
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिने भएका छन्। प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरे पनि प्रतिपक्षी दलका सांसदहरू उपस्थित नभएपछि साेडारीले केहीबेरमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गर्न लागेका हुन् ।
प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्रीको तयारी थियो। तर, नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलले सदन बहिष्कार गरेका छन्।प्रतिपक्षको बहिष्कारपछि अपराह्न ४ बजे बोलाइएको बैठक अझै बस्न सकेको छैन ।
एमाले संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले आफूहरू मुख्यमन्त्रीको भाषण सुन्न सदनमा नगएकाे बताए। ‘यसअघि सरकारबाट कोही सहभागी नहुँदा सदनको विशेष अधिवेशनको बैठक चल्न सकेन,’ उनले भने, ‘सरकारलाई चाहिएका वेला मात्र हामी सदनमा उपस्थित हुँदैनौँ।’
गत २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा छन् । सत्तासाझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्ने आज अन्तिम दिन हो ।