मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. राजुबाबु श्रेष्ठ
२०७५ पौष १४ शनिबार ०७:४३:००
Read Time : > 4 मिनेट
साहित्य

आमाले सपनामा आएर दिनुभयो आफ्नै मृत्युको खबर

Read Time : > 4 मिनेट
डा. राजुबाबु श्रेष्ठ
२०७५ पौष १४ शनिबार ०७:४३:००

गोर्खामा जन्मेका डा. राजुबाबु श्रेष्ठले प्रहरी उपरीक्षकबाट हालै अवकाश पाएका छन् । थुप्रै चर्चित गीतका सर्जक श्रेष्ठका ‘मारिनो सेलोको जून’, ‘मृत्युमेला’ र ‘पुस्तान्तर’ गरी तीन कथासंग्रह, ‘मनहरू’ र ‘देश दुखेको वेला’ गरी दुई कवितासंग्रह, ‘पानीको फोका’ गीतसंग्रह साथै ‘प्रहरी र साहित्य’ नामक खोजमूलक कृतिहरू प्रकाशित छन् । राजुबाबुका पाँच स्मृति उनकै शब्दमा :


 

पीपलको बोटले झन्डै लिएन ज्यान
बच्चामा म अलि छुकछुके स्वभावको थिएँ । हाम्रो घरबाट सय मिटर माथि उक्लेपछि जोशी खलकका ठुल्ठूला सम्म मिलेका गह्रा थिए । सँगै थियो, निकै पुरानो ठूलो पीपलको रूख । अक्सर त्यहीँ खेल्थ्याैँ हामी । जाडोको समयमा खेलिसकेपछि मकैका ढोडहरू बालेर आगो तापी घर फर्कन्थ्यौँ । एक दिन साँझ मेरो बाल मस्तिष्कमा त्यो ठूलो पीपलको बोटमा आगो लगाउने भूत सवार भो । मेरै नेतृत्वमा सबै केटाकेटी मिलेर ढोड खोजेर पीपलको बोटको फेदमा रहेका प्वालमा कोचीकोची थुप्रो बनाएर आगो लगायौँ र केहीबेर तापेर घरतर्फ लाग्यौँ । 

भोलिपल्ट स्कुल सकेर सदाझैँ फेरि त्यही ठाउँमा खेल्न जम्मा भयौँ । पीपलको फेदबाट धुवाँ आइरहेको थियो । हामी आफ्नै धुनमा खेलिरहेका थियौँ । अकस्मात भयंकर प्रलयकारी आवाजसहित हाम्रै अगाडि पीपलको रुख घड्याम्म ढल्यो । धुलोले वरपर केही नदेख्ने भयो । चराहरू कोलाहल आवाजसहित उड्न थाले । हामी मात्र केही मिटरको दूरीले गर्दा बाच्यौँ । रूख ढलेपछि डरले मेरो मुटु जोडजोडले धड्किन थाल्यो । आगो फैलिएसरी बजारभरि घटनाको खबर फैलियो । एकैछिनमा सयौँ मान्छे जम्मा भए । जग्गावाला भीमकुमार जोशी रिसले आगो हुँदै गाली गर्दै आइपुगे । त्यतिखेर गोरखा बजारमा उनको छवि कसैसँग पनि नडराउने आजकलका दादाहरूको जस्तो थियो । उनले पुलिस बोलाउनेदेखि मान्छे चिने दाँत झारिदिनेसम्मका कुरो गरे । कसैले नाम पोलिदिन्छन् कि भनेर मेरो होस उडेको थियो । उनी रिसले गाली दिइरहेका वेला पाटेचौरको विष्णु अर्याल दाइले प्वाक्क बोल्नु भो, ‘तैले पैसा तिरेर काट्नुपर्ने रूख सित्तैंमा ढालिदिए । धन्यवाद दे न, केको गाली दिन्छस् ?’ यो कुरोले मेरो मनमा ठूलै राहत मिल्यो । यदि हामीमध्ये कोही रूखले च्यापिएको भए सायद आफ»लाई कहिल्यै माफ गर्न सक्दिनथेँ होला । 

आमा सम्झेर रोएँ सपनामा
०५२ सालमा म शान्ति मिसनका लागि पूर्व युगोस्लाभियाको एउटा भाग क्रोएसियामा थिएँ । प्रहरी जीवनका लागि यस्ता मिसनको निकै महत्व  रहने गर्छ । यद्यपि यस्तो अवसर पाउँदा पनि मनभित्रबाट खुसी हुन सकेको थिइनँ । हामी चार दिदीहरू र दुई दाजुभाइमध्ये आमासँग मेरो अलि विशिष्ट सम्बन्ध थियो । सायद कान्छो भएर पनि होला । तर, उनै आमालाई बिरामी अवस्थामा छाडेर विदेश लागेको थिएँ म ।

