मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ २ बिहीबार ०८:५४:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकामा गर्भपतनसम्बन्धी अहिलेसम्मकै कठोर विधेयक पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ २ बिहीबार ०८:५४:००

अमेरिकाको अलाबामा राज्यको सिनेटले गर्भपतन रोक्नेसम्बन्धी कठोर विधेयक पारित गरेको छ । विधेयकले गर्भपतन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैद सजाय हुने जनाइएको छ । सो विधेयकलाई अमेरिकी इतिहासमा गर्भपनसम्बन्धी अहिलेसम्मकै कठोर विधेयक मानिएको छ ।

रिपब्लिकन पार्टीको बहुमत रहेको अलाबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणीकरणका लागि गभर्नरसमक्ष पुगेको छ । गभर्नरको हस्ताक्षरपछि विधेयकले कानुनको रूप लिनेछ । नयाँ विधेयकमा बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा समेत त्यसलाई गर्भपात गराउन पाउने छुट छैन । अमेरिकाको मानवअधिकारवादी संस्था एसिएलयूले सो कानुनको कार्यान्वयन रोक्न अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । विधेयकका पक्षधरहरूले नयाँ विधेयकको स्वागत गरेका छन् ।

बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा त्यसलाई गर्भपात गराउन पाउने छुट नयाँ विधेयकमा छैन

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि सर्वोच्च अदालतमा अनुदार विचार राख्ने न्यायाधीशहरू नियुक्त भएकाले अदालतले पछिल्लो विधेयकलाई सदर गर्ने सम्भावना छ । सर्वोच्च अदालतको सन् १९७३ को एक आदेशपछि अमेरिकामा गर्भपतन गर्ने कानुनी बाटो खुलेको थियो । तर, बहुसंख्यक रिपब्लिकन पार्टीका सदस्यले सर्वोच्चको सो आदेश खारेज हुनुपर्ने माग गरेका छन् । सिनेटमा डेमोक्र्याटिक पार्टीका नेता बब्बी सिङलटनले अलाबामा राज्यको सिनेटले विधेयक पारित गरेर अनुदारवादी चरित्र प्रस्तुत गरेको र यो राष्ट्रको लज्जा भएको प्रतिक्रिया दिए ।