मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार ०८:३०:००
Read Time : > 1 मिनेट
साहित्य

सिद्धिचरणजयन्ती : जसले बाबुको किरिया गर्न पाएनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार ०८:३०:००

जिल्लामा तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा सुमति उपन्यासका लेखक थिए विष्णुचरण श्रेष्ठ । उनका छोरा हुन्, सिद्धिचरण श्रेष्ठ । सिद्धिचरणको जन्म ९ जेठ १९६८ मा भएको थियो । ओखलढुंगामा त्यसवेला स्कुल थिएन । ब्राह्मण बालक मात्र गुरुका घरमा गएर रुद्री, चण्डी र वेद पढ्थे । त्यसैले सिद्धिचरणले सात वर्षको हुँदा बल्ल बाह्रखरी सिके । पछि १९७६ सालमा बाबुआमा ओखलढुंगाबाट आफ्नो घर फर्किएपछि मात्र उनको स्कुल सुरु भयो । दरबार स्कुलमा भर्ना भए । तर, गणितमा कमजोर हुनाले कक्षा आठमा पुग्दानपुग्दै उनले स्कुल छाडे ।

सिद्धिचरण श्रेष्ठले पाँच कक्षा पढ्दादेखि नै कविता लेख्न थालेका थिए । उनको पहिलो कविता २०२१ सालमा प्रकाशित कवितासंग्रह ‘कोपिला’मा संगृहित छ । उनले १९९२ सालमा ‘मेरो प्यारो ओखलढुंगा’ कविता रचेका थिए । यो कविता नेपाली साहित्यको एउटा प्रकृतिपरक मानक कविताका रूपमा मानिन्छ । १९९२ सालसम्ममा सिद्धिचरणका ओखलढुंगासहित निर्झर, साँझमा हिमालयको दृश्य, प्रातकालीन किरण, जुनकिरी, सपनाझैँ देखेँ तिनलाई, वर्षा आयो, वसन्तजस्ता कविता शारदामा प्रकाशित भइसकेका थिए । 

सिद्धिचरण श्रेष्ठले पाँच कक्षा पढ्दादेखि नै कविता लेख्न थालेका थिए । उनको पहिलो कविता २०२१ सालमा प्रकाशित कवितासंग्रह ‘कोपिला’मा संग्रहित छ । 

युगकवि सिद्धिचरण १९९५ सालदेखि एकतन्त्रीय जहानियाँ राणाशासनका विरुद्ध विद्रोही एवं क्रान्तिकारी कविका रूपमा देखा परेका थिए । यसक्रममा सिद्धिचरणका तीनवटा नेवारी कविता राष्ट्रिय गान, वर्षा र गंगुखुसी छापिएका थिए । त्यस्तै, उनका परिचय (१९९५), चम्क युवक (१९९५) र विश्वव्यथा (१९९६–९७) जस्ता कविता प्रकाशित भएका थिए । 

साहित्यमार्फत उनले गरेको विद्रोहका कारण सिद्धिचरणलाई सर्वस्वसहित १८ वर्षको कठोर कारावास सजाय दिइयो । १८ वर्षको जेल सजाय भए तापनि पछि श्री ३ जुद्धको महर्षि बन्ने अभिलाषाले गर्दा पाँच वर्षपछि अर्थात् २००२ सालमा उनी रिहा भएका थिए । कवि सिद्धिचरण यसरी जेलबाट रिहा हुनुभन्दा केही महिनाअघि उनका पिता विष्णुचरण श्रेष्ठको देहावसान भएको थियो । तर, सिद्धिचरणलाई आफ्ना पिताको दाहसंस्कारसमेत गर्न दिइएन । उनको जीवनमा अनेक घटनाले सताएका थिए, जसमध्ये उनको चारवर्षे छोरा विश्वचरण श्रेष्ठको मृत्युले उनी अझ विक्षिप्त बनेका थिए । 

सिद्धिचरण श्रेष्ठ ओखलढुंगासँग जोडिएको नाम हो । केही वर्षअगाडिसम्म माध्यमिक तहको औपचारिक शिक्षा आर्जन गर्ने विद्यार्थीले लयमा बाँधेर वाचन गर्ने ‘मेरो प्यारो ओखलढुंगा’ कविताले मात्रै सिद्धिचरणलाई सम्झाउँथ्यो । त्यसका अलावा जन्मस्थल ओखलढुंगा र राजधानी काठमाडौंमा अर्धकदको सालिक देखिन्थ्यो । जन्मस्थल ओखलढुंगामा कित्ता नम्बर ३५ को जग्गा सिद्धिचरण श्रेष्ठकै नाममा छ । त्यहाँ अहिले पूर्ण कदको सालिक र सिद्धिचरण पार्क निर्माणको चरणमा छ । जिल्लाको एक मात्र नगरपालिकाको नाम पनि उनैको नाममा छ ।