१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ जेठ ७ मंगलबार ०९:०९:००
Read Time : > 4 मिनेट
फिचर

मिस नेपालदेखि मेरीबास्सैसम्म चम्सुरी

Read Time : > 4 मिनेट
२०७६ जेठ ७ मंगलबार ०९:०९:००

खास नाम– पल्पसा डंगोल । तर, काँचको पर्दामा भने चम्सुरी । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तो नाममा के छ ? तर, पल्पसाका लागि भने नाम नै ‘सबकुछ’ हो । त्यो पनि असली होइन, पात्रको नाम– चम्सुरी । यो परिचित नामको पछाडि कतै नागरिकता र पासपोर्टमा लुकेको छ– पल्पसा डंगोल ।

पहिला पल्पसालाई ग्ल्यामर फिल्डमा कुनै रुचि थिएन । उनको मात्र एउटा ध्येय थियो, राम्रो डान्सर बन्ने । अरूको तुलनामा रूपमा पनि आफूलाई उति सुन्दर देख्दिनथिन्, उनी । काठमाडौंको कीर्तिपुरमा जन्मिएकी, ड्रेसअप, बोली, हिँडाइमा खासै केही नवीनता थिएन । न त फेसनबारे थाहा थियो । कीर्तिपुरका नागबेली बाटामा मान्छे जसरी हिँड्थे, बोल्थे र लाउँथे, त्योभन्दा कत्ति पनि फरक थिइनन्, उनी ।

भर्खरै एसएलसी दिएर डान्स सिक्नका लागि डान्स सेन्टर भर्ना भएकी पल्पसाले मिस नेपालको फर्म खुलेको थाहा पाइन् । फर्म हेरिन् । ‘फर्म भर्न मन लाग्यो,’ उनले सम्झिइन्, ‘अनि भरिदिऊँ न त भनेर भरेँ ।’ त्यो वेला याक एन्ड यति होटेलमा भएको थियो सेलेक्सन । उनलाई आफू छनोट हुन्छु भन्ने लागेको थिएन रे । आफूभन्दा राम्रो व्यक्तित्व र सुन्दरता भएका युवतीको लाम थियो । जसोतसो अन्तर्वार्ता दिएर उनी लागिछन्, चितवनतिर । उनलाई तेस्रो दिन फोन आयो, ‘तपाईं छनोट हुनुभयो ।’ सोच्दै नसोचेको समाचार सुन्दा त एकछिन अचम्ममा परिन् । ‘त्यो खबर सुनेपछि त मलाई त्यतिवेलै मिस नेपाल जितेजस्तो फिल भएको थियो,’ उनले सुनाइन् ।

१५ दिन ट्रेनिङ गरिन् । डेढ सयजनाबाट शीर्ष २० मा आइपुग्नु नै ताज जितेजस्तो लागिरहेको थियो, उनलाई । हुँदाहुँदै उनी मिस नेपालको टप फाइभमा पो पुगिन् । त्यति मात्रै हो र, बेस्ट ड्रेसको अवार्ड पनि जितिन् । सन् १९९५ तिर फर्कंदै उनी बोलिन्, ‘मलाई त यी दुवैको कुनै आस नै थिएन ।’ 

सबै घटना उनले सोचेभन्दा एकदम फरक तरिकाले भइरहेको थियो । आफैँलाई पत्यार नलागिरहेका घटना आँखैअगाडि घटिरहेका थिए । आफूले पत्तो नपाएका आफूभित्रको कुरा एक–एक गरेर खुलिरहेका थिए । जसले पल्पसालाई अचम्मित त पारिररहेका थिए, साथै रोमाञ्चकता पनि भरिरहेका थिए । भन्छिन्, ‘त्यही १५ दिनको ट्रेनिङ र बेस्ट ड्रेस अवार्डका कारण नै म अहिलेको स्थितिमा छु ।’ 

अनि मिस नेपाल जितेको भए ? अपेक्षा नै नभएका सफलता हात लागिरहेका वेला अन्य कुरा सोच्ने फुर्सद उनलाई थिएन । भन्छिन्, ‘यदि जितेको भए बाउन्ड्री हुन्थ्यो, कतै जान पाउँदिनथेँ ।’ टाइटल नजितेकै कारण अहिलेको अवस्थामा आइपुगेको हो भनेर उनको आत्माले सधैँ भनिरहन्छ रे । त्यो वर्षको मिस नेपालको शीर्ष उपाधि सुमी खड्काले जितेकी थिइन् ।

