मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ ८ बुधबार ०६:५९:००
Read Time : > 4 मिनेट
फिचर

ठूला ६ म्याराथन  दौडने एक्लो नेपाली

Read Time : > 4 मिनेट
२०७६ जेठ ८ बुधबार ०६:५९:००

धरानका सन्तोष राई लन्डन बस्थे । उनकी छोरी नेवा सात महिनाकी हुँदा ‘हाइड्रो क्याफलेस’बाट पीडित भइन् । सन्तोष यो रोगबारे खासै जानकारी राख्दैनथे । यो रोग लाखौँमध्ये एकजनामा मात्र देखिन्छ । नेवाको रोग पत्ता लाग्नै ढिलो भयो । त्यसकारण उनको शरीरको देब्रे भागमा असर गर्‍यो । शरीरको देब्रे पाटो नचल्ने भयो ।

यो रोग लाग्दा टाउकोमा पानी जम्छ । दुईपटकसम्म जटिल अप्रेसन गरेर टाउकोको पानी शरीरमा झारिएको छ । त्यसलाई बाहिर निकाल्न मिल्दैन । नियमित जाँचका लागि डाक्टरकहाँ गइरहनुपर्छ । 

अहिले छोरी नेवा १२ वर्षकी भइसकिन् । छोरी बिरामी भएपछि सन्तोष स्वास्थ्यबारे सचेत भए । अनि सुरु भयो उनको दौड यात्रा । स्वस्थ रहनकै लागि उनले दौडन सुरु गरेका थिए । पछि छोरीलाई पनि आफूसँगै दौडाउन थाले । दौड सुरु गरेपछि छोरीको स्वास्थ्यमा पनि सुधार आएको उनी बताउँछन् ।

अनि बने धावक
स्वस्थ रहन दौडँदा सन्तोषमा हिम्मत बढ्दै गयो । विभिन्न प्रतियोगितामा भाग लिन थाले । म्याराथनमा ४२ दशमलव दुई किलोमिटर दौडनुपर्छ । उनले पहिलोपटक सन् २००७ मा म्याराथन दौडिए । हिम्मत बढ्यो ।

विश्वका प्रमुख ६ म्याराथनमा दौडने धेरै धावकको सपना हुन्छ । उनले दुई वर्षभित्र विश्वकै प्रमुख ६ म्याराथन पूरा गरे । सन्तोषले लन्डन म्याराथन, बर्लिन म्याराथन, बोस्टन म्याराथन, सिकागो म्याराथन, न्युयोर्क म्याराथन र टोकियो म्याराथन पूरा गरे । विश्वभरबाट सहभागी हुन पाउने ‘सिक्स वर्ल्ड म्याराथन मेजरर्स’ मा साउथ एसियाबाट भारतबाट ११ जनाले भाग लिएका थिए । नेपालबाट उनी एक्लो थिए । ६ वटै दौड पूरा गर्ने उनी अहिलेसम्मकै एक्ला नेपाली पनि हुन् । 

स्वस्थ रहन दौडँदा सन्तोषमा हिम्मत बढ्दै गयो । विभिन्न प्रतियोगितामा भाग लिन थाले । म्याराथनमा ४२ दशमलव दुई किलोमिटर दौडनुपर्छ । उनले पहिलोपटक सन् २००७ मा म्याराथन दौडिए । हिम्मत बढ्यो ।

आफ्नो प्रेरणाको स्रोत उनी छोरी नेवालाई नै मान्छन् । उनी मात्र होइन, उनको परिवारका सबै सदस्य दौडन्छन् । दुई छोरी र श्रीमती विभिन्न दौड प्रतियोगितामा सहभागी हुन्छन् । रोगले शारीरिक अपांगता बनाए पनि छोरी नेवासमेत दौडन सक्ने उनले बताए । ‘डाक्टरले समेत माया मारेको मेरी छोरी अहिले सहजै पाँच किलोमिटरको दौड पूरा गर्न सक्छिन्,’ उनी भन्छन् ।

