बुधबार नेप्से परिसूचक शून्य दशमलव ५७ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से र कारोबार रकम दुवै बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । अहिले लगानीकर्ता सस्तो मूल्य भएका कम्पनीको सेयर कारोबार गर्नतर्फ लागेका छन् । यस समयमा विशेषगरी जलविद्युत् कम्पनीहरूको सेयरमा लगानीकर्ता आकर्षित भएका छन् । जलविद्युत् कम्पनीको सेयरमूल्य निकै सस्तिएका कारण सो कम्पनीहरू लगानीकर्ताको रोजाइमा परेका हुन् । यस दिन सर्वाधिक कमाउने १० कम्पनीको सूचीमा अपर तामाकोसीबाहेक अरू सबै कम्पनीको सेयरमूल्य २ सय ५० रुपैयाँभन्दा कम छ । गत साता सर्वाधिक बढेको उत्पादनमूलक समूहको परिसूचक यस साता भने करेक्सन भइरहेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरू लगानीकर्ताको रोजाइमा परेका थिए । लगानीकर्ताले सस्ता कम्पनी छानेर लगानी गरिरहेका कारण हरेक हप्ता फरक–फरक समूहका कम्पनीको सेयरमूल्य बढिरहेको एक विश्लेषकले बताए । यसका साथै, आगामी आर्थिक वर्षको बजेटले विवादमा रहेको करको विषयलाई सम्बोधन गर्ने अपेक्षाले पनि नेप्सेले सकारात्मक गति लिएको उनको भनाइ छ ।
बजार सारांश
नेप्से परिसूचक बुधबार ७ दशमलव ४९ अंक बढेर १ हजार ३ सय १९ दशमलव ६३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ३५ अंक बढेर २ सय ८१ दशमलव २७ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ६९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४२ अंक बढेको छ । यस दिन १ सय ७१ कम्पनीको १२ हजार ४ सय २२ पटकको कारोबारमा ९६ करोड ६६ लाख ९३ हजार २ सय ४९ रुपैयाँबराबरको ३४ लाख ३६ हजार ९ सय ३७ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ६९ दशमलव ५२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।
एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन १ दशमलव ७० रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७१ कम्पनीमध्ये ९७ कम्पनीको सेयरमूल्य बढेको छ भने ५७ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।
यस दिनको पिभट विश्लेषण गर्दा बिहीबार नेप्से ओरालो लागे १ हजार ३ सय १४ दशमलव ४६ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार ३ सय २३ दशमलव ७७ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार ३ सय ९ दशमलव ३० बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार ३ सय २७ दशमलव ९२ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।
नेपाल बैंकको सर्वाधिक कारोबार
यस दिन कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ६ करोड ९६ लाख २८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, प्राइम कमर्सियल बैंक र शिवम् सिमेन्ट्सको कारोबार रकम पनि यस दिन ६ करोड नाघेको छ । १६ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन भएका कारण प्राइम बैंकको सेयरमा लगानीकर्ता आकर्षित भएका हुन् । बैंकले साधारणसभा तथा बोनस सेयर वितरण प्रयोजनका लागि बिहीबार (जेठ ९ गते) देखि बुक क्लोज गर्नेछन् । सेयर संख्याका आधारमा यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा शिवम् अगाडि रहेको छ । हाइड्रोइलेक्ट्रिसिटीको यस दिन २ लाख १३ हजार ७ सय २७ कित्ता सेयर किनबेच भएको छ । शिवम्को यस दिन ८ सय ४ पटक सेयर कारोबार भएको छ ।
अरुण भ्यालीको सेयरमूल्य १० प्रतिशत बढ्यो
यस दिन कारोबारमा आएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, अपर तामाकोसी हाइड्रोपावर, अरुण काबेली पावर, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन पावर पार्टनर, अपी पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी र सिटी एक्सप्रेस फाइनान्स कम्पनीको सेयरमूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ । घलेम्दी हाइड्रो लिमिटेडको सेयरमूल्य यस दिन ९ दशमलव ४८ प्रतिशत घटेर १ सय ५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । हिमालयन डिस्टिलरीको सेयरमूल्य यस दिन ६ दशमलव ७० प्रतिशत घटेको छ भने शिवम्को ५ दशमलव ९८ प्रतिशत घटेको छ ।
