१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामचन्द्र न्यौपाने
२०७६ जेठ ९ बिहीबार ०७:४४:००
Read Time : < 1 मिनेट
समाचार

डोल्पामा यार्सागुम्बा संकलन गर्न अवैध रूपमा प्रवेश गरेका १३ जना पक्राउ

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने
२०७६ जेठ ९ बिहीबार ०७:४४:००

डोल्पामा यार्सागुम्बा संकलन गर्न अवैध रूपमा प्रवेश गरेका १३ जना पक्राउ परेका छन् । उनीहरूलाई सेनाको सम्दुवा पोस्टको टोलीले से–फोक्सुन्डो गाउँपालिकामा पर्ने रमाना यार्सापाटनबाट पक्रेको हो । उनीहरू सबै डोल्पाकै बासिन्दा भएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । पक्राउ पर्नेमा डोल्पा जिल्ला मुड्केचुला गाउँपालिका–१ का खगेन्द्र रोकाय, नरेन्द्र बोहरा, राजेन्द्र बोहरा, हीरालाल बोहरा र वडा नम्बर–९ का जंगबहादुर बुढा छन् । त्यस्तै, वडा नम्बर–७ का तुलाचन्द्र बुढा, हेमन्त बुढाथोकी, तुलबहादुर सार्की, गोरे बिटालू, राजेन्द्र बुढामगर, मूललाल विक, डिलकु नेपाली र मित्रा बुढा रहको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए ।

उनीहरूबाट तीन सय चार थान यार्सागुम्बा, तीन थान मोबाइल र दुई थान कुटो बरामद गरिएको छ । उनीहरू यार्सापाटन खुल्ने समयअघि नै अवैध चोरी–तस्करी गर्ने उद्देश्यले पाटनमा छिरेको निकुञ्जको भनाइ छ । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

जिल्लास्थित सरोकारवाला निकायको बैठकले १३ जेठमा मात्रै डोल्पाका सम्पूर्ण यार्सागुम्बा पाटन खोल्ने निर्णय गरेकाले त्यसअघि यार्सापाटन छिर्ने जो–कोहीलाई समातिने निकुञ्जको भनाइ छ । वैशाखदेखि हालसम्म नेपाली सेना र निकुञ्जको टोलीले विभिन्न यार्सापाटनबाट ६० जनाभन्दा धेरै यार्सागुम्बा संकलक पक्राउ गरिसकेको छ । निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्म सुलिगाडले निकुञ्ज क्षेत्रभित्र पर्ने यार्सापाटनको सुरक्षा गरिरहेको छ ।