मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ २ बिहीबार ०६:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

अमेरिकी र चिनियाँ उच्च अधिकारी एकैसाथ नेपालमा

Read Time : > 1 मिनेट
२०७६ जेठ २ बिहीबार ०६:३४:००

नेपालमा चिनियाँ र अमेरिकी उच्च अधिकारी एकैसाथ आइपुगेका छन् । अमेरिकी कार्यवाहक सहायक विदेश उपमन्त्री डेभिड जे रेन्ज मंगलबार काठमाडौं आएर अमेरिकी हिन्द प्यासिफिक रणनीतिको व्याख्या गरेको भोलिपल्ट चिनियाँ कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले बिआरआईबारे उच्चस्तरीय वार्ता गरेका छन् । दुई परस्पर रणनीतिक प्रतिस्पर्धामा रहेका उच्च अधिकारीको एकअर्का विरोधी रणनीतिक दौडलाई चासोपूर्वक हेरिएको छ । 

अमेरिकाको दक्षिण र पश्चिम एसिया हेर्ने कार्यवाहक उपसहायकमन्त्री डेभिडको भ्रमण दुईसाताअघि तय भएको हो । यसअघि उपसहायकमन्त्री एलिस जी बेल्सको भ्रमण तय भए पनि उनी दुईसाताअघि आकस्मिक रूपमा आएर फर्केकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले तिब्बती शरणार्थी, अमेरिकी पिसकोरको प्रवेशाज्ञा नवीकरण, हिन्द प्रशान्त रणनीतिक साझेदारीबारे चर्चा गरेकी थिइन् । बेल्सभन्दा एक तहमुनिका अमेरिकी अधिकारी डेभिडले मंगलबार पेभिलियन ग्रुपको कार्यक्रममा बिआरआईमा नेपाल सजग हुनुपर्ने सल्लाह दिएका थिए ।  

गृहमन्त्रीसँग अमेरिकी अधिकारीको भेट

गृहमन्त्री रामबहादुर थापसँग अमेरिकी कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेन्जले बुधबार नेपाल–अमेरिका सम्बन्ध, हिन्द प्रशान्त रणनीतिकअन्तर्गत आपसी सहयोग र सहकार्यबारे चासो राखेका छन् । अमेरिकाले हिन्द प्रशान्त रणनीतिअन्तर्गत ‘मिलिनियम च्यालेन्ज कोअपरेसन’मार्फत नेपालको आर्थिक विकास तथा विद्युतीकरणमा सहयोग गर्न खोजिएको डेभिडले बताए ।  

 उपराष्ट्रपतिसँग चिनियाँ अधिकारीको भेट

चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले उपराष्ट्रपति नन्दबहादुर पुनसँग बुधबार शिष्टाचार भेट गरेका छन् । ताङले बहादुर भवनस्थित कार्यालयमा उपराष्ट्रपति पुनसँग शिष्टाचार भेटका क्रममा बिआरआईबारे चासो राखेका छन् । उपराष्ट्रपतिले दुवै देशबाट एक–अर्कामा उच्चस्तरीय भ्रमण हुनुपर्नेमा जोड दिएको उनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । नेपालमा पर्यटनका लागि चिनियाँ नागरिकलाई उपराष्ट्रपतिले आग्रह गरे । 

आफ्नो हितमा निर्णय लिनुपर्छ 
मधुरमण आचार्य,पूर्वपरराष्ट्रसचिव

नेपालमा चिनियाँ र अमेरिकी चासो र उपस्थिति बाक्लिएको छ । दुवैको कटाक्ष चलिरहेको छ । यसबाट हामी हौसिनु हुँदैन । अमेरिकाले हिन्द प्रशान्त रणनीतिअन्तर्गत सबै सहकार्य भनेको छ, चीनले बिआरआईअन्तर्गत समग्र सहकार्य गर्ने भनेको छ । नेपालले दुवैका कुरा सुन्ने र आफ्नो फाइदाअनुसार कदम चाल्नुपर्छ । किनकि, हिन्द प्रशान्त रणनीति वा बिआरआई नहुँदा पनि हाम्रो ती देशसँग द्विपक्षीय सम्बन्ध सुमधुर ढंगले चलिरहेको थियो । अर्काको द्विपक्षीय सम्बन्धमा तेस्रो देशले चासो दिनु, प्रतिक्रिया दिनु शोभनीय हुँदैन । चीन र अमेरिकाबीच व्यापार युद्ध छ उनीहरू धान्न सक्छन् । तर, उनीहरूको प्रतिस्पर्धा हामी धान्न सक्दैनौँ । हामीले सबैको कुरा सुन्नुपर्छ । तर, निर्णय आफ्नो हितमा गर्नुपर्छ ।