मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ ४ शनिबार १६:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

लुम्बिनीलाई विश्वकै सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गरौं : राष्ट्रपति भण्डारी

Read Time : > 1 मिनेट
२०७६ जेठ ४ शनिबार १६:५८:००

बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वकै सांस्कृतिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने राष्ट्रपति बिद्यादेबी भण्डारीले बताएकी छन् ।  शनिबार लुम्बिनीमा आयोजित लुम्बिनी भ्रमण वर्ष २०७६ सुभारम्भ तथा २५६३औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्ध चक्रपथ निर्माण गरेर विश्वकै सांस्कृतिक पर्यटकीय स्थलको रुपमा लुम्बिनीलाई विकास गर्नुपर्ने धाराणा राखिन् । 

प्रदेश ५ सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०७६’को लुम्बनीलाई शुभारम्भ गर्दै भण्डारीले लुम्बिनी विश्व शान्तिको मुहान भएकोले यसलाई विकास गर्नुपर्नेमा जोड दिइन् । उनले लुम्बिनी शान्ती, विकास र समृद्धीको आधार भएको उल्लेख गर्दै बुद्धले दिएको शिक्षालाई प्रसारप्रसार गर्नुपर्ने बताइन् ।

लुम्बिनीको विकासका लागि ग्रेटर लुम्बिनीको गुरुयोजना कार्यान्वयन, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणमा तीब्रता, लुम्बिनी विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा स्थापना, हरियाली र जैविक बिविधताको प्रवद्र्धन, मौलिक कला र संस्कृतिको संरक्षण लगायतका विषयमा ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । उनले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा गरिन । लुम्बिनीको विकासले प्रदेश–५ लाई समृद्ध बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्दै लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेकोमा जोड दिईन ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवर्द्धन गर्ने बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनीको काम तीव्र गतिमा हुनुपर्ने उल्लेख गर्दै अन्य बुद्धस्थलको समेत उत्खनन् र तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए ।

प्रदेशका पर्यटनमन्त्री लीला गिरीले प्रदेश नं ५ सरकारले लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताए । कार्यक्रममा लुम्बिनीको प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै आठ जनालाई कदरपत्रले सम्मान गरिएको थियो ।