मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ २ बिहीबार ०७:१३:००
Read Time : > 1 मिनेट
समाचार

तातोपानी नाका १७ जेठदेखि खुल्दै

Read Time : > 1 मिनेट
२०७६ जेठ २ बिहीबार ०७:१३:००

चीनसँगको सीमा जोड्ने लिपिङस्थित मितेरी पुल पुनर्निर्माण अन्तिम रचणमा पुगेको छ । अर्को साता पुल उद्घाटन गर्ने तयारी गरिएको छ । भूकम्प र भोटेकोसीमा आएको बाढीले मितेरी पुल भत्किएको थियो । चीनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले यसको पुनर्निर्माण गरिरहेको छ । तीन महिनादेखि काम थालेको कम्पनीले दैनिक पाँच सयभन्दा बढी कामदार खटाएको छ । चौबिसै घन्टा काम भइरहेको कम्पनीले जनाएको छ । 

बिम राख्ने काम सकिन लागेको छ भने सोमबारदेखि नै ढलान सुरु भएको छ । कम्पनीका प्रतिनिधिका अनुसार यो साता ब्रिज फिनिसिङ सकिनेछ । १० जेठमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ । त्यस्तै, १७ जेठमा मितेरी पुलको उद्घाटन गर्ने तयारी गरिएको कोदारी अध्यागमन कार्यालयका प्रमुख रामहरि काफ्लेले बताए । यसबारे चिनियाँ उच्च तहबाट परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको उनले बताए । 

पुल उद्घाटनसँगै चार वर्षदेखि बन्द तातोपानी नाका औपचारिक रूपमा सञ्चालनमा आउनेछ । उद्घाटनका दिन दुवै देशका नागरिकलाई अध्यागमनले जारी गर्ने एकदिने अनुमतिको आधारमा मितेरी पुलबाट आउजाउ गर्न दिइने तयारी गरिएको जनाएको छ । सवारीसाधन पनि सीमा कटेर आउजाउ गरिनेछ । यो नाका खुलाउन पहल गर्दै आएका पूर्वमन्त्री एवं सांसद अग्निप्रसाद सापकोटाले उद्घाटनकै दिनदेखि नाका खुल्ने बताए । नाका खुलाउने भए पनि कार्यक्रमको स्वरूप भने तयार नभएको उनको भनाइ छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्केपछि कार्यक्रम तालिका तय हुने सांसद सापकोटाले बताए । 

१७ जेठमै बन्दरगाह हस्तान्तरण 

मितेरी पुल उद्घाटनकै दिन १७ जेठमा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले लार्चास्थित सुक्खा बन्दरगाह नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । लार्चा सुक्खा बन्दरगाहसँगै बन्दरगाह जोड्ने अत्याधुनिक पुल र कोदारी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । भूकम्प र बाढीले क्षति पु¥याएको बन्दरगाह र सडकको पुनर्निर्माण सकिएको छ । 

नेपालतर्फ पुरानै भवन प्रयोग

मितेरी पुल १७ जेठमा उद्घाटन गर्ने खबर आएपछि अध्यागमन कार्यालय कोदारीका प्रमुख रामहरि काफ्ले चिनियाँ अध्यागमनले निमन्त्रणा गरेको बैठकमा सहभागी भएका छन् । ‘चिनियाँसँग संक्षिप्त बैठक भयो,’ उनले भने ।पुल उद्घाटनकै दिन नाका खुला गर्ने तयारी रहेको उनले बताए । तर, नेपालतर्फ भने संरचना पुनर्निर्माण भएका छैनन् । ‘नेपालतर्फ नयाँ भवन नबनेकाले तत्काललाई पुरानै भवन प्रयोग गर्ने निर्णय भएको छ,’ काफ्लेले भने । अध्यागमन, भन्सार चेकपोस्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुलनजिकै रहनुपर्ने भएकाले तत्काललाई पुरानै भवन प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

व्यापार पूर्ववत् सञ्चालन हुने

नेपालतर्फ सुक्खा बन्दरगाह बनेसँगै भन्सारको सबै काम तातोपानीभन्दा तल लार्चाबाट चलिरहेको छ । चीनतर्फ भन्सारको काम खासा भ्यान  पार्किङबाट हुन्छ । भूकम्पपछि अन्यत्र गएका चिनियाँ व्यापारी खासा फर्केका छन् । अध्यागमनबाहेक सबै सरकारी कार्यालय पूर्ववत् रूपमा खासामा सञ्चालन भएको जनाएको छ । लिपिङमा बस्दै आएका नेपाली पनि फर्किसकेका छन् । 

चिनियाँ सामान ढुवानीका लागि नेपाली कन्टेनर भ्यान चिनियाँ स्वशासित क्षेत्र तिब्बतको नेलाम (कुती)सम्म जाने र चिनियाँ भ्यान पनि लार्चाको सुक्खा बन्दरगाहसम्म आउने व्यवस्था मिलाउन लागेको नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले बताए । लार्चाबाट लिपिङसम्म सडक किनारमा रहेका स्थानीयको घर तत्काललाई नहटाइने भएको छ ।