१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की
२०७६ जेठ ८ बुधबार ०९:२४:००
Read Time : > 1 मिनेट
खेलकुद

दशरथ रंगशाला पुनर्निर्माण पहिलो चरणको काम सकियो

रंगशालाको दोस्रो चरणमा भिआइपीतर्फ छाना हाल्ने काम बाँकी

Read Time : > 1 मिनेट
२०७६ जेठ ८ बुधबार ०९:२४:००

भूकम्प गएको चार वर्षपछि दशरथ रंगशालाको पहिलो चरणमा भएको टेन्डर प्रक्रियाको काम सम्पन्न भएको छ । पहिलो चरणमा भूकम्पले क्षतिग्रस्त भएको भिआइपी प्याराफिटको क्षतिग्रस्त संरचनाको निर्माण र रेट्रोफिटको काम सकिएको छ भने साधारणतर्पmको तल्लो भागको निर्माण र छाना हाल्ने काम सम्पन्न भएको हो । पहिलो चरणको टेन्डरमा भिआइपी प्याराफिट, चेन्जिङ रुम निर्माण, साधारणतर्फको  छाना हाल्ने काम र कभर्डहल निर्माणको काम सकिएको राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ इन्जिनियर अरुण उपाध्यायले जानकारी दिए ।

बनाउन १८ करोड भत्काउन १ करोड

भिआइपीतर्फको प्याराफिटमा भूकम्पले बढी क्षति गरेको थियो । उक्त क्षेत्र भत्काउन एक करोड र टेन्डरअनुसार निर्माण गर्न १८ करोड खर्च भएको छ । त्यस्तै, साधारणतर्फको प्याराफिटमा रेट्रोफिट र छाना राख्न सात करोड खर्च भएको छ । यद्यपि, साधारणतर्फको  प्याराफिट भूकम्प जानुअघि नै रेट्रोफिट गरिएको थियो । साधारणतर्पm पनि छाना राख्ने उद्देश्यसहित रेट्रोफिट गरिएकाले भूकम्पका दौरान साधारण प्याराफिटमा बढी क्षति नभएको इन्जिनियर उपाध्यायले जानकारी दिए ।

साढे दुई वर्ष अन्योलमा

भूकम्प गएपछि रंगशाला निर्माणको काम साढे २ वर्ष अन्योलमै थियो । त्यसपछि सरकारले पुनर्निर्माण सुरु गरेको थियो । त्यसअघि २०७३ को बजेट खर्च नै हुन सकेको थिएन । यद्यपि, २०७४ मा पुनर्निर्माणका लागि आवश्यक टेस्ट रिपोर्टको काम सुरु गरिएको थियो । भूकम्पपछि टेस्ट रिपोर्टका लागि नै लामो समय लागेको इन्जिनियर उपाध्यायले बताए ।

उनले भने, ‘हामीले टेन्डर प्रक्रिया सुरु गरेपछि निर्धारित समयमै काम सम्पन्न गरेका छौँ । तर, टेन्डर हुनुअघि नै लामो समयसम्म अन्योल भयो भने टेस्ट रिपोर्टका लागि पनि निकै समय खर्चिनुप-यो ।’ उनले रंगशाला निर्माणको काम समयमै भए पनि निर्माण सुरु हुनुअघिको अन्योलपूर्ण अवस्थाले निर्माणमा धेरै समय खर्च भएकोजस्तो देखिएको दाबी गरे । उपाध्यायले भने, ‘टेन्डर प्रक्रिया सुरु गरेको १०–११ महिनामै काम सम्पन्न भएको छ ।’

अझै काम बाँकी

पहिलो चरणको टेन्डरको काम सम्पन्न भए पनि अझै रंगशाला तयार हुन दसैँअघिसम्म लाग्ने उपाध्यायले जानकारी दिए । उनले भने, ‘अब दोस्रो चरणको कामका लागि टेन्डर प्रक्रिया सम्पन्न भएको छ । थोरै समय लाग्ने काम मात्र बाँकी रहेकाले दसैँअघिसम्म रंगशाला पूर्ण रूपमा तयार गर्ने उद्देश्य राखेका छौँ ।’ रंगशालाको दोस्रो चरणमा भिआइपीतर्फ छाना हाल्ने काम बाँकी रहेको छ भने कुर्सी राख्ने कार्यका लागि पनि टेन्डर भएको छ । त्यस्तै, बाटोका लागि टेन्डर आह्वान भए पनि बुझाउन बाँकी रहेको छ । राष्ट्रिय खेलकुद् परिषद्बाट आर्मी अफिसर क्लब निस्किने बाटोको टेन्डर पनि प्रक्रियामा रहेको छ ।

करिब २० करोडको काम बाँकी

चीनले निर्माण गरिरहेको स्कोरबोर्ड, फ्रडलाइट र सिन्थेटिक ट्र्याकबाहेक रंगशाला तयार हुन अझै लगभग २० करोड हाराहारी खर्च लाग्ने अनुमान गरिएको छ । भिआइपीतर्फको  छानाका लागि पाँच करोड र कुर्सीका लागि १० करोड खर्च हुनेछ । त्यस्तै, बाटोको टेन्डर नपरिसकेकाले कति खर्च आउने भन्ने तय हुन बाँकी रहेको उपाध्यायले  जानकारी दिए ।

सागका लागि तयार
आगामी मंसिरमा नेपालमा हुने तय भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा रंगशाला तयार गरिसक्नुपर्ने चुनौती छ । इन्जिनियर उपाध्यायले दसैँअघि नै काम सम्पन्न हुने भएकाले सागका लागि रंगशाला तयार हुने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सागको लोगो सार्वजनिक समारोहका दौरान पूर्वाधारकै कारण सागमा कुनै समस्या नहुने बताइसकेका छन् ।