१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ५ आइतबार ०९:२३:००
Read Time : > 4 मिनेट
सेयर बजार

नेप्सेमा कम्पनीको वित्तीय विवरणको प्रभाव 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ५ आइतबार ०९:२३:००

गत साता नेप्से परिसूचक बढेको छ । पाँच कारोबार दिनका लागि खुला रहेको बजारमा ४ कारोबार दिन नेप्से उकालो लागेको थियो भने साताको अन्तिम कारोबार दिनमात्र नेप्से ओरालो लागेको थियो । ४ कारोबार दिन उकालो लागेको मौकामा अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेपछि अन्तिम कारोबार दिन नेप्से घटेको हो । गत साताको बजारलाई सूचीकृत कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरणले प्रभाव पारेको छ । 

सूचीकृत कम्पनीले प्रकाशित गरेको नाफामूलक वित्तीय विवरणले लगानीकर्ताको मनोबल बढाएको छ । फलस्वरूप, गत साता बजारले सकारात्मक दिशा लिएको हो । लगानीकर्ता तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा नयाँ रणनीति बनाउने गर्छन् । तेस्रो त्रैमासको नाफा वृद्धिदरलाई आधार मानेर कुन कम्पनीले कति लाभांश वितरण गर्छन् भन्ने विश्लेषण गरी बजारमा सेयर खरिदबिक्री गर्छन् । कम्पनीले नाफामूलक वित्तीय विवरण प्रकाशित गरेका कारण आगामी दिन नेप्सेले सकारात्मक दिशा लिने लगानीकर्ताको अपेक्षा छ । यसका साथै आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने मौद्रिक नीति तथा बजेटले पनि अबका दिनमा बजार प्रभावित हुने एक लगानीकर्ताले बताए । 

गत साता अन्तिम कारोबार दिन नेप्सेले १ हजार २ सय ८० को बलियो प्रतिरोध विन्दु तोडेर उकालो लागेको छ । यसका साथै नेप्से गत साता २ सय दिने मुभिङ एभरेज विन्दुभन्दा माथि पुगेको छ । यसले पछिल्लो ३ वर्षदेखि चलेको डाउनट्रेन्ड अन्त्य भई बजार बढ्ने संकेत गरेको एक प्राविधिक विश्लेषकले बताए । नेप्से बढेसँगै ठूला तथा नयाँ लगानीकर्ता बजार प्रवेश गरेका कारण कारोबार रकममा पनि सुधार भएको उनको भनाइ छ । 

बजार सारांश

गत साता नेप्से परिसूचक २६ दशमलव ७५ अंक बढेर १ हजार ३ सय १८ दशमलव १७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स सो साता ४ दशमलव ९२ अंक बढेर २ सय ८१ दशमलव ४४ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स १ दशमलव ६९ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५५ अंक बढेको छ । सो साता १ सय ८९ कम्पनीको ५० हजार ९ सय २८ पटकको कारोबारमा ४ अर्ब ९४ करोड ९३ लाख ४१ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ६३ हजार ७ सय ४९ कित्ता सेयर खरिदबिक्री भएको छ । 

 शिवमकाे सर्वाधिक कारोबार

गत साता कारोबार रकम र कारोबार संख्याका आधारमा शिवम् सिमेन्ट्स लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको गत साता ६ हजार १३ पटकको कारोबारमा ५३ करोड ११ लाख १४ हजार रुपैयाँबराबरको १० लाख २७ हजार ५ सय ४६ कित्ता सेयर खरिदबिक्री भएको छ । सेयर संख्याका आधारमा भने गत साता नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको गत साता १ हजार ६ सय १२ पटकको कारोबारमा ३७ करोड ३० लाख २९ हजार रुपैयाँबराबरको ११ लाख ८४ हजार ३ सय ८० कित्ता सेयर खरिदबिक्री भएको छन् । 

 १ करोड ९२ लाख कित्ता सेयर सूचीकृत

गत साता ६ कम्पनीले कुल १ करोड ९२ लाख ६८ हजार १ सय ४१ दशमलव ४२ कित्ता सेयर सूचीकृत गरेका छन् । सो सता प्रभु बैंक लिमिटेडले ६५ लाख ८७ हजार १ सय ५८ दशमलव ८२ कित्ता, कृषि विकास बैंकले ५१ लाख ३ हजार १ सय २९ दशमलव ६० कित्ता र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४४ हजार ७५ कित्ता बोनस सेयर सूचीकृत गरेका छन् । त्यसैगरी, नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले ४ लाख ९७ हजार ७ सय ७८ कित्ता र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १० लाख ३५ हजार कित्ता आइपिओ सूचीकृत गरेका छन् भने प्रोग्रेसिभ फाइनान्सले ५९ लाख १ हजार कित्ता हकप्रद सेयर सूचीकृत गरेको छ । 

