१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार ०७:४४:००
Read Time : > 4 मिनेट
सेयर बजार

सेयर बजारमा ५ अंकको करेक्सन

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार ०७:४४:००

साताको अन्तिम कारोबार दिन सेयर बजारमा ५ अंकको करेक्सन भएको छ । अघिल्ला २ कारोबार दिनमा नेप्से करिब १२ अंक बढेको थियो । बजार बढेको मौकामा अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लाग्छन् । फलस्वरूप, बजारमा करेक्सन हुने गर्छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य कमी आएको छ । लगानीकर्ता पछिल्लो समयमा सस्ता कम्पनीहरूको सेयर खरिद–बिक्री गरिरहेका छन् । कम लगानीमा पनि नाफा आर्जन गर्न सकिने भएका कारण लगानीकर्ता सोतर्फ आकर्षित भएको एक लगानीकर्ताले बताए । लगानीकर्ता अहिले बजेटको पर्खाइमा रहेका छन् । पुँजी बजारमा विवादास्पद करको विषयलाई आगामी आवको बजेटले सम्बोधन गर्ने लगानीकर्ताको अपेक्षा रहेको छ । लगानीकर्ताको माग बजेटले सम्बोधन गरे बजारले नयाँ उचाइ कायम गर्ने उनको भनाइ छ । 

 बजार सारांश:

नेप्से परिसूचक यस दिन ५ दशमलव शून्य ८ अंक घटेर १ हजार ३ सय १४ दशमलव ५५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ८९ अंक घटेर २ सय ८० दशमलव ३८ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४६ अंक घटेर ९६ दशमलव ३४ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४३ अंक घटेर ८८ दशमलव ७१ बिन्दुमा पुगेको छ । यस दिन १ सय ७० कम्पनीको १२ हजार ४३ पटकको कारोबारमा ९३ करोड २६ लाख ४४ हजार रुपैयाँबराबरको २९ लाख ४३ हजार ३ सय ४ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण:

आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ६६ दशमलव ३२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चापको सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ४६ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७० कम्पनीमध्ये ४७ कम्पनीको सेयरमूल्य बढेको छ भने १ सय २ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २१ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

यस दिन नेप्सेको पिभट बिन्दु १ हजार ३ सय १५ दशमलव ७७ रहेको छ । आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार ३ सय ७ दशमलव ३९ बिन्दुमा पहिलो र १ हजार ३ सय बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार ३ सय २२ दशमलव ९३ बिन्दुमा पहिलो र १ हजार ३ सय ३१ दशमलव ३१ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

अपरको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा अपर तामाकोसी अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन २ हजार ८ सय ९२ पटकको कारोबारमा १५ करोड ५९ लाख ६४ हजार रुपैयाँबराबरको ५ लाख ३१ हजार २ सय ७२ कित्ता सेयर खरिद–बिक्री भएको छ । सो कम्पनीको सर्वाधिक सेयर कारोबार भए पनि सेयरमूल्य भने घटेर २ सय ८७ मा अन्तिम कारोबार भएको छ । अघिल्लो दिन सो कम्पनीको अन्तिम मूल्य ३ सय ५ रुपैयाँ रहेको थियो । हिमालयन डिस्टिलरी लिमिटेडको कारोबार रकम यस दिन ७ करोड नाघेको छ भने नेपाल बैंकको ६ करोड नाघेको छ । 

४ कम्पनीको सेयरमूल्यमा सर्किट

यस दिन कारोबारमा आएका ४ कम्पनीहरूको सेयरमूल्यमा सर्किट लागेको छ । एनएमबि माइक्रो फाइनान्स र मल्टिपर्पोज फाइनान्सको सेयरमूल्य यस दिन १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो भने हिमालयन ऊर्जा विकास कम्पनी र हिमालयन पावर पार्टनरको सेयरमूल्यमा १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको हो । घलेम्दी हाइड्रो र युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य यस दिन साढे ८ प्रतिशत घटेको छ । त्यसैगरी, श्री इन्भेष्टमेन्ट फाइनान्स, जोशी हाइड्रोपावर र सानिमा माई हाइड्रोपावरको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ । 