सन्तोष अहिले पनि बेलायतलाई कर्मथलो बनाएर दौडमा सक्रिय छन् । म्याराथनमा आफ्नो सहभागिताले आफ्नो देश नेपालसँगै धरानको नाम राख्न सकेको उनी बताउँछन् । भन्छन्, ‘सिक्स वल्र्ड म्याराथन मेजर्स’मा सहभागी राष्ट्रहरूको नामावलीमा नेपालको झन्डाको अगाडि शून्यबाट एक भएकोमा खुसी छु । त्यसमा पनि मेरो प्रतिनिधित्वले झनै गर्विलो महसुस हुन्छ ।’ उनले अन्य दर्जनभन्दा बढी म्याराथनमा पनि सहभागी जनाइसकेको बताए । 

समाजसेवाका लागि दौड 

सन्तोष राई ‘धरान रन’ र ‘नेवा च्यारिटी टेन के रन’का संस्थापक हुन् । धरानको हरियालीमा प्रत्येक शनिबार बिहान तीन किलोमिटर दौड हुन्छ । दौडमा ६० वर्षका वृद्धदेखि सात वर्षका बालकसमेत सहभागी हुन्छन् । सन् २०११ देखि सुरु भएको ‘धरान रन’मा करिब तीन सयदेखि चार सयजनाले भाग लिने गरेको धरान रनका अध्यक्ष रोमु राई बताउँछन् । नियमित २० पटक सहभागी हुने व्यक्तिलाई ‘धरान रन’को टिसर्ट र २५ पटक सहभागीलाई जुत्ता उपहार दिने गरिएको छ । 

प्रत्येक हप्ता धरान रन सञ्चालन गर्नका लागि करिब आठ हजार खर्च हुन्छ । धरान रनको सहयोगका लागि ‘नेवा च्यारिटी गार्मेन्ट’ सञ्चालनमा रहेको अध्यक्ष रोमु राई बताउँछन् । अध्यक्ष राईका अनुसार गार्मेन्टमा हङकङ र युकेबाट एकपटक प्रयोग गरेका कपडा संकलन गरेर पठाइन्छ । ती कपडा सस्तो मूल्यमा बिक्री गरिएको रकमले धरान रन सञ्चालन भइरहेको उनले बताए । हरेक हप्ता दौडस्थलमा स्वयंसेवक स्वतस्फूर्त खटिन्छन् । 

त्यस्तै, सन्तोषले छोरी नेवाको नाममा खोलेको ‘नेवा च्यारिटी टेन के रन’ले विभिन्न असहाय व्यक्तिको सहयोग गर्दै आएको छ । हरेक वर्ष अंग्रेजी मार्च महिनामा धरानमा नै हुने दौडले अहिले असहाय बालबच्चाको शिक्षा र स्वास्थ्यका लागि सहयोग गर्दै आएको छ । नेवा च्यारिटी एट के रनबाट अन्तर्राष्ट्रिय मापदण्ड पु¥याउँदै नेवा च्यारिटी टेन के बनाइएको छ । 

नेपालकै ठूलो म्याराथनका संस्थापक

‘नेवा च्यारिटी टेन के रन’ नेपालकै ठूलो दौड प्रतियोगिता हो । गत ९ मार्चमा भएको प्रतियोगितामा नेपालका विभिन्न जिल्ला र भारतका बैंगलोर, कालेम्पोङ, सिक्किम, ग्यान्टोकलगायतबाट ३५ सय धावकले सहभागी जनाए । बढ्दो सहभागीलाई सीमित गर्दै अब संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने संस्थापक सन्तोष राई बताउँछन् । आगामी वर्ष निश्चित समय र संख्यामा दर्ता फाराम वितरण गर्ने योजना छ । भन्छन्, ‘हामीले यसलाई ठूलोभन्दा पनि स्तरीय बनाउने जमर्को गरेका छौँ । हामीले दौडने रुटमा सहभागीको सुरक्षा पनि हुनुपर्छ । त्यसैले सीमित संख्यामा तर स्तरीय दौड प्रतियोगिता गर्नेछौँ । अन्तर्राष्ट्रिय मापदण्डको बनाउँछौँ ।’ उनी यस्ता प्रतियोगिताहरू अन्य सहरमा पनि भइरहनुपर्ने मान्यता राख्छन् । 