मिस नेपालमा भिडेपछि

मिस नेपालमा शीर्ष पाँच सोच्दै नसोचेको कुरा थियो, पल्पसाका लागि । त्यसपछि उनी सोच्दै नसोचेको यात्रामा पनि हिँड्न थालिन् । उनलाई कहिल्यै लाग्दैनथ्यो रे– म अभिनय गर्न सक्छु । एउटा कुशल नृत्यांगना बन्ने क्षमता भने ममा छजस्तो सोच्थिन् उनी । त्यतिवेला उनी नृत्य निर्देशक राजु शाहसँग डान्स सिकिरहेकी थिइन् । नृत्यांगना बनेर हिँड्न थालिन् । त्यो समय शीतल साँझ भन्ने प्रोग्राम हुन्थ्यो, जहाँ उनी डान्स गर्थिन् ।

१३ वर्षसम्म मेरीबास्सैमा टिक्नुका पछाडि दर्शकको प्रेम नै प्रमुख कारक तत्व लाग्छ, उनलाई । भन्छिन्, ‘म निर्देशक होइन, कलाकार मात्र हो । त्यही कारण पनि मेरीबास्सैमा टिकेकी छु ।’ हुन त कहिलेकाहीँ चित्तदुखाइका घटना नभएका भने होइनन् ।

बिस्तारै समय घर्किंदै गयो । पल्पसाले आफ्नो क्षेत्र विस्तार गर्दै लगिन् । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठहरूसँग कार्यक्रममा नृत्य गर्न थालिन् । भन्छिन्, ‘उहाँहरू कमेडी गर्नुहुन्थ्यो, म भने डान्स गर्थें ।’ पछि दमन रूपाखेती, जितु नेपालहरूसँग संगत हुन थाल्यो । उनीहरू कमेडी, पल्पसा नृत्य । नृत्य सिकेको ठाउँमा अभिनयको अफर आउँदा राजु शाहले उनैलाई पठाउँथे । भन्छिन्, ‘सुरुमा हर्बलको एडमा एउटा केटी डाक्टर चाहिएको रहेछ, राजु सरले मलाई पठाउनुभयो ।’ बिस्तारै ‘श्रीमान्–श्रीमती’ ‘भरोसा’, ‘प्रतिद्वन्द्वी’, ‘मिस्टर फन्टुस’ लगायत टेलिसिरियलमा उनले अभिनय गरिन् । 

सुत्केरीमा मेरीबास्सै 

पल्पसा सुत्केरी थिइन् । सुत्केरी हुँदा त्यति टिभी हेर्न पनि नपाइने । अचानक एक दिन टिभी खोलिन् । दमन रूपाखेतीले बनाएको ‘मेरीबास्सै’ आयो । चार भाग पुगिसकेको थियो । पल्पसाले सोचिन्, ‘ए, दमनले नयाँ टेलिसिरियल बनाएछ ।’ 

यतिकै बसिरहेकी थिइन् । सुत्केरी मान्छे, छोरीको ख्याल गर्नुपर्ने । अचम्म ! मेरीबास्सै हेरेको भोलिपल्टै उनलाई दमनको फोन आयो । दमनले उनलाई मेरीबास्सैमा खेल्नका लागि अफर गरे । पल्पसाले भनिन्, ‘भाइ, म सुत्केरी छु, कसरी खेल्नु र ।’ दमनले त्यस्तै पात्र चाहिएको र एक इपिसोड गरेर हेरौँ भन्ने प्रस्ताव गरे । अनि गइन् मुला सागको श्रीमती चम्सुरीको भूमिका निर्वाह गर्न । ‘त्यतिखेर ३८ दिनकी छोरी छाडेर सुटिङ गर्न गएँ,’ उनले भनिन्, ‘आखिर मलाई चम्सुरी बन्न लेखेको रैछ ।’ 

सिरियल अलिअलि गरेको भए पनि पल्पसालाई कमेडी के हो भन्ने थाहा थिएन रे । तर पनि जसोतसो आफूले पाएको भूमिका निर्वाह गरिन् । भन्छिन्, ‘तर, अहिले यहाँसम्म आइपुग्दा अभिनय त नशाजस्तो भएको छ ।’ अहिले त मेरीबास्सैले ६ सयभन्दा ज्यादा भाग पूरा गरिसकेको छ । मेरीबास्सै सुरु भएको पनि १३ वर्ष पुगिसक्यो । १३ वर्षको अन्तरालमा धेरैले मेरीबास्सै छाडे, धेरै मेरीबास्सैमा आए । मेरीबास्सैमा १३ वर्षदेखि रहेका दुईजना मात्र छन् अहिले । जो हुन, दाह्री बा र चम्सुरी । 

