रिटायर्ड कर्मचारीको चित्रकला

२०७६ जेठ १० शुक्रबार ०९:२२:००

आफ्नो संग्रहालयमा पुराना सामग्रीबाट बनाएका हस्तकला देखाउँदै श्यामानन्द

श्यामानन्दसिंह ठकुरीले बनाएका चित्र काठमाडौं, पोखरा, नेपालगन्जलगायत सहरका ठूला होटेलका भित्तामा देख्न सकिन्छ । धेरै सम्भ्रान्त परिवारले घरका भित्तामा झुन्ड्याएका छन् । ती भित्तामा अवधि संस्कृति झल्किरहेका छन् । श्याम भने नेपालगन्जमा रङसँग खेलिरहेका छन् । चित्रकलामा अवधि संस्कृति नौलो प्रयोग हो । श्यामानन्द आफ्ना चित्रमा त्यही प्रयोग गरिरहेका छन् । भर्खरै पनि उनले अवधि संस्कृति झल्किने झन्डै ५० वटा चित्र बजार पठाएका छन् ।

चित्रकलाको सौखले श्यामानन्द रङसँग खेल्न थालेका थिए । उनी नेपाल टेलिकमबाट सेवानिवृत्त भएका हुन् । धेरै सेवानिवृत्त कर्मचारीलाई समय बिताउन मुस्किल हुन्छ । तर, श्यामानन्दलाई भने भ्याइनभ्याइ छ । उनको दैनिकी चित्रबाटै सुरु हुन्छ र ओछ्यानमा पुग्नुअघिसम्म चित्रैबारे सोचिरहन्छन् । हरेक दिन नयाँ ठाउँ र शैलीका चित्र कोर्छन् । आफूलाई मन परेको हस्तकला बनाउँछन् । 

‘पैसा कमाउनका लागि नभई मनमा जागेको रहर र आफ्नो इच्छा पूरा गर्न मात्र हस्तकला र चित्रकलामा लागेको हुँ,’ उनी भन्छन् । अहिले चित्र कोर्नु नशाजस्तै भएको छ । उनको आफ्नै चित्रकला संग्रहालय छ । चित्रकला प्रदर्शनी पनि गरिरहन्छन् । संग्रहालय आउने र प्रदर्शनी अवलोकन गर्नेले किन्न चाहे दिने गरेको उनी बताउँछन् । ‘मेरा चित्र देखेकाहरूले फोनमार्फत पनि अर्डर गर्नुहुन्छ,’ उनले भने । बाँके गाउँको दुईतले घर । माथिल्लो तलाका चारवटा कोठामा उनको संग्रहालय छ । भुइँतलामा उनको बसोवास । संग्रहालयमा आफूले तयार पारेका हस्तकला र चित्रकला राखेका छन् ।

बाँके गाउँको दुईतले घर । माथिल्लो तलाका चारवटा कोठामा उनको संग्रहालय छ । भुइँतलामा उनको बसोवास । संग्रहालयमा आफूले तयार पारेका हस्तकला र चित्रकला राखेका छन् । त्यहाँ खेर जाने कागज र प्लास्टिकबाट तयार पारिएका हस्तकलाका सामग्री छन् ।

एकल प्रयासमा सञ्चालनमा ल्याएको संग्रहालयमा खेर जाने कागज र प्लास्टिकबाट तयार पारिएका हस्तकलाका सामग्री छन् । उनले घर, बजार, बस्तीमा खेर गइरहेका कागज, प्लास्टिक र काठको सहायताबाट हस्तकलाका सामग्री बनाउँछन् । ‘पेन्ट (रङ), ब्रस, सुपरग्लु, फेबिकोल, ग्लुस्टिकजस्ता सामान मात्र बजारबाट किन्ने गरेको छु,’ उनले भने । भुइँतलाको आफू सुत्ने कोठाको बेडमा समेत उनले चित्र राखेका छन् । संग्रहालयमा नअटेपछि बसोवास गर्ने कोठामा पनि चित्रकलाका सामग्री राखेको उनले बताए । 
०००
उनको सानै उमेरदेखि चित्र कोर्ने सौख थियो । तर, गरिबीका कारण इच्छा पूरा गर्न सकेनन् । ‘धेरैजसो समय काममा व्यस्त हुनुपथ्र्यो । साँझ–बिहानको छाक टार्न समस्या भएकाले हस्तकला तथा चित्रकला कोर्ने सामग्री खरिद गर्न सक्ने कुरै भएन,’ उनले भने, ‘चित्र कोर्ने र हस्तकलाका सामग्री बनाउने सबै इच्छा दबाएर बस्नुको विकल्प थिएन ।’ 