सन्तोष मात्र होइन, उनका परिवारका सबै सदस्य दौडन्छन् । दुई छोरी र श्रीमती विभिन्न दौड प्रतियोगितामा सहभागी हुन्छन् । रोगले शारीरिक अपांगता बनाए पनि छोरी नेवासमेत दौडन सक्ने उनले बताए ।

नेवा च्यारिटी रनबाट संकलित रकमले धेरै असहायलाई सहयोग गरिसकेको संस्थापक सन्तोष राईले बताए । शारीरिक रूपमा अशक्त रहेकी कवि लक्ष्मी राईलाई आवास निर्माण, पुस्तक प्रकाशन तथा कोष स्थापना गरिदिएको छ । एचआइभी संक्रमित बालबालिकालाई सहयोग गरेको छ । हाल पूर्वका विभिन्न सामुदायिक विद्यालयमा १७ बालबालिकालाई पढाइरहेको छ । त्यस्तै, सिरहाको एक स्कुलमा डेस्क–बेन्च वितरण गरिएको जानकारी दिए ।

गत ९ मार्चमा ‘आरती स्ट्रिप्स सातौँ नेवा च्यारिटी टेन के रन’ शिक्षाका लागि दौड नारासहित सम्पन्न भएको छ । दौडमा नेपालका जुम्ला, अछाम, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुरलगायत प्रदेश नम्बर १ का सबै जिल्लाबाट दौडमा सहभागी भएका थिए । त्यस्तै, भारतको बैंगलोर, कालेम्पोङबाट समेत सहभागिता जनाएका थिए । करिब तीन हजारजनाले दौड पूरा गरेको राईले बताए । 

सन्तोषले भक्तपुरको क्यान्सर अस्पतालमा क्यान्सर लागेका बालबालिकाका लागि कोष स्थापना गर्ने जानकारी दिएका छन् । हाल एक लाख ३० हजारको कोष स्थापना गर्ने र अन्य मनकारीहरूलाई जोड्दै लाने योजना रहेको जानकारी दिए । 

 भावनाले जोडिएको खेलकुद

सन्तोष भन्छन्, ‘मैले जे सुरु गरेँ, त्यो भावनामा बहकिएर गरेँ । नाम कमाउने, चर्चा कमाउनेजस्ता केही उद्देश्य थिएन । तर, अहिले धरान रन र नेवा च्यारिटी टेन के रनको चर्चा भइरहेको छ । खुसी छु ।’ छोरी बिरामी हुँदा स्वास्थ्यको महत्व बुझेका राईले स्वास्थ्य नै जीवन हो भन्ने मान्यता राख्दै सुरुवात गरेको काम बिस्तारै चर्चित हुँदा खुसी व्यक्त गर्छन् । अहिलेका धेरै स्वास्थ्यप्रेमी सबै उमेर समूहका नागरिक धरान रन अथवा नेवा च्यारिटी टेन के रनबारे धेरै जानकार रहेको दाबी गर्छन् । भन्छन्, ‘भावनामा बहकिएर जुन उद्देश्य लिएर सुरु गरेँ, त्यो बिस्तारै पूरा हुँदै छ । थप योजना बन्दै छन् । धेरैको स्वास्थ्य, शिक्षामा सहयोग गर्न सकिएको छ ।’ 

उनी धरान रनमा धेरै टाढादेखि सहभागी हुन आउनेभन्दा पनि आफ्नै सहर अथवा ठाउँका दौडिऊन भन्ने चाहना राख्छन् । अहिले धरान रनजस्तै पोखरामा बी थर्टिन, भोजपुर रन, दमक रन सुरु भइसकेको छ । उनको बुझाइमा नेपाली जनता स्वस्थ हुनु भनेको देशको अर्थतन्त्र पनि बलियो हुनु हो । भन्छन्, ‘हामी औषधिका नाममा, उपचारका नाममा अर्बौं रुपैयाँ विदेशीलाई दिन्छौँ । हामी स्वस्थ हुने हो भने त्यो रकम देश विकास, शिक्षाजस्ता अनिवार्य चिजहरूमा लगानी गर्न सक्छौँ ।’