सोच्दै नसोचेको सफलताको सामना गरेकी पल्पसाका लागि मेरीबास्सै यस्तो सञ्जीवनी बुटी भइदियो, जसका कारण नै उनलाई सबैले चिन्छन् । स्टेज प्रोगाम पनि मेरीबास्सैका कारण पाउँदै गइन् । अहिले त उनलाई लाग्छ, ‘मेरीबास्सैका कारण नै म अहिलेको अवस्थामा छु ।’ 

१३ वर्षसम्म मेरीबास्सैमा टिक्नुका पछाडि दर्शकको प्रेम नै प्रमुख कारक तŒव लाग्छ, उनलाई । भन्छिन्, ‘म निर्देशक होइन, कलाकार मात्र हो । त्यही कारण पनि मेरीबास्सैमा टिकेको छु ।’ हुन त कहिलेकाहीँ चित्तदुखाइका घटना नभएका भने होइनन् । चित्त दुखे पनि सहेर काम गरेका कारण अहिलेसम्म आफू रहेको बताउँदै उनी बोलिन्, ‘म र दाह्री बा सहन सक्ने भएका कारण र दर्शकको मायाले पनि टिकेका हौँ ।’

जस्तोसुकै कुरा भए पनि आफूमा सहनशीलता रहेको उनी बताउँछिन् । कहिलेकाहीँ त आफ्नो यो बानी सम्झेर खुसी पनि हुन्छिन् । झनक्क रिस उठ्दा पनि सहेर बस्न सक्ने क्षमता उनमा रहेछ । भन्छिन्, ‘कलाकारिता गर्नु नै छ । नाम र दाम दिएको यही मेरीबास्सैका कारण हो भने सानोतिनो कुरामा किन कम्प्रोमाइज नगर्ने त ! रोल सानो हुँदा पनि खेलिरहेँ । सबैले छाडेर गए, मैले मेरीबास्सै खेलिरहेँ ।’

अभिनय, परिवार र व्यवसाय 

पल्पसाकी जेठी छोरी अहिले ११ कक्षामा पढ्छिन् । छोरीलाई देख्दा सन् १९९५ को वर्ष पल्पसाको आँखामा झलझली आउँछ । फर्म भरेको, छनोट भएको, शीर्ष पाँचमा पुगेको, बेस्ट ड्रेसको अवार्ड जितेको । यी सबै कुरा छोरीजस्तै हुँदा गरेकी थिइन् । अहिले पल्पसाका लागि त्यो समय धेरै अगाडिको विगत भइसक्यो, अलि धमिलो हुँदै गएको विगत । छोरीलाई देख्दा कहिलेकाहीँ स्मृतिको बाटो भएर त्यता पुग्छिन् । ती दिन जीवित नै छजस्तो लाग्छ, उनलाई ।

मेरीबास्सैको सुटिङमा जाँदा उनी जहिल्यै ढिला पुग्थिन् । गाली पनि खान्थिन् । अहिले पनि भन्छन्, ‘सुरुदेखि अहिलेसम्म पल्पसा सुटिङमा ढिला आउँछे ।’ छोरीलाई स्कुल नपठाएसम्म सुटिङमा निस्कन्नथिन् । अहिले छोरीहरू हुर्केकाले केही सहज भएको बताउँछिन्, उनी । पहिले उनले पाँचवटा स्कुलसम्म भ्याउँथिन्, डान्स सिकाउन । एउटा स्कुलमा त अहिले पनि गरिरहेकी छिन् । भन्छिन्, ‘मैले त्यहाँ काम गरेको १७ वर्ष भइसक्यो ।’ 

अहिले उनको आफ्नै रेस्टुरेन्ट छ, नेपाली भोजन । त्यहीँ विदेशीलाई कल्चरल डान्स सिकाउँछिन् । तैपनि, उनको आफ्नो जीवनप्रति केही गुनासा छन् । पहिलो कुरा त आफूले रमाइलो गर्ने, कतै गएर रमाउने कुरा सोच्नै नपाएकोमा उनको दुखेसो छ । आफू जहिल्यै हतारमा । 

भन्छिन्, ‘स्कुलको लन्च ब्रेकमा पनि दौडेर घर पुग्थेँ ।’ प्रोग्रामका लागि जतिवटा देश गइन्, प्रोग्राम नभएसम्म प्रोग्रामको तयारी, प्रोग्राम सकिएपछि थकान । कहिल्यै आरामले घुम्न नपाएकोमा आफैँलाई दिक्दार लाग्ने गरेको सुनाउँछिन्, उनी । भन्छिन्, ‘अब भने आफ्ना लागि पनि समय छुट्याउने योजनामा छु । के गर्नू, अहिलेसम्म सधैँ दौडधुपमा मात्र परिरहेकी छु ।’