१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ जेठ २ बिहीबार ०६:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सुनाकोठी–चापागाउँ–लेले सडक ६ दिनदेखि ठप्प

Read Time : > 1 मिनेट
२०७६ जेठ २ बिहीबार ०६:२८:००

ठेक्का सम्झौता भएको दुई वर्षसम्म पनि ढोलाहिटी–सुनाकोठी–चापागाउँ–लेले तिरेश्वर हुँदै सरस्वती कुण्ड जोड्ने (१३.०१ किलोमिटर) सडक निर्माण नभएपछि स्थानीयवासी ६ दिनदेखि आन्दोलित बनेका छन् । स्थानीयले सुनाकोठीदेखि चापागाउँ हुँदै चल्ने सवारीसाधनमा रोक लगाएका छन् भने गौँडा–गौँडामा बाँस, फलामको रड, काठ र मूढा तेस्र्याएर धर्ना दिएका छन् । 

चापागाउँ, सुनाकोठी, ठेचोका बासिन्दाले घाम लाग्दा धुलो र पानी पर्दा हिलोले आजित बनेपछि आन्दोलनमा उत्रिएको बताएका छन् । ६ दिनदेखि लगातार आन्दोलन भए पनि स्थानीयको माग सुनुवाइ गर्ने विषयमा कुनै निकायले चासो दिएको छैन । धर्नास्थलमा भेटिएका गोदावरी–१२ थेचोका अनुपकुमार महर्जनका अनुसार धुवाँ र धुलोले आजित भएपछि आन्दोलनमा उत्रिएको बताए ।

उनले भने,‘सडक निर्माण सुरु भएको दुई वर्ष बित्यो । तर, अहिलेसम्म १० प्रतिशत काम भएको छैन । सडक भत्किएका छन् । ढल फुटेका छन् । नाली भरिएका छन् । घाम चर्र्किँदा धुलो उड्छ । पानी पर्दा हिलो हुन्छ । प्रदूषणले आजित भइयो । यसबाट मुक्ति पाउन आन्दोलनमा उत्रिएका हौँ ।’

सडक निर्माणको ठेक्का सम्झौता २५ जेठ ०७३ मा भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले काम गरेको भए पुस ०७५ भित्रै सकिन्थ्यो । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको तथ्यांकअनुसार सडक निर्माणको १० प्रतिशत काम पनि सम्पन्न हुन सकेको छैन । आयोजनाले सुरुमा सडकको चौडाइ २० मिटर तोकेको थियो ।

अधिकांश घर भत्किने भएपछि स्थानीयले यसको विरोध गरेपछि घटाएर १७ दशमलव पाँच मिटरमा झारियो । स्थानीयको यसमा पनि विरोध भयो । विरोधका बाबजुद पनि आयोजनाले केही स्थानमा सडक भत्काएको थियो । आयोजनाले भत्काएको यही सडकका कारण स्थानीय पीडित बनेका हुन् । 

यी हुन् स्थानीयका माग
स्थानीयले यथास्थितिमै सडक कालोपत्रे हुनुपर्ने माग गरेका छन् । सुनाकोठीमा भेटिएका सिद्धिबहादुर महर्जनले भने,‘हामीलाई विस्तार चाहिएको छैन । यथास्थितिमै कालोपत्रे होस् । माग पूरा नभएसम्म अवरोध जारी रहनेछ । यातायातका साधन ठप्प पार्छौँ ।’सुनाकोठी र चापागाउँ लिच्छविकालीन नेवारी गाउँ हो ।

सडक किनारमा ऐतिहासिक मन्दिर छन् । पाटी, पौवा र चोक सडक किनारामै छन् । नेवारी परम्पराअनुसारका जात्रा र मेला लाग्ने स्थान यहीँ छन् । आयोजनाको मापदण्डअनुसार सडक विस्तार भए लिच्छविकालीन संस्कृति नष्ट हुने स्थानीयको दाबी छ । धर्नास्थलमा भेटिएका सुनाकोठीका अशोक महर्जनले विनाअध्ययन सडक विस्तार गर्न लागेकाले समस्या भएको बताए ।

सडक–किनारमा रहेको दुई सय ३५ वर्ष पुरानो कायेलाछी फाल्चा (पाटी) देखाउँदै महर्जनले भने,‘सुनाकोठी र चापागाउँ ऐतिहासिक महत्व  बोकेको नेवारी गाउँ हो । लिच्छविकालीन सम्पदा विस्तार हुने भनिएका सडकआसपास पर्छन् । चौडा सडकमा कुद्ने रहर हामीलाई नभएको होइन । तर, यसो गरिँदा हाम्रो मौलिकता सिद्धिन्छ । जसरी गुरुङ समुदायको घले गाउँ संरक्षण गरिएको छ, त्यसैगरी हामी हाम्रो गाउँ पनि संरक्षण होस् भन्ने चाहन्छौँ । त्यसले चौडा सडक यहाँबाट होइन, नक्खु खोला करिडोरबाट लगिनुपर्छ । हाम्रो विरोध यसैका लागि हो ।’

महर्जनका अनुसार सडक विस्तार प्राचीन स्मारक ऐन ०१३, सडक विस्तार ऐन ०३१, जग्गा प्राप्ति ऐन ०३४ र आइएलओ १६९ विपरीत छ । सर्वोच्च अदालतले यही कानुनमा टेकेर स्थानीयको पक्षमा आदेश दिएको महर्जनको भनाइ छ । उनले भने,‘प्राचीन गाउँलाई संरक्षण गरिनुपर्छ । सडक यहाँबाट होइन, नक्खु खोलाको करिडोरबाट लगिनुपर्छ । त्यस ठाउँमा बस्ती छैन । मुआब्जाको समस्या पनि हुँदैन ।’