा बढी क्षति भएको उनले जानकारी दिए  । 

गलकोट नगरपालिकाको वडा नम्बर १ र ३ मा असिनापानीसँगै आएको भेलले ठूलो क्षति पु¥याएको छ । बारीमा भेल प्रवेश गरेपछि बगरमा परिणत भएका छन् । असिनापानी र भेलले खेतीबाली नष्ट गरेको गलकोट नगरपालिकाका प्रेस संयोजक गुमानसिंह भण्डारीले जानकारी दिए । 

क्षतिको विवरण संकलन हुँदै
जैमिनी नगरपालिका प्रमुख इन्द्रराज पौडेलले असिनापानीले पु¥याएको क्षतिको विवरण संकलन भइरहेको बताए । ‘बालीनाली नष्ट गरेको गुनासो आइरहेको छ,’ उनले भने, ‘अधिकांश सडक अवरुद्ध भएकाले हामी त्यसलाई खुलाउनतर्फ लागेका छौँ । अन्नबालीको क्षतिको विवरण संकलन जारी छ ।’