सर्वाधिक कमाउने शिवम्

गत साता शिवम् सिमेन्ट्स लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । सो कम्पनीको सेयरमूल्य गत साता ३८ दशमलव ५ प्रतिशत बढेर ५ सय ७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य १८ दशमलव १३ प्रतिशत, भार्गव विकास बैंकको सेयरमूल्य १५ दशमलव ७० प्रतिशत र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको सेयरमूल्य १५ दशमलव ३३ प्रतिशत बढेको छ । कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत स्किम १ को इकाइ मूल्य गत साता सर्वाधिक ११ दशमलव ११ प्रतिशत घटेको छ । सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य गत साता १० प्रतिशतको हाराहारीमा घटेको छ । 

११ समूहको परिसूचक बढ्यो

गत साता कारोबारमा आएका १२ समूहमध्ये ११ समूहको परिसूचक बढेको छ भने बाँकी १ समूहको परिसूचक घटेको छ । सो साता उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक २ सय ८३ दशमलव ३१ अंक बढेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ सय ८५ दशमलव शून्य १ अंक, होटेल समूहको ९१ दशमलव ७० अंक, विकास बैंक समूहको ६२ दशमलव ९२ अंक, जलविद्युत् समूहको २८ दशमलव ४६ अंक, अन्य समूहको २२ दशमलव ३१ अंक, वाणिज्य बैंक समूहको १६ दशमलव शून्य १ अंक, म्युचुअल फन्ड समूहको १० दशमलव शून्य ९ अंक, वित्त समूहको ७ दशमलव ४६ अंक, व्यापार समूहको ४ दशमलव ९ अंक र लघुवित्त समूहको १ दशमलव ३४ अंक बढेको छ । गत साता जीवन बिमा समूहको परिसूचक १० दशमलव २६ प्रतिशत घटेको छ ।

प्राविधिक विश्लेषण

आरएसआई : गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ओभरबट जोनमा रहेको छ यसले बजारमा सेयर बिक्री चापको तुलनामा खरिद चाप बढी रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो गत साता १ दशमलव ६० रहेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । सो साता कारोबारमा आएका १ सय ८९ कम्पनीमध्ये १ सय १ कम्पनीको सेयरमूल्य बढेको छ भने ६३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २५ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

गत साताको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट विन्दु १ हजार ३ सय १२ दशमलव २८ रहेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार २ सय ९० दशमलव ४४ विन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार २ सय ६२ दशमलव १७ विन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार ३ सय ४० दशमलव ५५ विन्दुमा पहिलो प्रतिरोध र १ हजार ३ सय ६२ दशमलव ३९ विन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

१ अर्ब नाघ्यो लक्ष्मीको नाफा

चालू आवको चैत मसान्तसम्ममा लक्ष्मी बैंक लिमिटेडले १ अर्ब २ करोड ९६ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ५६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्ममा बैंकले ८६ करोड ११ लाख खुद नाफा आर्जन गरेको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७० करोड ५५ लाख ३६ हजार पुगेको छ । माघदेखि चैत महिनासम्ममा बैंकले ३० करोड ५८ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १ दशमलव ३३ प्रतिशत कम हो ।

५४.६५ प्रतिशत बढ्यो एनबीको नाफा

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नेपाल बंगलादेश बैंकको खुद नाफा ५४ दशमलव ६५ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड १४ लाख खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ७३ करोड ८० लाख रहेको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६० करोड २५ लाख पुगेको छ । बैंकले तेस्रो त्रैमासको ३ महिना अवधिमा ३४ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २८ दशमलव ८७ प्रतिशत बढी हो । गत आवको सोही ३ महिनामा बैंकको यस्तो नाफा २७ करोड १ लाख रहेको थियो । चालू आवको पहिलो ९ महिनामा बैंकको चुक्ता पुँजी ८ अर्ब ८ लाख ८२ हजार पुगेको छ । 

बैंकको जगेडा कोष भने गत आवको सोही अवधिको तुलनामा ६ दशमलव ६१ प्रतिशत बढेर ३ अर्ब ८९ करोड ६ लाख पुगेको छ । बैंकले सो अवधिसम्ममा ५६ अर्ब ६ करोड १५ लाख निक्षेप संकलन गरी ५३ अर्ब २५ करोड २० लाख कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा १६ दशमलव ६७ प्रतिशत बढी हो भने कर्जा २६ दशमलव शून्य १ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी समीक्षा अवधिमा ५० दशमलव ९७ प्रतिशत बढेर २ अर्ब ११ करोड १३ लाख पुगेको छ ।