मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
बुधबार दिनभर गरिएको पिच साँझ आएको मुसलधारे पानीले बगायो (रातो घेरामा) तस्बिर : नयाँ पत्रिका
पूर्णप्रसाद न्यौपाने
२०७६ जेठ ९ बिहीबार ०६:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

बिहीबार राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले पखाल्यो

कवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको  सालिक अनावरण गर्न राष्ट्रपति विद्या भण्डारी आज ओखलढुंगा पुग्दै

Read Time : > 1 मिनेट
पूर्णप्रसाद न्यौपाने
२०७६ जेठ ९ बिहीबार ०६:४५:००

राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौँदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच साँझ आएको मुसलधारे पानीले बगाएको हो । सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ । गणेश मन्दिर चोकनजिक खाल्डा पुरेर गरिएको पिच मुसलधारे पानीले पूरै बगाएको छ । 

युगकवि सिद्धिचरण श्रेष्ठको १०८औँ जन्मजयन्तीका अवसरमा उनको पूर्णकदको सालिक अनावरण र स्रष्टापार्क उद्घाटनका लागि बिहीबार राष्ट्रपति भण्डारी ओखलढुंगा आउने कार्यक्रम छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले राष्ट्रपतिको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सडक निर्माणको कामबाहेक स्वागतद्वार र सिँढी निर्माणमा नगरपालिकाले १० लाख खर्च गरेको छ ।

यो रकमले नगरपालिकाले मञ्च र स्वागतद्वार निर्माण तथा ८० पाहुनालाई खानबस्नको व्यवस्था गरेको छ । राष्ट्रपति सेनाको ब्यारेकमा जाने कार्यक्रम भएकोले सिँढी पनि नगरपालिकाकै खर्चमा बनेको छ । ‘नगरपालिकाले तीन लाख खर्च गरेर सिमेन्ट, बालुवा–गिटी र ढुंगालगायत निर्माण सामग्री व्यवस्था गरिदिएको हो, जनशक्ति भने सेनाकै प्रयोग भएको छ,’ सूचना अधिकारी राईले भने । राईका अनुसार नगरपालिकाले सकेसम्म आफ्नै बजेट र जनशक्ति प्रयोग गरेर विकासका काम गरेको छ ।

रातारात सडक पिच भएको देखेर चकित स्थानीय भन्दै थिए, ‘विकास निर्माण हुन त ठूलै मान्छे आउनुपर्ने रहेछ ।’ तर, बुधबार साँझ परेको पानीले पिच मात्र होइन उनीहरूको विश्वास पनि पखालिदियो ।

तीन दिनभित्र भएको विकास निर्माणको काम देखेर ओखलढुंगा सदरमुकामका बासिन्दा चकित थिए । ‘सडकका खाल्डा आधा घन्टामै पुरिए । सरसफाइ र मर्मतलगायत तमाम काम तीन दिनमै फत्ते भए,’ स्थानीय सुविन राजभण्डारीको भनाइ थियो, ‘विकास हुन त ठूला मान्छेहरू जिल्ला आइरहनुपर्ने रहेछ । तर, यस्तो विकास कसरी दिगो होला ?’

तर, उनीहरूको त्यो आशा पनि बुधबार साँझ भ्रममा परिणत भयो जब ओखलढुंगा बजारमा पानी पर्‍यो । बुधबार साँझको पानीले सडकको नयाँ पिच बगाइदियो । सडक जस्ताको तस्तै भएको छ । त्यसो त, सदरमुकामका सडकमा वर्षौँदेखि ठुल्ठूला खाल्डा थिए । ढल व्यवस्थित थिएन । मन्दिर र पार्कहरू फोहोरले कुरूप थिए । तर, राष्ट्रपति आउने भनेपछि रातारात विकासको ‘मूल फुटेको’ थियो । 

पानीले पिच पखाले पनि अरू तयारीमा भने नगरपालिकाले कुनै कसर बाँकी राखेको छैन । तीन दिनमै बजारक्षेत्र बेहुलीझैँ सिँगारिएको छ । स्वागत ब्यानर र ध्वजापताकाले झिलिमिली पारिएको छ । सडकका खाल्डाखुल्डी पुरिएका छन् । सरसफाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र सेनाको ब्यारेकआसपासको सिँढी निर्माण गरिएको छ । यो सबै राष्ट्रपतिको भव्य स्वागतका लागि गरिएको सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

‘नराम्रो देखाउँ भन्ने हुँदैन । स्वाभाविक रूपमा हामीले सकेसम्म राम्रो गर्ने र देखाउने प्रयास गरिरहेका छौँ । राष्ट्रपतिज्यूको भ्रमणलाई भव्य बनाउन कुनै कसर बाँकी राखेका छैनौँ । सुरक्षा प्रबन्धसहितका तयारी अन्तिम चरणमा पुर्‍याएका छौँ,’ बुधबार दिउँसो पत्रकार सम्मेलनमा नगरप्रमुख श्रेष्ठले भने, ‘राष्ट्रप्रमुखको आगमनले सिद्धिचरण नगरपालिकाको समृद्धि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरेका छौँ ।’