१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
 श्रीलोचन राजोपाध्याय 
२०७६ जेठ ४ शनिबार ०९:४७:००
Read Time : > 3 मिनेट
खेलकुद

विश्वकपमा पाँच ब्याट्सम्यानका सर्वाधिक रन

Read Time : > 3 मिनेट
 श्रीलोचन राजोपाध्याय 
२०७६ जेठ ४ शनिबार ०९:४७:००

३१ मेमा वेल्स र बेलायतले संयुक्त रूपमा एकदिवसीय विश्वकप आयोजना गर्दै छन् । यसपटकको विश्वकपमा ब्याट्सम्यान र बलरबीच चर्काे प्रतिस्पर्धा हुने छाँटकाँट छ । विश्वकपको पाना पल्ट्याउँदा व्यक्तिगत प्रदर्शनमा इतिहास लेखाउने धेरै छन् । कोही खेलाडीका एकल प्रदर्शन अहिलेसम्म पनि अजेय छन् । रेकर्डकै कुरा गर्दा व्यक्तिगत रनलाई महत्वपूर्ण रूपमा हेरिन्छ । सन् २०१५ को संस्करणमा दुई ब्याट्सम्यानले दोहोरो शतकको इनिङ खेले, जुन विश्वकपमै पहिलोपटक भयो । न्युजिल्यान्डका मार्टिन गुप्तिलले दुई सय ३७ रनको विश्व कीर्तिमानी प्रदर्शन वेस्टइन्डिजविरुद्ध गरे । विश्वकपमा सबैभन्दा पहिलो एक सय ७५ रन बनाउने ब्याट्सम्यान भारतका कपिल देव हुन् । उनले सन् १९८३ को विश्वकपमा जिम्बावेविरुद्ध यो उपलब्धि हात पारेका हुन् । विश्वकपमा पाँच ब्याट्सम्यानका उच्च व्यक्तिगत प्रदर्शन यस्ता छन् :

१. मार्टिन गुप्तिल (न्युजिल्यान्ड) २३७ नटआउट (वेस्टइन्डिजविरुद्ध), २०१५

विश्वकप इतिहासमा न्युजिल्यान्डका ओपनर मार्टिन गुप्तिलको नाममा गज्जबको विश्व रेकर्ड स्थापित छ । उनले विश्वकपमा व्यक्तिगत रन बनाउनेक्रममा दुई सय ३७ रन बनाएका छन् । मार्टिनले यो उपलब्धि सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा बनाएका थिए । आफ्नै घरेलु मैदान विलिङटनमा मार्टिनको ब्याटले धावा बोलेपछि न्युजिल्यान्डले ५० ओभरमा नौ विकेट गुमाएर तीन सय ९३ रनको विशाल योगफल खडा गर्‍यो । वेस्टइन्डिजले पनि आक्रामक रूपमै ब्याटिङ गर्‍यो । तर, न्युजिल्यान्डले दिएको विशाल लक्ष्य वेस्टइन्डिजले भेट्टाउन सकेन र ३०.३ ओभरमा २ सय ५० रनमा अलआउट भयो । खेलका नायक मार्टिनले पूरै इनिङ ब्याटिङ गर्दा एक सय ६३ बलमा ११ छक्का र २४ चौका प्रहार गरेका थिए । सो खेलमा अर्को रमाइलो पक्ष के थियो भने मार्टिन पहिलो ओभरमै क्याचआउट हुनबाट जोगिएका थिए । मार्लोन साम्युल्सको ओभरमा क्वायर लेग अफमा जेरोमी टेलोरले मार्टिनको सहज क्याच मिस गरेका थिए । मार्टिनले एक जीवनदानलाई विश्वकप इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरका रूपमा परिणत गरे । 

२. क्रिस गेल (वेस्टइन्डिज) २१५ रन (जिम्बावेविरुद्ध) २०१५

सन् २०१५ को विश्वकपमा धेरै रेकर्ड बने । यही विश्वकपमा पहिलोपटक दुई ब्याट्सम्यानले दोहोरो शतकीय इनिङ खेले । वेस्टइन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलले विश्वकपमै पहिलो ब्याट्सम्यानका रूपमा दोहोरो शतक जिम्बावेविरुद्ध बनाए । इनिङको पहिलो बलमै वेस्टइन्डिजले ओपनर ड्वाने स्मिथलाई गुमाएको थियो । त्यसपछि गेलले मार्लोन साम्युल्ससँग दोस्रो विकेटका लागि तीन सय ७२ रनको साझेदारी गर्दै वेस्टइन्डिजलाई निकै बलियो स्थितिमा राखे । क्यानबेरामा गेलको विस्फोटक ब्याटिङका अगाडि जिम्बावेका बलर निरीह देखिएका थिए । गेलले केवल एक सय ४७ बलमा दुई सय १५ रनको व्यक्तिगत स्कोर विश्वकपमा खडा गरे । इनिङको अन्तिम बलमा आउट हुनुअघि गेलले १० चौका र १६ छक्का प्रहार गरेका थिए । गेलले आफ्नो पहिलो सय रन जोड्दा एक सय पाँच बलको सामना गरेका थिए । त्यसपछि दोस्रो शतक पूरा गर्न उनले केवल ३३ बल मात्र खेले । वेस्टइन्डिजले दिएको तीन सय ७३ रनको लक्ष्य पछ्याउँदा जिम्बावे दुई सय ८९ रनमै अलआउट भयो । 

