Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका 
२०७६ जेठ ५ आइतबार ११:०६:००
Read Time : > 1 मिनेट
अर्थ

कुलमानकाे चेतावनीपछि त्रिशूली ३ बी हब सबस्टेसन निर्माणको अवरोध हट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका 
२०७६ जेठ ५ आइतबार ११:०६:००

त्रिशूली ३ बी २ सय २० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पहिरेबेँसीमा निर्माणाधीन सबस्टेसनमा स्थानीयले विभिन्न माग राख्दै दुई दिनदेखि काम गर्न दिएका थिएनन् । त्रिशूली नदी–किनारमा बनिरहेको सबस्टेसनमा रसुवाको उत्तरगया–४ का शिवप्रसाद भट्टराई, जानुका थापामगरलगायतले निर्माणमा मुख्य अवरोध गरेका थिए । उनीहरूविरुद्ध आयोजनाले जिल्ला प्रशासन तथा प्रहरी कार्यालय नुवाकोट र रसुवामा किटानी जाहेरी दिएको छ । 

घिसिङको चेतावनीपछि खुल्यो अवरोध 

आयोजनाको निर्माणस्थल निरीक्षणका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नाजायज माग राखी नियतवश अवरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिए । उनले त्यहीँबाट नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सुरक्षा व्यवस्थाको प्रबन्ध गरिदिन अनुरोध गरेका थिए । स्थानीय प्रशासनले तत्कालै आयोजनास्थलमा जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन गरिदिएको थियो । सुरक्षाको व्यवस्था भएपछि निर्माणमा खटिएको ठेकेदार कम्पनीले शुक्रबार बिहानैबाट काम सुरु गरेको हो । 

सबस्टेसनको कमान्ड घेर्न लगाएको पर्खाल स्थानीयले सार्न माग गरेका थिए । आयोजनाले रसुवातर्फ रहेको खेतीयोग्य जग्गा तथा बस्ती जोखिममा पर्न नदिन पर्खाल लगाइदिएको बताएको छ । अवरोध गर्ने भट्टराईकै नेतृत्वमा उक्त पर्खाल लगाइएको थियो । सबस्टेसन निर्माणमा पेटी ठेक्का हात पार्न भट्टराईले केही स्थानीयलाई उचालेको घिसिङको जिकिर छ ।

एक वर्षभित्र नबने १६८ मेगावाट खेर जाने 

उक्त सबस्टेसन एक वर्षभित्र बन्न नसके रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था आउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । ‘यसबापत प्राधिकरणले करोडौँ रुपैयाँ पेनाल्टी तिर्नुपर्छ,’ उनले भने, ‘यस्तो महत्वको आयोजनाको काममा अवरोध गर्नुहुँदैन ।’ त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेसनको निर्माण गर्न लागिएको हो ।

आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैंक, युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण रहनेछ । आयोजनाको अनुमानित लागत १ करोड ६० लाख अमेरिकी डलर छ । आयोजनाको निर्माण अगामी पुसभित्र सक्ने लक्ष्य छ ।