५ प्रतिशत बढ्यो जलविद्युत् समूहको परिसूचक
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने २ समूहको परिसूचक घटेको छ । जलविद्युत् समूहको परिसूचक यस दिन सर्वाधिक ५ दशमलव ३८ प्रतिशत बढेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक २ दशमलव ५१ प्रतिशत, अन्य समूहको १ दशमलव शून्य ८ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ६६ प्रतिशत, वित्त समूहको शून्य दशमलव ६५ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४८ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ३८ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २२ प्रतिशत र निर्जीवन बिमा समूहको परिसूचक शून्य दशमलव १९ प्रतिशत बढेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन ३ दशमलव १६ प्रतिशत घटेको छ भने म्युचुअल फन्डको २ दशमलव शून्य २ प्रतिशत घटेको छ ।
नागबेलीको नाफा १५ प्रतिशत बढ्यो
गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा भने १५ दशमलव ५२ प्रतिशत बढेर २ करोड १२ लाख पुगेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले १ करोड ८३ लाख खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा चुक्ता पुँजी १ सय १८ दशमलव ७७ प्रतिशत बढेर १६ करोड ७६ लाख ७९ हजार पुगेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ७ करोड ६६ लाख ४६ हजार रहेको थियो । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ६७ दशमलव ९० प्रतिशत बढेर १० करोड ८४ लाख पुगेको छ । सो अवधिसम्ममा कम्पनीले ५ करोड ९५ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ५५ दशमलव १९ प्रतिशत बढी हो । कम्पनीको सञ्चालन मुनाफा ५४ दशमलव १७ प्रतिशत बढेर ३ करोड २८ लाख पुगेको छ । समीक्षा अवधिमा कम्पनीको निक्षेप ३४ दशमलव ९० प्रतिशत बढेर ३० करोड २ लाख पुगेको छ भने कर्जा २० दशमलव ८१ प्रतिशत ८१ करोड ७५ लाख पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ दशमलव ६७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३९ दशमलव ३३ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४७ दशमलव ९९ गुणा रहेको छ ।
२ गुणा बढ्यो किसानको खुद नाफा
गत आवको चैत मसान्तको तुलनामा चालू आवको सोही अवधिमा किसान माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको नाफा २ गुणाभन्दा बढी बढेको छ । गत आवको चैत मसान्तसम्ममा ६३ लाख ३२ हजार रहेको कम्पनीको यस्तो नाफा चालू आवको सोही अवधिसम्ममा बढेर १ करोड ३२ लाख पुगेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि २ गुणाभन्दा बढी बढेको छ । गत आवको चैत मसान्तसम्ममा ७८ लाख १२ हजार रहेको सञ्चालन मुनाफा चालू आवको सोही अवधिसम्ममा १ सय ३७ प्रतिशत बढेर १ करोड ८५ लाख पुगेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा ५० दशमलव ८५ प्रतिशत बढेर ५ करोड ४९ लाख पुगेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको चुक्ता पुँजी १ सय २४ दशमलव ४९ प्रतिशत बढेर ८ करोड ९७ लाख ९७ हजार पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको चुक्ता पुँजी ४ करोड रहेको थियो । बैंकको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा ४२ दशमलव ७३ प्रतिशत घटेर २ करोड ३४ लाखमा सीमित भएको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३९ करोड ८५ लाख कर्जा प्रवाह गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४४ दशमलव १५ प्रतिशत बढी हो ।
त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको निक्षेप ४७ दशमलव ४४ प्रतिशत बढेर ३४ करोड ४५ लाख पुगेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १८ दशमलव ४२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ५७ दशमलव शून्य ६ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४५ दशमलव १२ गुणा रहेको छ ।