अहिलेकोजस्तो सञ्चारको पहुँच थिएन । हप्ता दश दिनमा आमासँग कुरो हुन्थ्यो । एक दिन अचानक आमा सपनामा आउनुभो । पहिलाजस्तो कुनै कुरो भएन । एकोहोरो रोइरहनुभो । मैले धेरै कुरो सोधेँ, तर केही बोल्नुभएन । मसँग आँखा पनि जुधाउनुभएन । धेरैबेरको रुवाइपछि मेरो हात च्याप्प समातेर बोल्नुभो, ‘बाबु ! म त तिमीबाट धेरै टाढा गइसकेँ नि, तिमीलाई कसैले खबरै गरेनन् है । म माथि बसेर हेरिरहन्छु ।

तिमीले सबैलाई राम्रो गर्नू बाबु, कसैको चित्त नदुखाउनू ।’ यति भनेर आमा अलप हुनुभो । म ब्युझिएँ । मन भारी भएर आयो । राति नै नेपाल फोन गर्न सम्भव थिएन । रातभर छट्पटाएँ, आमासँगका पुराना दिन सम्झेर धेरै रोएँ । भोलिपल्ट अफिस पुगेर फोन गरेँ । सम्पर्क हुन सकेन । रातिको कुरोले मन कोपरिरह्यो । मन भक्कानिँदा बाथरुममा गएर रुन्थेँ । लगातार फोन गर्दा–गर्दा बल्लबल्ल तीन बजे साहिँली दिदीसँग कुरो भयो । मैले आमासँग कुरो गर्न चाहेँ । उनले अनेकौँ बहाना बनाइन् । उनको आवाजको पीडाले मेरो मनमा चिसो पसिसकेको थियो । उनले बहानामाथि बहाना बनाएपछि मैले सपनाको कुरो गरेँ । मेरो कुराले मन थाम्न नसकेर उनी फोनमा नै डाँको छाडेर रुन थालिन् । मैले फोन गर्दा आमा बित्नुभएको सात दिन भइसकेको रहेछ । एकैछिन संसारै शून्य भो । आमाको अन्तिम बिदाइमा म हुन सकिनँ । मैले पछि दिदीहरूसँग गुनासो गर्दा आमाले नै कान्छोलाई दुःख नदेओ है भन्नुभो भन्ने जानकारी पाएँ । 

छोरी जन्मँदा कार्यक्षेत्रमै
०५५ सालको फागुनमा म जनकपुरको सबैला थानामा कार्यरत थिएँ । माओवादी जनयुद्धको जगजगी थियो । माओवादी नेता मातृका यादवको गाउँ भएकाले गर्दा पनि त्यस क्षेत्रलाई धनुषा जिल्लाकै संवेदनशील एरियाको रूपमा हेर्ने गरिन्थ्यो । म जानुभन्दा केही वर्षअघि सोही थानाका थानेदारलाई सबैला बजारमा नै माओवादीले गोली हानी मारेपछि त्यस क्षेत्रलाई हेर्ने प्रशासनिक नजर नै फरक थियो । जिल्लाबाट बारम्बार थानामाथि माओवादी आक्रमण हुने सूचना पठाइरहन्थे । जति नै आक्रमणका खबर आए पनि म भने आफ्नो दुई जिउकी श्रीमतीसमेत थानामा नै राखेर बसेको थिएँ । तर, डाक्टरको सल्लाहअनुसार फागुन १४ गते उनी काठमाडौं  आइन् । मैले बच्चा जन्मनुअघि नै काठमाडाैं आउने बाचा गरी पठाएँ । 


फागुन २९ गते समय दिएकाले मैले दुई दिनअगाडि जाने गरी चार दिनको बिदा पेस गरेँ । माओवादी आक्रमणको खतरा रहेको भनी जिल्लाबाट मेरो बिदा अस्वीकृत भयो । म स्तब्ध बनेँ । काठमाडौंको हस्पिटलमा प्रसव वेदनामा श्रीमती छट्पटिरहेकी छिन् । म थानामा छट्पटाइरहेको छु । बारम्बार फोनमा म आउँछु भनेर श्रीमतीलाई ढाटिरहेको छु । अन्तिममा एक दिनको लागि भए पनि बिदा पाऊँ भनेर जाहेर गरेँ । तर, कुनै निकायबाट पनि मेरो समस्यालाई ठूलो रूपमा हेरिएन । उता मेरो पहिलो बच्चा जन्मँदै थियो । २९ गते राति ९.१५ बजे छोरी जन्मेकोबारे फोनबाटै जानकारी लिएँ । दिदीलाई फोन गरेर छोरीको रूपरंगका बारेमा बुझेँ । छोरी जन्मेको तेस्रो दिन मात्र आउने मौका मिल्यो । पहिलोपटक भेट्दा श्रीमतीले आँखा पनि जुधाइनन् । केवल आँसु मात्र खसालिरहिन् ।