नेपाल टेलिकममा खरिदारबाट जागिरे जीवन सुरु भएपछि नै उनले चित्रकलाको पनि सौख पूरा गर्न थाले । उनीसँगै नेपाल टेलिकममा जागिर खाएका धेरै साथीले काठमाडौंलगायत ठूला सहरमा घर बनाएका छन् । उनले भने नेपालगन्ज छाडेनन् । उनी आफ्नो तलबको १० प्रतिशत रकम चित्रकला र हस्तकला बनाउन प्रयोग हुने सामग्री खरिदका लागि प्रयोग गर्थे । ‘तलब आउनासाथ बजारबाट चित्र र हस्तकला बनाउने सामग्री किनेर घर जान्थँे, सामान किनेको देखेर श्रीमती कचकच गर्थिन्, तैपनि मैले आफ्नो सौख छाडिनँ,’ उनले भने ।

उनको सौखलाई परिवारका सदस्यले पनि बिस्तारै बुझ्दै गए । हात बस्दै गएपछि उनले राम्रा–राम्रा चित्र र हस्तकला बनाउन थाले । उनले बनाएका चित्र र हस्तकलाका सामान फाटफुट रूपमा बिक्री पनि हुन थाल्यो । 

उनले गरेको मिहिनेत र लगानीअनुसारको मूल्य नपाएपछि परिवारका सदस्यले चित्त बुझाउँदैनथे । तैपनि उनले परिवारका सदस्यलाई फकाउँथे । उनले हालसम्म सयभन्दा बढी चित्र र १५ सयभन्दा बढी हस्तकलाका सामान बनाएका छन् । अधिकांश बिक्री भइसकेका छन् । 

उनका हस्तकला पनि निकै राम्रो हुन्छ । उनले बनाएका कागजका फलफूल निकै सुन्दर र वास्तविक लाग्ने छन् । प्लास्टिक र कागजका भाँडाबर्तन, कप, बट्टा, घर, मन्दिर, धरहरा, जुंगे महादेव, खानेपानी टंकी, अवधि संस्कृतिको डोली, लालटिन, चराचुरुंगी, हेलिकोप्टर, जहाज, कागजको एके फोर्टिन राइफल, बन्दुक, घरजस्ता सामग्री बनाएका छन् । तरबार, हनुमानको दण्ड, लालटिन, प्लास्टिकको तोप, हेलमेटबाट कछुवा, रुख, जनावर, बयलगाडा, रोटेपिङ, साइकल, बस, जाँतो, धुनष, कुवा, टाँगालगायत हस्तकला उनको संग्रहालयमा छन् । 


श्यामानन्दको बिहेको रोचक कथा छ । उनी संगीतमा पनि अब्बल छन् । बाँसुरी, तबला, हारमोनियम र मादल बजाउँछन् । उनलाई मन पर्ने वाद्यवादन भने बाँसुरी हो । बाँसुरीको धुनले मोहित भएपछि उनलाई प्रेम प्रस्ताव आएको थियो । उनी औलो उन्मूलन कार्यक्रममा जागिरे थिए । जागिरका सिलसिलामा दाङ गए । त्यहाँका सर्वसाधारणलाई भेला पारेर भजनकिर्तन गर्न लगाउँथे । उनी बाँसुरीले साथ दिन्थे । त्यही धुनमा मोहित युवतीलाई प्रेम गरे । भगाएर नेपालगन्ज ल्याए ।

