१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ जेठ ९ बिहीबार १९:०५:००
Read Time : > 1 मिनेट
समाचार

यार्सा टिप्न विद्यार्थी र शिक्षक हिँडेपछि डोल्पाका विद्यालय रित्तै

Read Time : > 1 मिनेट
२०७६ जेठ ९ बिहीबार १९:०५:००

यार्सागुम्बा टिप्ने बेला सुरु भएसँगै डोल्पाका अधिकाशं बिद्यालय बन्द भएका छन् । केही बिद्यालय खुलेपनि पठनपाठन भने हुन सकेको छैन । शिक्षक र विद्यार्थी यार्सागुम्बा टिप्न पाटन जाने तयारीमा जुटेपछि डोल्पाका बिद्यालयहरु रित्तै भएका हुन् । 

विद्यार्थी अभिभावकसँगै यार्सा टिप्न जाने गर्छन् । पढाइ छाडेर बन्दोबस्तीका सामान बोकेर विद्यार्थी यार्सापाटन हिँडिसकेका छन् । पाँच प्रतिशत विद्यार्थीसमेत उपस्थित नभएपछि विद्यालय बन्द भएका हुन् । विद्यार्थी नियमित आउन छाडेपछि शिक्षक हाजिर गरेर फर्कने गरेको त्रिपुरा माबि त्रिपुराकोटका शिक्षक नवराज थापाले बताए ।

विद्यार्थी हिँडेपछि शिक्षकहरु पनि यार्सागुम्बा टिप्न जाने तयारी गरिरहेको उनले बताए । आम्दानीको मुख्य स्रोत यार्सागुम्बा भएकाले विद्यार्थीलाई विद्यालय आउन दवाव दिन नसकिएको उनको भनाई छ । त्रिपुरासुन्दरीका जनप्रभा माबि लिकु, मुकुटेश्वर माबि फुल्चिङ, कस्तुरी आभारभुत बिद्यालय भुतिङ्ग्रा लगायतका अधिकाशं बिद्यालय बन्द भइसकेका छन् ।

त्यसैगरी आदर्श माबि जुफाल, सरस्वती माबि दुनै, लक्ष्मी माबि थर गाउँ, अन्नपुर्ण माबि शर्मी, त्रिपुरा माबि काइगँउ, भगवती माबि थरगाउँ, तापरिजा माबि फोक्सुन्डो लगायतका बिद्यालयमा पनि ९५ प्रतिशत विद्यार्थी अनुपस्थित छन् । विद्यार्थी आउन छाडेपछि बिद्यालय बन्दभएको जनप्रभा माबि लिकुका प्रधानाध्यापक यामप्रसाद शर्माले बताए । ६ सय विद्यार्थी पढ्ने उक्त विद्यालयमा यार्सा सिजन सुरु भएपछि बढीमा १० जना विद्यार्थी मात्र आउने गरेको शर्माले जानकारी दिए । विद्यार्थी नआएपछि शिक्षक हाजीर गरेर बस्ने बाहेक काम नहुने शर्माले बताए ।

सिजनमा करिब एक महिनाका लागि डोल्पाका अधिकाशं बिद्यालय बन्द हुने गरेका छन् । डोल्पाका शिक्षकहरुले समेत लब बाहेक यार्सा टिपेर पनि राम्रो आम्दानी गर्ने गर्दछन् । डोल्पाका सम्पुर्ण पाटनमा १३ जेठदेखि औपचारिक रुपमा संकलनका लागि खुला गर्ने निर्णय गरिएको छ । सो दिन भन्दा अगाडिनै यार्सापाटनमा पुगिसक्नुपर्ने भएकाले धेरैजसो हिँडिसकेका हुन् ।

बाँकी सर्वसाधारण पनि एक दुई दिनभित्रै गाउँनै खाली पारेर पाटनतिर जाने तयारीमा छन् । दुईसाता घर बसेर असार नलाग्दै बिद्यालय आइपुग्ने गरेको उनले बताए । पढाइ खर्च उठाउने आशमा यार्सा टिप्न जान लागेको त्रिपुरा माबिमा ७ कक्षमा पढ्ने बुधे कुलालले बताए । घरको कमजोर आर्थिक अवस्था भएकाले बर्षभरी आवाश्यकपर्ने कापी, कलम किन्न पनि यार्सा टिप्न जानुपरेको उनको भनाई छ । 

यार्सा पाटन पुग्न अग्ला हिमाल चढेर माइनस तापक्रममा जानुपर्छ । लेक लाग्ने र हिमपात हुने भएकाले हिँउ पहिरोको डर पनि हुन्छ । यार्सा सिजनले गर्दा छिमेकी जिल्ला रुकुम, जाजरकोटका बिद्यलाय समेत प्रभावित हुने गर्दछ ।