मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन संसदीय समितिकाे निर्देशन

२०७६ जेठ १ बुधबार १३:२५:०० | काठमाडाैं

संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ । 

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो । काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । त्यसैगरी समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न÷गराउन खानेपानी मन्त्रालयलाई सचेत गराएको छ ।

समितिले राष्ट्रिय खानेपानी तथा सरसफाई नीति र सो सम्बन्धि ऐन शिघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देश गरेको छ । त्यसैगरी स्वच्छ खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन, भूकम्पले क्षति पु¥याएका खानेपानी आयोजनाहरु छिटो सञ्चालनमा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति खड्काले बताइन् । 

बैठकमा खानेपानी मन्त्री विना मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् । उनले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक काम कारवाही अघि बढाइएको दावी गरिन् । 
 

प्रतिकृया दिनुहोस