विवाह गर्नासाथ श्रीमती लिएर फेरि दाङ गए । उनको अन्तरजातीय बिहे थियो । तर, ससुराली पक्षले कुनै आपत्ति जनाएनन् । ‘बाँसुरी बजाएर मैले सबैलाई मोहित बनाएको थिएँ,’ उनी भन्छन् । श्यामानन्द सिंहको जीवनी चित्रकला, हस्तकला र वाद्यवादनमा मात्र सीमित छैन । उनको कलम साहित्य सिर्जनामा पनि उत्तिकै चल्ने गरेको छ । उनको ‘वर्तमान दर्पण’ काव्यसंग्रह र ‘श्यामानन्दकी कवितायाँ’ हिन्दी भाषाको कवितासंग्रह प्रकाशन भइसकेको छ । 

झन्डै सय सडक नाटक लेखन र अभिनय गरेका छन् । टेलिसिरियल ‘अभागन बने सुहागन’को कथा लेख्नुका साथै कलाकारको भूमिका निभाएका थिए । सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र, कोहलपुरबाट प्रसारण भएको थियो । थुप्रै रेडियो नाटक लेखेका छन् । ती नाटकमा आवाज पनि दिएका छन् । 

श्यामानन्दले थुप्रै पुरस्कार, सम्मान पाएका छन् । अवधि संस्कृतिको उत्कृष्ट चित्रकला तयार पारेका उनलाई राष्ट्रिय ललितकला प्रतिष्ठानले राष्ट्रिय स्तरको पुरस्कार दिएको छ । हालसम्म झन्डै ५० वटा पुरस्कार, सम्मान र प्रशंसापत्र पाएका छन् । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुरस्कार प्रदान गरेको सम्झना उनमा ताजै छ। 

जागिरका सिलसिलामा दाङ गए । त्यहाँका सर्वसाधारणलाई भेला पारेर भजनकीर्तन गर्न लगाउँथे । उनी बाँसुरीले साथ दिन्थे । त्यही धुनमा मोहित युवतीलाई प्रेम गरे । भगाएर नेपालगन्ज ल्याए । विवाह गर्नासाथ श्रीमती लिएर फेरि दाङ गए ।

उनले बनाएको अवधि संस्कृतिको चित्रकलाको मूल्य राष्ट्रिय ललितकला प्रदर्शनी–२०७४ मा राष्ट्रिय ललितकला प्रतिष्ठानले २० हजार रुपैयाँ तोकेको थियो । ‘सम्मान र प्रशंसापत्र थुप्रै छन्, विभिन्न समयमा राष्ट्रिय स्तरको पुरस्कार पनि पाएको छु,’ उनले भने । 

उनले धेरै ठाउँमा जागिर खाए । जिल्ला जनस्वास्थ्य कार्यालयमा झन्डै एक वर्ष ल्याब असिस्टेन्ट भए । झन्डै चार वर्ष मलेरिया उन्मूलन कार्यक्रममा बिताए । नापतौल कार्यालय बाँकेमा दुई वर्ष बसे । कोष तथा लेखा नियन्त्रण कार्यालयमा पनि जागिरे भए । त्यसपछि उनले नेपाल टेलिकममा मुखियाबाट काम थाले । 

उनी कला नै जीवन भएको बताउँछन् । तर, कलाकारिताले पेट पाल्न सकिने वातावरण अझै बन्न नसकेको बताउँछन् । कलाकारिताबाट पेट पाल्न नसकिने भएकाले कलाकारलाई साइड व्यापार वा जागिर खानैपर्ने बाध्यता भएको उनले सुनाए । ‘टेलिकममा जागिर नखाएको भए घर बनाउन सकिन्नथ्यो होला,’ उनले भने । 

त्यसो त संग्रहालय हेर्न आउनेहरूबाट उनले धेरै आश्वासन पाउँछन् । जनप्रतिनिधिले उनको संग्रहालयलाई व्यवस्थित बनाउन सहयोग गर्ने र उपमहानगरपालिका मातहत राख्ने आश्वासन दिएका छन् । तर, त्यो आश्वासनमै सीमित भएको छ । 

प्रतिकृया दिनुहोस