मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ७ मंगलबार १०:०१:००
Read Time : > 3 मिनेट
सेयर बजार

साेमबार नेप्से घट्यो, कारोबार रकम बढ्यो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ७ मंगलबार १०:०१:००

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ६९ प्रतिशत घटेर बन्द भएको छ । नेप्से ओरालो लागे पनि यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । आर्थिक वर्षको अन्त्य नजिकिएसँगै सरकारी खर्चमा वृद्धि हुन थालेपछि बजारमा तरलता सहज भएको छ । फलस्वरूप, बजारमा कारोबार रकम बढेको हो । तेस्रो त्रैमासको वित्तीय विवरणपछि अब लगानीकर्ताहरू बजेटको पर्खाइमा रहेका छन् । लगानीकर्ताले आगामी आर्थिक वर्षको बजेटबाट पुँजीबजारमैत्री नीति आउने अपेक्षा गरेको एक लगानीकर्ताले बताए । सरकारले पुँजीबजारमैत्री नीति ल्याए बजारले आगामी दिन गति लिने उनको भनाइ छ । पुँजीबजार विस्तार र विकासका नीति आउने अपेक्षामा लामो समयदेखि ‘पर्ख र हेर’को रणनीति अपनाएर बसेका लगानीकर्ता बजार प्रवेश गरेको एक ब्रोकरले बताए । यसका साथै कम्पनीहरूले प्रकाशित गरेको नाफामूलक वित्तीय विवरणले लगानीकर्ताको मनोबल बढाएको उनको भनाइ छ । 

बजार सारांश :

सोमबार नेप्से परिसूचक ९ दशमलव १३ अंक घटेर १ हजार ३ सय ७ दशमलव ७१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ९९ अंक घटेर २ सय ७९ दशमलव ८० बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ६८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५१ अंक घटेको छ । यस दिन १ सय ७२ कम्पनीको १२ हजार ९ पटकको कारोबारमा १ अर्ब २२ करोड ५ लाख ७ हजार ४ सय ८५ रुपैयाँबराबरको ३३ लाख ९८ हजार ६ सय ८० कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण

आरएसआई : नेप्सेको आरएसआई यस दिन ६६ दशमलव शून्य ४ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ४१ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७२ कम्पनीमध्ये ४४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय ७ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २१ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा, भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार ३ सय दशमलव ५८ बिन्दुमा पाउने देखिन्छ । सो टेवाबिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार २ सय ९३ दशमलव ४६ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार ३ सय १९ दशमलव १२ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार ३ सय ३० दशमलव ५४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

५ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढ्यो

बजार ओरालो लागे पनि यस दिन ५ कम्पनीहरूको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टीपर्पोज फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, बेस्ट फाइनान्स कम्पनी र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको हो । कारोबारमा आएको बुटवल पावर कम्पनीको सेयरमूल्य यस दिन ५ दशमलव ६८ प्रतिशत बढेको छ । पाँचथर पावर कम्पनी र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन क्रमशः ७ दशमलव ७६ प्रतिशत र ७ दशमलव २५ प्रतिशत घटेको छ । त्यसैगरी, शिवम् सिमेन्ट्स र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ५ प्रतिशत घटेको छ । 

 ९ समूहको परिसूचक घट्यो

यस दिन कारोबारमा आएका ११ समूहमध्ये ९ समूहको परिसूचक घटेको छ भने २ समूहको परिसूचक बढेको छ । जलविद्युत् समूहको परिसूचक यस दिन १ दशमलव ३९ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ३७ प्रतिशत बढेको हो । वित्त समूहको परिसूचक यस दिन सर्वाधिक ३ दशमलव १६ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक २ प्रतिशत, उत्पादनमूलक समूहको १ दशमलव ९१ प्रतिशत, म्युचुअल फन्ड समूहको १ दशमलव ८७ प्रतिशत, जीवन बिमा समूहको १ दशमलव २८ प्रतिशत, विकास बैंक समूहको १ दशमलव २६ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ११ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ६२ प्रतिशत र होटेल समूहको शून्य दशमलव २२ प्रतिशत घटेको छ ।

 काबेलीको बोनस हितग्राही खातामा

काबेली विकास बैंक लिमिटेडले ३५ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको छ । बैंकले पुस १२ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको खातामा सो बोनस सेयर जम्मा गरेको हो । २८ पुस ०७५ मा सम्पन्न बैंकको वार्षिक साधारणसभाले सो बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

 २ कम्पनीको हकप्रद स्वीकृत

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जेठ ५ गते २ कम्पनीहरूलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको छ । बोर्डले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र मल्टीपर्पोज फाइनान्स कम्पनीलाई सो अनुमति दिएको हो । जनउत्थानले १ बराबर १ अनुपातमा ३५ लाख ८५ हजार २ सय ६४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । त्यसैगरी, मल्टीपर्पोजले १ बराबर ८ दशमलव ६४४६९ अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

हिमाल दोलखाको आइपिओ

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १४ गतेदेखि आयोजनाप्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका १६ लाख कित्ता निष्कासन गर्न लागेको हो । 

निष्कासन बन्द छिटोमा जेठ २८ गते हुनेछ भने ढिलोमा असार १३ गते हुनेछ । कम्पनीले अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ का बासिन्दाहरू तथा आयोजनाप्रभावित क्षेत्र इलाम जिल्लामा स्थायी बसोवास गर्ने नेपाली नागरिकहरूका लागि सो सेयर निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

स्थानीय बासिन्दाले लक्ष्मी बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकका इलाम शाखा कार्यालय, आयोजना स्थल, इलाम र नेपाल धितोपत्र बोर्डबाट आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनी आइपिओ ग्रेड फोर रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । यस कम्पनीअन्तर्गतको ४ दशमलव ५ मेगावाटको माई खोला साना जलविद्युत् आयोजनाको कुल लागत ७२ करोड ५१ लाख रहेको छ भने ८ मेगावाटको माई खोला क्यासकेट जलविद्युत् आयोजनाको १ अर्ब ४२ करोड रहेको छ ।