करेक्सन हुँदै जलविद्युत् समूह

पछिल्ला २ दिनदेखि उच्च अंक बढेको जलविद्युत् समूहको परिसूचक यस दिन करेक्सन भएको छ । सो समूहको परिसूचक यस दिन सर्वाधिक ४ दशमलव ८२ प्रतिशत घटेको छ । त्यसैगरी, वित्त समूहको परिसूचक यस दिन १ दशमलव १३ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ६७ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ५७ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ८ प्रतिशत, व्यापार समूहको शून्य दशमलव शून्य ३ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव शून्य २ प्रतिशत घटेको छ । 

होटेल समूहको परिसूचक यस दिन सर्वाधिक १ दशमलव ६८ प्रतिशत बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन शून्य दशदमलव १९ प्रतिशत, अन्य समूहको शून्य दशमलव १२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ११ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ । 

जलविद्युत् कम्पनीहरूको नियामक निकाय विद्युत् नियमन आयोग

जलविद्युत् कम्पनीहरूको नियमन अब विद्युत् नियमन आयोगले गर्ने भएको छ । हालसम्म कुनै पनि नियामक निकाय नभएका जलविद्युत् कम्पनीहरूको सार्वजनिक निष्कासनको आवश्यकता, संस्थागत सुशासनलगायतका विषयमा सो आयोगले नियमन गर्नेछ । जलविद्युत् कम्पनीहरूले सार्वजनिक रूपमा सेयर (आइपिओ) निष्कासन गर्न आयोगको पूर्वस्वीकृति लिनुपर्ने भएको छ । नेपाल सरकाले विद्युत् नियमन आयोग ऐन, २०७४ र सोसम्बन्धी विद्युत् नियमन आयोग नियमावली, २०७५ कार्यान्वयनमा ल्याइसकेको छ । सोही नियमावलीको नियम ४५ अनुसार यस्तो व्यवस्था रहेको जानकारी नेपाल धितोपत्र बोर्डले बुधबार प्रेस विज्ञप्तिमार्फत दिएको छ । जेठ ५ गते आयोगले ऐन र नियमावलीबमोजिम गर्न–गराउन बोर्डलाई पत्राचार गरेको थियो । सोही सन्दर्भमा जलविद्युत् कम्पनीहरूले आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिँदा विद्युत् नियमन आयोगको पूर्वस्वीकृति पेस गर्नुपर्ने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ । हाल बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरूको हकमा समेत सो व्यवस्था लागू हुने बोर्डले उल्लेख गरेको छ । यसले जलविद्युत् क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षणमा थप मद्दत पुगी धितोपत्र बजार थप प्रभावकारी तथा विश्वसनीय हुने बोर्डको विश्वास रहेको छ । 

सिटिजन्स म्युचुअल फन्ड–२ निष्कासन खुला

सिटिजन्स म्युचुअल फन्डले जेठ ९ गतेदेखि सिटिजन्स म्युचुअल फन्ड–२ निष्कासन तथा बिक्री खुला गरेको छ । यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन तथा बिक्री खुला गरेको हो । निष्कासन बन्द छिटोमा जेठ १३ गते हुनेछ भने ढिलोमा असार ८ गते हुनेछ । योजनाले १० करोड इकाइ बीज पुँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धकलाई सुरक्षित गरी सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाइका लागि निष्कासन गरेको हो । यस योजनाको कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल रहेको छ ।

यस योजनाको अवधि ७ वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । यसको योजना व्यवस्थापक सिबिआइएल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

एनआइबिएल सहभागिता फन्ड जेठ १९ गतेदेखि 

एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनआइबिएल सहभागिता फन्ड जेठ १९ गतेदेखि निष्कासन तथा बिक्री खुला हुने भएको छ । यो नेपाली धितोपत्र बजारमा पहिलो खुलामुखी योजना हो । योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका कुल ५ करोड इकाइ निष्कासन गर्नेछ । पहिलो चरणमा यस योजनाले सर्वसाधारणका लागि १ करोड २५ लाख इकाइ निष्कासन गर्नेछ । कुल निष्कासन गरिने इकाइमध्ये बीज पुँजीबापत योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटलका लागि १० लाख इकाइ तथा कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि ६५ लाख इकाइ सुरक्षित गरिएको छ । लगानीकर्ताले न्यूनतम १ सय इकाइ र अधिकतम २ लाख ५० हजार इकाइका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा जेठ २२ गते हुनेछ भने ढिलोमा असार १६ गते हुनेछ । यस योजनाका इकाइ विनिमय बजारमा सूचीकरण तथा कारोबार हुनेछैन ।