१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २४ सोमबार ०२:०५:००
Read Time : > 1 मिनेट
सेयर बजार

अनलाइन प्रणाली सुरु : करिब १ प्रतिशत बढ्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २४ सोमबार ०२:०५:००

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ । बैंकहरूले ब्याजदर बढाए पनि नेप्सेले पूर्ण अनलाइन प्रणाली सञ्चालनमा ल्याएपछि बजारले सकारात्मक दिशा लिएको छ । अब लगानीकर्ताले आफ्नै हातले अनलाइनमार्फत सेयर खरिदबिक्री गर्न सक्ने भएको नेप्सेले बताएको छ । अनलाइनमार्फत कारोबार गर्न लगानीकर्ताहरूलाई युजरनेम र पासवर्डको आवश्यकता पर्दछ । लगानीकर्ताले ब्रोकरसँग कारोबारसम्बन्धी सम्झौता गर्नुपर्नेछ ।

सो सम्झौतापश्चात मात्र लगानीकर्ताहरूले अनलाइनमार्फत कारोबार गर्न सक्नेछन् । नेप्सेले पनि अनलाइन प्रणाली कसरी प्रयोग गर्ने भन्ने तालिम सञ्चालन गरिरहेको बताएको छ । यस दिन लगानीकर्ताहरूले पहिले आधा घन्टा बजारको गतिविधि हेर्न पाएनन् । बजार खुलेको आधा घन्टासम्म अघिल्लो कारोबार दिनकै विवरणहरू साइटमा देखिएको थियो । आधा घन्टापछि मात्र नेप्सेको साइट अपडेट भई यस दिनको कारोबार विवरण आएको थियो । यद्यपि, यस दिन बजार सकारात्मक नै रह्यो । सेयर लगानीकर्ता दबाब समूहले यस दिनदेखि १० बुँदे माग राख्दै अनसन थालेका छन् । पुँजीबजारको विकास र लगानीकर्ताको सम्पत्तिको सुरक्षाका लागि सो समूहले अनसन थालेको बताएको छ ।

नेप्से परिसूचक यस दिन १० दशमलव ८५ अंक बढेर १ हजार १ सय ३१ दशमलव ७० बिन्दुमा बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ६८ बढेर २ सय ४१ दशमलव शून्य २ बिन्दुमा पुगेको छ । यस दिन १ सय ५५ कम्पनीको २ हजार ९ सय ६५ पटकको कारोबारमा २२ करोड ३७ लाख २४ हजार ६ सय ८७ रुपैयाँबराबरको ७ लाख १४ हजार ६ सय १८ कित्ता सेयर खरिदबिक्री भएको छ । लामो समयदेखि ओभरसोल्ड जोनमा रहेको नेप्सेको १४ दिने आरएसआई यस दिन न्युट्रल जोनमा पुगेको छ । ३१ दशमलव ७७ स्केलमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । यस दिन सो वाणिज्य बैंकको २ करोड ७७ लाख ४० हजार रुपैयाँबराबरको ९४ हजार ५ सय ६८ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ६६ पटक सेयर किनबेच भएको छ । मिर्मिरे लघुवित्त, बरुण हाइड्रोपावर कम्पनी र एनआइसी एसिया बैंकको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी बढेको छ । मिर्मिरे लघुवित्तले २४ प्रतिशत, एनआइसी एसियाले १० प्रतिशत र बुटवल पावर कम्पनीले १० प्रतिशत बोनस सेयर घोषणा गरेका कारण यी कम्पनीहरूतर्फ लगानीकर्ता आकर्षित भएका हुन् ।

लक्ष्मी इक्विटी फन्डको इकाइमूल्य यस दिन ७ दशमलव ४४ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ५५ कम्पनीमध्ये यस दिन ८८ कम्पनीको सेयरमूल्य बढेको छ भने ५० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । आइतबार कारोबारमा आएको वित्त र उत्पादनमूलक समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन वार्षिक बैंकको परिसूचक सर्वाधिक १ दशमलव ३७ प्रतिशत बढेको छ ।

त्यसैगरी, जलविद्युत् समूहको शून्य दशमलव ९७ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ९२ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ८६ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ८१ प्रतिशत, अन्य समूहको शून्य दशमलव ५७ प्रतिशत, होटेल समूहको शून्य दशमलव ५१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ४ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव १३ प्रतिशत बढेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ४६ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

#नेप्से