मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २७ बिहीबार ०६:२०:००
Read Time : > 3 मिनेट
सेयर बजार

नेप्से स्थिर

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २७ बिहीबार ०६:२०:००

बुधबार नेप्से करिब स्थिर रहेको छ । दिनभरिको उतारचढावपश्चात् नेप्से अघिल्लो दिनको अन्तिम बिन्दुवरिपरि पुगेर बन्द भएको छ । सूचीकृत कम्पनीहरूले घोषणा गरेको लाभांशले यस दिनको बजार प्रभावित भएको छ । आकर्षक लाभांश घोषणा गर्ने कम्पनीहरूको सेयरप्रति लगानीकर्ताहरू आकर्षित भएका छन् । थोरै लाभांश घोषणा गरेका कम्पनीहरूको सेयर लगानीकर्ताहरूले कम मूल्यमा नै बिक्री गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले अझैसम्म ब्याजदर घटाएका छैनन् ।

ब्याजदर नघटेका कारण अहिलेको बजार बढ्न नसकेको एक ब्रोकरले बताए । पुँजी बजार सुधार र विस्तारका लागि अर्थमन्त्रीको राजीनामासहित १४ बुँदे माग राखेर लगानीकर्ताहरू आइतबारदेखि अनशन बसेका छन् । अनशन बसेको चौथो दिनसम्म पनि माग पूरा नभएपछि लगानीकर्ताहरूले देशका विभिन्न ठाउँबाट पनि अनशन बस्न आह्वान गरेका छन् ।

नेप्से परिसूचक यस दिन शून्य दशमलव शून्य ८ अंक बढेर १ हजार १ सय ४१ दशमलव १८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ सय ४३ दशमलव शून्य ६ बिन्दुमा नै रहेको छ । यस दिन १ सय ५६ कम्पनीको २ हजार ८ सय १७ पटकको कारोबारमा २६ करोड ८८ लाख १० हजार ८ सय २४ रुपैयाँबराबरको ८ लाख ६५ हजार ७ सय १९ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ३७ दशमलव ८९ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन आइएमई जनरल इन्स्योरेन्सको संस्थापक सेयर अगाडि रहेको छ । सो कम्पनीको यस दिन ४ करोड ८७ लाख ५० हजार रुपैयाँबराबरको १ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ सय ७५ पटक सेयर खरिदबिक्री भएको छ ।

सोल्टी होटेलको मूल्य यस दिन सर्वाधिक ५८ दशमलव ४६ प्रतिशत बढेको छ । कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएका कारण लगानीकर्ता सोतर्फ आकर्षित भएका हुन् । सिटिजन्स बैक इन्टरनेसनलको सेयरमूल्य यस दिन ४ प्रतिशत घटेको छ । बैंकले सबैभन्दा कम ५ दशमलव २६ प्रतिशत लाभांश घोषणा गरेपछि सेयरमूल्य घट्न पुगेको हो । कारोबारमा आएका १ सय ५६ कम्पनीमध्ये यस दिन ५५ कम्पनीको सेयरमूल्य बढेको छ भने ७२ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिन कारोबारमा आएका १० समूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ५ समूहको परिसूचक घटेको छ । जलविद्युत् समूहको परिसूचक यस दिन सर्वाधिक ३ दशमलव १ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त समूहको परिसूचक शून्य दशमलव ६१ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ४६ प्रतिशत, अन्य समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ ।

होटेल समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव १२ प्रतिशत घटेको छ । लघुवित्त समूहको परिसूचक यस दिन शून्य दशमलव ६७ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव २१ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव १८ प्रतिशत र वाणिज्य बैंकको शून्य दशमलव १३ प्रतिशत घटेको छ ।

काठमाडौंबाहिर पनि  अनशन सुरु गर्न आह्वान
पुँजीबजार सुधार तथा विस्तारका लागि १४ बुँदे मागसहित लगानीकर्ताहरू आइतबारदेखि रिले अनशनमा बसेका छन् । अनशन बसेको चौथो दिनसम्म पनि माग पुरा नभएपछि सेयर लगानीकर्ता दबाब समूहले काठमाडौंबाहिर पनि अनशन सुरु गर्न आह्वान गरेको छ ।

बुधबार प्रेस वक्तव्य जारी गर्दै देशका विभिन्न भागमा पनि अनशनलाई विस्तार गरी पुँजीबजारको पहुँच पुगेका ठाउँमा रहेका लगानीकर्ताहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय अघि रिले अनशन सुरु गर्न आह्वान गरेको हो । लगानीकर्ताको अनशनलाई नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस बिपी, राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र विभिन्न लगानीकर्ता संघ तथा सर्वसाधारण लगानीकर्ताहरूले समर्थन गरेका छन् । लगानीकर्ताले अर्थमन्त्रीको राजीनामासहित अन्य १३ बुँदे माग राखेर अनशन सुरु गरेका हुन् । वक्तव्यमा वर्तमान सरकार कुनै किसिमले पुँजीबजारमा सुधार तथा विस्तारको रणनीति कदम चाल्न तयार नभएको उल्लेख गरिएको छ ।

ल मध्यभोटेकोसीको आइपिओ निष्कासन बन्द
मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले मंसिर १९ गतेदेखि दोस्रो चरणमा संस्थापक संगठित संस्थाका कर्मचारीका लागि निष्कासन गरेको २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीहरूका लागि निष्कासन गरेको ६ लाख कित्ता साधारण सेयरमा आवेदन दिने म्याद मंसिर २६ गते सकिएको छ । चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत्  प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी तथा सिन्धु भोटेकोसी हाइड्रोपावर, कम्पनीका संस्थापक सेयरधनी हुन् भने कर्मचारी सञ्चयकोष कम्पनीको ऋणदाता संस्था हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेका छन् । कम्पनीले निष्कासन गरेको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी आइपिओ ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत
अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ ।

सहाराको अवितरित हकप्रद बाँडफाँड
सहारा विकास बैंक लिमिटेडले अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले कात्तिक १८ गतेदेखि मंसिर ५ गतेसम्म संस्थापक समूहको ९ लाख २८ हजार २ सय ४८ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको १ लाख १६ हजार ७ दशमलव ३० कित्ता सिलबन्दी बोलपत्रमार्फत बिक्री गरेको थियो । सोमध्ये कम्पनीले संस्थापक समूहको ७ हजार १ सय कित्ता र सर्वसाधारण समूहको १ लाख १६ हजार ७ दशमलव ३० कित्ता बाँडफाँट गरेको हो । बाँडफाँडमा नपरेको सेयरबापतको रकम मंसिर २६ गतदेखि आवेदन फाराममा उल्लेख गरिएको बैंक खातामा रकमान्तर गरिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 सिटिजन्सको लाभांश
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५ दशमलव २६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर २५ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट ३ दशमलव ६२८ प्रतिशत बोनस सेयर र १ दशमलव ६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

#नेप्से स्थिर