१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार ११:१९:००
Read Time : > 4 मिनेट
सेयर बजार

सामान्य अंक घट्यो नेप्से : कारोबार रकम १ अर्बभन्दा बढी

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार ११:१९:००

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । बजार ओरालो लागे पनि कारोबार रकम भने १ अर्ब नाघेको छ । अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका कारण बजारमा सामान्य करेक्सन भएको हो । तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा लगानीकर्ता नयाँ रणनीति बनाई बजारमा सेयर खरिद–बिक्री गरिरहेका छन् ।

धेरै नाफा आर्जन गरेका र धेरै लाभांश क्षमता भएका कम्पनीहरूको सेयर खरिद–बिक्री बढेका कारण कारोबार रकम अर्ब नाघेको एक ब्रोकरले बताए । आर्थिक वर्ष सकिन करिब २ महिना मात्र बाँकी छ । सरकारले आगामी वर्षका लागि कस्तो नीति ल्याउँछ भन्ने अहिले लगानीकर्ताको चासोको विषय बनेको छ । पुँजी बजारमैत्री नीति आए आगामी दिन बजारले नयाँ उचाइ कायम गर्ने उनको भनाइ छ ।

बजार सारांश : आइतबार नेप्से परिसूचक १ दशमलव ८७ अंक घटेर १ हजार ३ सय १६ दशमलव ८४ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ६५ अंक घटेर २ सय ८० दशमलव ७९ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव २२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३ अंक घटेको छ । यस दिन १ सय ७२ कम्पनीको १० हजार ५ सय २५ पटकको कारोबारमा १ अर्ब ९ करोड ३ लाख ४८ हजार २ सय २५ रुपैयाँबराबरको ३२ लाख ८१ हजार १ सय १६ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई ७१ दशमलव ६० स्केलमा पुगेको छ । बजार घटे पनि आरएसआई ओभरबट जोनमा रहनुले बजारमा सेयर खरिद चापको तुलनामा बिक्री बढेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ५३ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ७२ कम्पनीमध्ये ५१ कम्पनीको सेयरमूल्य बढेको छ भने ९५ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २६ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार ३ सय १२ दशमलव १६ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार ३ सय ७ दशमलव ४९ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार ३ सय २१ दशमलव ८८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार ३ सय २६ दशमलव ९३ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 २ कम्पनीको सेयरमूल्यमा  सर्किट ब्रेक
यस दिन कारोबारमा आएका २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यस दिन शिवम् सिमेन्ट्स लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशत बढेर सर्किट लागेको हो । शिवम्को सेयरमूल्य यस दिन ५७ रुपैयाँ बढेर ६ सय २९ मा अन्तिम कारोबार भएको छ भने कर्पोरेटको १० रुपैयाँ बढेर १ सय ११ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

रिलायन्स फाइनान्सको सेयरमूल्य यस दिन ८ दशमलव ५३ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ७ दशमलव ८४ प्रतिशत र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ७ दशमलव ६९ प्रतिशत बढेको छ । विशाल बजार कम्पनी, ग्लोबल आइएमई लघुवित्त, आइएमई जनरल इन्स्योरेन्स, नाडेप लघुवित्त वित्तीय संस्था र राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ । 

 नेपाल बैंकको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । यस दिन सो वाणिज्य बैंकको १ हजार १ सय ५६ पटकको कारोबारमा २२ करोड ६८ लाख १९ हजार रुपैयाँबराबरको ६ लाख ८६ हजार ९८ कित्ता सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, कारोबार संख्याका आधारमा अगाडि रहेको शिवम्को यस दिन १ हजार ७ सय १ पटकको कारोबारमा १८ करोड ७० लाख ९० हजार रुपैयाँबराबरको ३ लाख ६ हजार २ सय ५७ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएको बुटवल पावर कम्पनी र प्रभु बैंकको कारोबार रकम यस दिन ३ करोड नाघेको छ । 

६ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ६ समूहको परिसूचक घटेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन सर्वाधिक ३ दशमलव ७७ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त समूहको परिसूचक शून्य दशमलव ८६ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ५५ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव ३४ प्रतिशत, अन्य समूहको शून्य दशमलव २६ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव २५ प्रतिशत बढेको छ । 

यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ३ दशमलव २१ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक शून्य दशमलव ९८ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ८८ प्रतिशत, होटेल समूहको शून्य दशमलव ५८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ५६ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव ३६ प्रतिशत घटेको छ । 

छिमेकको लाभांश वितरण

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ५ गतेदेखि ४० प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले १८ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको छ भने २२ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत) बैंक खातामा जम्मा गरेको छ । साधारणसभा प्रयोजनका लागि बुक क्लोज मितिसम्ममा अभौतिक सेयर धारण गरेका सेयरधनीको खातामा सो लाभांश जम्मा गरिएको हो । कम्पनीले साधारणसभाका लागि वैशाख १६ गते बुक क्लोज गरेको थियो । वैशाख ३० गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सो लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

नेपाल एग्रो र गणपतिको कारोबार सुरु

धितोपत्रको दोस्रो बजारमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको कारोबार आइतबारदेखि सुरु भएको छ । पहिलो कारोबारका लागि नेप्सेले नेपाल एग्रोको मूल्य रेन्ज १ सय ३ दशमलव ४८ देखि ३ सय १० दशमलव ४४ रुपैयाँसम्म तोकेको छ । कम्पनीको स्टक सिम्बोल एनएजिआरओ तोकिएको छ । त्यसैगरी, गणपतिको पहिलो कारोबारका लागि ७८ दशमलव ९ रुपैयाँदेखि २ सय ३६ दशमलव ७२ रुपैयाँसम्मको रेन्ज तोकिएको छ । कम्पनीको स्टक सिम्बोल जिएमएफबिएस रहेको छ । यी दुवै कम्पनीहरूले गत बिहीबार नेप्सेमा सेयर सूचीकृत गरेको थियो । 

६२ प्रतिशत घट्यो नाडेपको नाफा

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिसम्ममा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ६२ दशमलव २१ प्रतिशत घटेर १ करोड ६८ लाख ६१ हजार पुगेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४ करोड ४६ लाख १५ हजार रहेको थियो । कम्पनीको खराब कर्जा बढेपछि नाफा घट्न दबाब पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा बढेर ४ दशमलव ३८ प्रतिशत पुगेको छ । गत आवको चैत मसान्तसम्ममा कम्पनीको खराब कर्जा २ दशमलव २ प्रतिशत रहेको थियो । सो अवधिसम्ममा कम्पनीले ५ करोड २८ लाख ५५ हजार रुपैयाँ सम्भावित जोखिमबापतको व्यवस्थाका लागि छुट्याएको छ । 

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी करिब ३ गुणा बढेर ३२ करोड पुगेको छ । गत आवको चैत मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ११ करोड २० लाख रहेको थियो । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ९४ दशमलव ३४ प्रतिशत बढेर २२ करोड ४८ लाख पुगेको छ । सो अवधिसम्ममा कम्पनीले १ अर्ब ५ करोड ६४ लाख निक्षेप संकलन गरी ३ अर्ब ६९ करोड ६७ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको निक्षेप गत आवको सोही अवधिको तुलनामा ३४ दशमलव ८३ प्रतिशत बढी हो भने कर्जा ३४ दशमलव शून्य ३ प्रतिशत बढी हो ।