 
रमेश विकलको  त्यो फोन
१५ वर्षअघि एक साँझ हामी सपरिवार घरमा गफगाफमा मस्त थियौँ । फोनको घन्टी बज्यो । मैले उठाएँ । ‘हेलो ! तपाईं राजुबाबु हो ?’ उताबाट सोधनी भो । ‘हो हजुर’ मैले जवाफ फर्काएँ । ‘गरिमामा छापिएको कथा तपाईंको  हो ?’ फेरि प्रश्न । ‘हो हजुर,’ मेरो उत्तर । ‘म रमेश विकल’ उहाँले परिचय दिनुभो । उहाँको नाम सुन्नासाथै मेरो मस्तिष्क रन्थनियो । मेरो दिलको धड्कन टक्क रोकियो । मेरा लागि त्यो फोन अकल्पनीय थियो । बच्चैदेखि पढ्दै आएको र उच्च सम्मान गर्ने व्यक्तिले अकस्मात फोन गर्दा एकैछिन त म असमञ्जसमा परेँ । 

मैले अलि हडबडिएको स्वरमा नमस्कार भनेँ । मेरो अप्ठ्यारो चिर्दै उहाँ फेरि बोल्नुभो, ‘तपाईं  पुलिसमा हो ?’ मैले हो भनेँ । ‘पुलिसकै महेशविक्रमका निकै राम्रा विदेशी कथा छन् । तपाईंको कथा पनि मैले पढेँ । राम्रो लागेर फोन गरेको हुँ । तपाईं पनि कथा लेख्न जन्मनुभएको हो । कथा लेख्दै जानुहोला । तपाईंलाई मेरो आशीर्वाद छ ।’ यति भनेर उहाँले फोन राखिदिनुभो । म कवितामा आफ्नो आकार बनाउन नसकेर भर्खरै कथा लेखनको यात्रामा होमिन लागेको मान्छेका लागि उहाँको फोन सञ्जीवनीजस्तै बनिदियो । त्यसपछिका दिनमा मैले कथालेखनमा अलि बढी समय दिन थालेँ । मेरो कथा यात्रामा रमेश विकलज्यूको त्यो फोनको ठूलो महत्व  रहेको छ । त्यसको केही समयपछि मेरो पहिलो कथासंग्रह ‘मारिनोसेलोको जून’को पाण्डुलिपि बोकेर उहाँलाई भेट्न आरुबारी पुगेँ । मैले आफ्नो परिचय दिएपछि कथाको भूमिका लेखिदिन खुसीखुसी उहाँ राजी हुनुभो । पाण्डुलिपि लिएको एकै हप्तामा भूमिका लेखेर बोलाउनुभो ।
 
साहित्य संगमको जन्म
म हाईस्कुल पढ्दादेखि नै नाचगान र कविता लेखनमा रमाउन थलिसकेको थिएँ । ४० सालमा एसएलसी सकेपछि झन् सक्रिय बनेँ । पृथ्वी र छहारीजस्ता युवा क्लब सांस्कृतिक कार्यक्रमहरू गरेर जिल्लाको कला–संस्कृति जगेर्ना गर्न लागिपरेका थिए । तर, संगीतकलाको तुलनामा साहित्य अलि ओझेलमा परेको थियो । यस्तैमा ०४३ सालको कुनै शनिबार हाम्रो घरनजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकको आँगनमा म, रामबाबु जोशी, बोधप्रसाद अधिकारी, बैंककै अधिकृत सुवर्ण कर्माचार्य र पोषणका अधिकृत ध्रुव नेपाल पाँचजना साहित्यिक गफगाफमा थियौँ । साहित्यिक माहोललाई कसरी तताउने भन्ने बहस चल्दाचल्दै एउटा साहित्यिक आन्दोलन गर्ने निधो गरियो । र ‘साहित्य संगम गोरखा’को जन्म भयो ।

प्रत्येक साता शनिबार ठीक चार बजे शक्ति माविको ठुलोढुंगामा लेख वाचन गर्ने । कसैले, कसैलाई नकुर्ने । ठीक समयमा कार्यक्रम सुरु गर्ने । कुनै अतिथि, सभापति नहुने । जो पहिला पुग्छ त्यसैले पहिला वाचन गर्ने । एक्लै भएमा पनि आफ्नो कविता ढुंगालाई सुनाई फर्कने तर वाचनचाहिँ गर्ने । यी र यस्तै नियम बनाइयो । कार्यक्रमको लोकप्रियता यति बढेर गयो कि मान्छे बढी भएर विद्यालयको कोठामा मैनबत्ती बालेरसमेत वाचन गर्ने अवस्था आयो । यसरी सुरु भएको साहित्यिक आन्दोलनले गोरखामा एउटा छुट्टै साहित्यिक माहोल बनायो । ०४५ सालमा प्रहरी अधिकृतमा नाम निकालेर जागिर खान काठमाडांै लागेसँगै म साहित्य संगमको क्रियाकलापबाट टाढा भएँ । 

शनिबारको नयाँ पत्रिका दैनिकमा राजुबाबु श्रेष्ठको फोटोकाे ठाउँमा  अन्य फोटो पर्न गएकोमा क्षमापार्थी  छौं । सम्पादक  

प्रस्तुती : सुनिता खनाल