३. गेरी क्रिस्टर्न (दक्षिण अफ्रिका) १८८ रन नटआउट (युएईविरुद्ध) १९९६

अहिलेजस्तो १९९६ मा ब्याट्सम्यान आक्रामक रूपमा प्रस्तुत हुँदैनथे । उनीहरू एकदम चनाखो भएर स्ट्रोक लगाउँथे । तर, दक्षिण अफ्रिकाका ओपनर गेरी क्रिस्टर्नले भारत, श्रीलंका र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा अद्भुत ब्याटिङ प्रदर्शन गरे । उनले नवप्रवेशी युएईविरुद्ध व्यक्तिगत एक सय ८८ रनको नटआउट इनिङ खेलेका थिए । पाकिस्तानको रावलपिन्डी क्रिकेट मैदानमा सो समयको विश्वकपकै सर्वाधिक व्यक्तिगत रन बनाउँदा क्रिस्टर्नले एक सय ५९ बलको सामना गरेका थिए । उनले १३ चौका र चार छक्का प्रहार गरे । सन् २०१५ मा गेलले दुई सय १५ रन बनाउनुअघिसम्म क्रिस्टर्नकै रेकर्डले राज गरेको थियो । दक्षिण अफ्रिकाले क्रिस्टर्नकै उत्कृष्ट ब्याटिङ प्रदर्शनमा दुई विकेट गुमाएर तीन सय २१ रन बनायो । प्रत्युत्तरमा युएईले ५० ओभरमा आठ विकेट गुमाएर एक सय ५२ रन मात्र जोड्यो ।

४. सौभर गांगुली (भारत) १८३ रन (श्रीलंकाविरुद्ध) १९९९

भारतका पूर्वकप्तान सौरभ गांगुलीले करिअरकै उत्कृष्ट इनिङ सन् १९९९ मा इंग्ल्यान्डमा सम्पन्न विश्वकपमा खेलेका थिए । त्यसवेला साबिक विजेता श्रीलंकाको स्पिन र सिमर प्रदर्शन जमेको थियो । सहभागीमध्ये डरलाग्दो बलिङ आक्रमण मानिएको श्रीलंकाविरुद्ध गांगुली व्यक्तिगत एक सय ८३ रन बनाउन सफल भए । गांगुलीले युवा ब्याट्सम्यान राहुल द्रविडसँग तेस्रो विकेटका लागि तीन सय १८ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । त्यसवेला यी दुई ब्याट्सम्यानबीचको साझेदारी सबै विकेटका लागि अत्यधिक थियो । गांगुलीले एक सय १९ बलमा शतक बनाएका थिए । त्यसपछिका ३९ बलमा उनले ८३ रन जोडे । गांगुलीले विश्वकपमा भारतका लागि अहिलेसम्मकै व्यक्तिगत ठूलो स्कोर बनाउनेक्रममा एक सय ५८ बलको सामना गरे । यसक्रममा उनले १७ चौका र सात छक्का प्रहार गरे । यता द्रविडले एक सय २९ बलमा एक सय १५ रनको इनिङ खेलेका थिए । उनले १७ चौका र एक छक्का ठोके । भारतले ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ७३ रन बनाएको थियो । प्रत्युत्तरमा साबिक विजेता श्रीलंकाले ४२.३ ओभरमा सबै विकेट गुमाएर दुई सय १६ रन मात्र बनायो । 

५. भिव रिचार्डस (वेस्टइन्डिज) १८१ रन, (श्रीलंकाविरुद्ध) १९८७

सन् १९८७ मा पाकिस्तान र भारतले आयोजना गरेको विश्वकपमा वेस्टइन्डिजले श्रीलंकासँग समूह चरणमा प्रतिस्पर्धा गरेको थियो । त्यसवेला वेस्टइन्डिज विश्व क्रिकेटकै नम्बर एक टोली थियो । श्रीलंका अनपेक्षित रूपमा वेस्टइन्डिजसामु कमजोर देखियो । तर, श्रीलंकाले वेस्टइन्डिजलाई एक समय ४५/२ को स्थितिमा राख्यो । वेस्टइन्डिजको ब्याटिङ लाइन अपमा एकसे एक ब्याट्सम्यान थिए । भिव रिचार्डसले नेतृत्व लिँदै एक सय ८१ रनको शतकीय इनिङ खेल्दा वेस्टइन्डिजले ५० ओभरमा तीन सय ६० रनको योगफल बनायो । त्यसवेला यो योगफल पछ्याउनु असम्भवप्रायः मानिन्थ्यो । रिचार्डसले डेस्मोड हायनेससँग दोस्रो विकेटका लागि एक सय ८२ रनको साझेदारी गरेका थिए । रिचार्डसले एक सय २५ बलमा १६ चौका र सात छक्का प्रहार गरे । रिचार्डसले सन् १९७५ मा भारतका कपिल देवले जिम्बावेविरुद्ध राखेको एक सय ७५ रनको व्यक्तिगत रेकर्ड पनि तोडे । श्रीलंकाले ५० ओभरमा चार विकेट मात्र गुमाएर एक सय ६९ रन बनायो । वेस्टइन्डिज एक सय ९१ रनको फराकिलोअन्तरले विजयी भयो । 

(एजेन्सीहरूको सहयोगमा)