मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ३ शुक्रबार १०:०७:००
Read Time : > 2 मिनेट
खेलकुद

शुक्रले जिते सूर्य नेपाल प्रिमियर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ३ शुक्रबार १०:०७:००

एमेच्योर गल्फर शुक्रबहादुर राईले बिहीबार सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शुक्रले साबिक विजेता भुवन नगरकोटीमाथि एक स्ट्रोकको अग्रता लिँदै पहिलोपटक सूर्य नेपाल प्रिमियर गल्फ उपाधि हात पारेका हुन् । यसैगरी, एमेच्योर खेलाडीका रूपमा उपाधि जित्ने उनी पहिलो खेलाडी बनेका छन् । यस सिजनमा शुक्रले दुई महत्वपूर्ण घरेलु उपाधि हात पारेका छन् । 

अन्तिम चरणसम्म अग्रता

शुक्रले उपाधि दाबेदार भुवनमाथि बुधबार एक स्ट्रोकको अग्रता बनाएका थिए । शुक्र बिहीबार प्रतियोगिताको अन्तिम दिनसम्म अग्रता यथावत् राखी उपाधि कुम्ल्याउन सफल भए । शुक्रले अन्तिम चरणमा पाँच अन्डर ६७ को कार्ड लेखाएका थिए । समग्रमा उनले ११ अन्डर दुई सय ७७ को कार्ड लेखाएका छन् । यता भुवनले अन्तिम चरणमा पाँच अन्डर ६७ कार्ड बनाएका थिए । समग्रमा उनी १० अन्डर दुई सय ७८ कार्ड लेखाउँदै उपविजेता बने । 

भुवन नै नम्बर एक खेलाडी

भुवनले उपाधि नजिते पनि यस सिजनको नम्बर एक गल्फरको ताज सुरक्षित गरेका छन् । यसका साथै उनले प्रतियोगिताको विजेता धनराशि दुई लाख ३० हजार रुपैयाँ पनि जिते । उपाधि विजेता शुक्र एमेच्योर खेलाडी भएकाले उनले विजेता धनराशि जित्न सकेनन्  । यस सिजनमा भुवनले समग्रमा ६ लाख ६३ हजार रुपैयाँ हात पारेका छन् । भुवन यस सिजनको सर्वाधिक धनराशि कमाउने गल्फर बनेका छन् । 

शिवराम दोस्रो कमाउने गल्फर

निवर्तमान नम्बर एक खेलाडी शिवराम श्रेष्ठले सूर्य नेपाल प्रिमियरमा सहभागिता जनाएनन् । तर, समग्रमा श्रेष्ठ यस सिजनको सूर्य नेपाल टुरमा सर्वाधिक कमाउने गल्फरको सूचीमा दोस्रो स्थानमा रहे । दोस्रो स्थानमा झरेका श्रेष्ठले एक वर्षमा चार लाख ६० हजार पाँच सय रुपैयाँ विजेताका रूपमा जितेका छन् । यस सिजनमा उनले चार इभेन्टमा प्रतिस्पर्धा गरेनन् । 

भुवनले सिजनको नम्बर एक गल्फरको ताज सुरक्षित गरेका छन्, एमेच्योर खेलाडी भएकाले शुक्रले विजेता धनराशि पाउन सकेनन्, दोस्रो स्थानमा रहेका भुवनले प्रतियोगिताको विजेता धनराशि दुई लाख ३० हजार हात पारे

विकास तेस्रो स्थानमा

प्रोफेसनल खेलाडी विकास अधिकारीले तेस्रो वरीयता पाएका छन् । सूर्य नेपाल प्रिमियरमा प्रोफेसनल खेलाडीमध्ये विकास दोस्रो स्थनमा रहे । उनले इभन पार खेली दुई सय ८८ कार्ड लेखाए । यस सिजनमा उनले चार लाख ११ हजार तीन सय ३३ रुपैयाँ जितेका छन् । यता प्रतियोगिता सुरु हुनुअघि शीर्ष स्थानमा दाबेदारी दिएका सञ्जय लामा चौथो स्थानमा छन् । 

धनबहादुर थापा पाँचौँ स्थानमा रहे । सञ्जयले यस सिजनमा तीन लाख ८६ हजार पाँच सय रुपैयाँ र धनले तीन लाख ८१ हजार एक सय ६७ रुपैयाँ जितेका छन् । आर्मीका धनबहादुर प्रोफेसनल खेलाडीतर्फ तेस्रो स्थानमा रहे । उनले दुई ओभर दुई सय ९० कार्ड लेखाएका थिए । उनले प्रतियोगितामा ९५ हजार रुपैयाँसमेत जिते।

जयराम, रामे र रवि छैटौँ स्थानमा

प्रतियोगितामा तीन गल्फर संयुक्त रूपमा छैटौँ स्थानमा छन् । जयराम श्रेष्ठ, रामे मगर तथा रवि खड्काले समान दुई सय ९३ स्कोर गरे । उनीहरूले जनही ५७ हजार आठ सय ३३ रुपैयाँ पाए । यसैगरी, कष्णमान राजवाहक, चूडाबहादुर भण्डारी, सञ्जय लामा तथा सूर्यप्रसाद शर्मा नवौँ स्थानमा रहे । सबैले नवौँ स्थानमा रहँदा दुई सय ९६ स्कोर गरेका थिए । चारै खेलाडीले समान ४२ हजार सात सय ५० रुपैयाँ पाएका छन् । 

फ्रन्ट नाइनमा शुक्र अगाडि

उपाधि विजेता शुक्रले फ्रन्ट नाइनमा चार अन्डर ३२ को स्कोर गरेका थिए । उनले ब्याक नाइनमा एक अन्डर ३५ को स्कोर गरी भुवनमाथि दबाब राखे । दोस्रो, तेस्रो, छैटौँ तथा सातौँ होलमा उनी चार बर्डिज निकाल्न सफल भए । यसैगरी, १०औँ र ११औँ होलमा उनले दुई बर्डिज निकाले । यता भुवनले फ्रन्ट नाइनमा तीन अन्डर ३३ को कार्ड लेखाए । ब्याक नाइनमा उनी दुई अन्डर ३४ को स्कोरमा सीमित भए । भुवन दोस्रो, तेस्रो, सातौँ र नवौँ होलमा बर्डिज प्राप्त गर्न सफल भए । ब्याक नाइनमा उनले १२ र १६औँ होलमा अर्को बर्डिज भेट्टाए । प्रतियोगिताका विजेता खेलाडीलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डाइरेक्टर अभिमन्यू पोद्दार, नेपाल गल्फ एसोसिएसनका अध्यक्ष टासी घलेलगायतले पुरस्कृत गरेका थिए ।