Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार १७:२७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

पहिलो ‘भर्चुअल’ शैक्षिक  मेलाको तयारी पूरा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार १७:२७:००

नेपालमा पहिलोपटक हुन लागेको ‘भर्चुअल’ शैक्षिक मेलाको तयारी पूरा भएको छ । बुधबार पत्रकार सम्मेलन गरी आगामी १० देखि १६ जेठसम्म सञ्चालन हुने नेपाल एडु फेयरको सबै तयारी सम्पन्न भएको मेला संयोजक तथा मिटिङ प्वाइन्टका प्रबन्ध निर्देशक सुरेश सिंखडाले बताए ।  समयको मागअनुसार भर्चुअल शैक्षिक मेला आयोजना गर्न लागेको आयोजकको भनाइ छ । देशभरका विद्यार्थी र अभिभावक आफैँ उपस्थित भएर विस्तृत जानकारी लिन कठिन र खर्चिलो हुने भएकाले भर्चुअल शैक्षिक मेला आयोजना गरेको संयोजक सिंखडाले बताए ।

कुनै एक ठाउँमा हुने मेलाबाट शैक्षिक संस्थाको भौतिक तथा शैक्षिक अवस्थाबारे सबै जानकारी लिन सकिन्न,’ सिंखडा भन्छन्, ‘भर्चुअल मेलामा सहभागीले भौतिक र शैक्षिक अवस्था हेर्न पाउनेछन् । त्यसका साथै शैक्षिक संस्थाका प्रिन्सिपल तथा सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष कुराकानी गर्न तथा विज्ञसँग परामर्शसमेत लिन पाउनेछन् ।’ नेपाल एडुफेयर डट कम भिजिट गर्नेबित्तिकै आफूले चाहेको सूचना र परामर्श लिन सक्ने व्यवस्था छ । 

भर्चुअल शैक्षिक मेलामा विद्यार्थी तथा अभिभावकले जुनसुकै स्थानबाट पनि नेपालका शैक्षिक संस्थाबारे जानकारी लिन सक्नेछन् । उनीहरूले आफूलाई उपयुक्त समयमा उत्कृष्ट शैक्षिक संस्थाका बारेमा जानकारी तथा परामर्श लिन सक्नेछन् । 

एडु फेयरमा विद्यार्थी तथा अभिभावकले चाहेको शैक्षिक संस्थाको भर्चुअल टुरसमेत गर्न पाउनेछन् । कुनै शैक्षिक संस्थाको भौतिक संरचनाको ‘थ्रिडी इमेज’मार्फत टुर गर्न सक्नेछन् । यस्तो टुरमा विद्यार्थीले शैक्षिक संस्थाको लबी, ल्याब, लाइब्रेरी, कक्षाकोठा, हलदेखि सबै संरचनाको अवलोकन गर्न पाउनेछन् । 

मेलामा ‘करिअर विथ एक्सपर्ट’को पनि व्यवस्था छ । मेला अवधिभर कम्तीमा ३० जना विज्ञबाट विद्यार्थीहरूको करिअर काउन्सिलिङ गरिने आयोजकले बताएको छ । विज्ञले विद्यार्थीका लागि उपयुक्त विषय तथा कार्यक्रम छान्न सघाउनेछन् । 

मेलामा अपलोड गरिएका शैक्षिक संस्थाका सामग्रीमा विद्यार्थीले पहुँच पाउनेछन् भने उनीहरूले ब्रोसर, फारम र अन्य अध्ययन सामग्रीसमेत प्राप्त गर्नेछन् । शिलापत्रको प्रस्तुतिमा हुने नेपाल एडुफेयरको मुख्य प्रायोजक ग्लोबल कलेज र युनिग्लोब मावि/कलेज छन् । त्यसैगरी, सहआयोजकमा नयाँ पत्रिका दैनिक र इभेन्ट म्यानेजमेन्ट मिटिङ प्वाइन्ट छन् । आइटी पार्टनरमा टेक १०१ तथा बैंकिङ पार्टनर प्रभु बैंक छन् भने प्रायोजकमा लिबर्टी कलेज र भ्याली भ्यू रहेका छन् । 

भर्चुअल मेलाले विद्यार्थी, अभिभावक र शिक्षक सबैलाई फाइदा पुग्छ
डा. खगेन्द्रप्रसाद ओझा
सिइओ/एमडी ग्लोबल कलेज (नेपाल एडुफेयर मुख्य प्रायोजक)

भर्चुअल शैक्षिक मेलाबाट हामी निकै उत्साहित छौँ । अहिले बालबालिकाले घरमै बसेर शिक्षा लिनुपर्छ भन्ने धारणा विकसित भएको छ । यस्तो अवस्थामा भर्चुअल मेलाको अवधारणा राम्रो लागेकाले मुख्य प्रायोजन हामीले गरेका हौँ । यसबाट कलेज छनोट गर्नकै लागि समय र पैसा खर्च गरेर काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । विद्यार्थी र अभिभावकलाई घरमै बसेर सूचना पाउने व्यवस्था गर्नु आजको आवश्यकता र अपरिहार्यता हो । भर्चुअल शैक्षिक मेला नयाँ अवधारणा हो । अब यसमा अरू धेरै शैक्षिक संस्था पनि आबद्ध हुनेछन् । फिजिकल्ली उपस्थित हुनुपर्ने मेलाप्रति चासो र उपलब्धि दुवै कम हुँदै गएको छ । अब भर्चुअल मेलामा उपस्थिति बढ्छ । यसले विद्यार्थी, अभिभावक र शैक्षिक संस्था सबैलाई फाइदा हुन्छ ।

भर्चुअल शैक्षिक मेला नयाँ र फराकिलो अवधारणा
 डा. करण ठगुन्ना, 
प्रिन्सिपल, युनिग्लोब कलेज  (नेपाल एडुफेयर मुख्य प्रायोजक)

पहिलेका मेलामा साँघुरो ठाउँमा अरूले बिजनेस पाउने, तर विद्यार्थीले फाइदा नपाउने अवस्था थियो । भर्चुअल शैक्षिक मेला नयाँ र फराकिलो अवधारणा भएकाले हामी सहभागी भएका हौँ । यो छिट्टै व्यापक बन्नेछ । मेलामा वास्तविक सूचना लिन सकिन्छ र प्रिन्सिपलसँग समेत प्रत्यक्ष कुरा गर्न सकिन्छ । संस्थाका सबै संरचना हेर्न पाइन्छ । शुल्कदेखि छात्रवृत्तिसम्मका जानकारी पाउन सकिन्छ । विज्ञहरूसँग करिअरबारे परामर्श गर्न पाउँदा विद्यार्थी थप लाभान्वित हुनेछन् । नेपालमा पहिलोपटक भएको यस्तो मेलाको मुख्य प्रायोजक बन्न पाउँदा हामी गौरवान्वित छौँ ।