कैलालीको ४० प्रतिशत वन क्षेत्रमा डढेलो

स–साना बोटबिरुवा जलेर नष्ट

२०७६ जेठ १ बुधबार ११:१९:०० | धनगढी

कैलाली जिल्लाको विभिन्न वन क्षेत्रमा भीषण आगलागी भएको छ । चुरे र तराईका क्षेत्रमा केही दिनदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जिल्लाको मोहन्या, सुगरखाल, बुढीतोला, सहजपुर, खानीडाँडा, गोदावरीलगायत चुरेका विभिन्न ठाउँका वनमा आगलागी भइरहेको हो । यस्तै, तराईका मसुरिया, चौमाला, उदासीपुर, हसुलियालगायत ठाउँका वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ । वन कार्यालयका अनुसार अहिलेसम्म डढेलोबाट वन क्षेत्रमा ठूलो क्षति भएको छ । विवरण भने यकिन हुन सकेको छैन । 

वन अधिकृत भीमप्रसाद ढकालले कुल वन क्षेत्रको करिब ४० प्रतिशत क्षेत्रमा डढेलो लागेको अनुमान गरे । ‘नसोचेको आगलागी भयो । यसले वनमा ठूलो क्षति पुर्‍याएको छ,’ ढकालले भने, ‘डढेलोले वन क्षेत्रका स–साना लाखौँ बोटबिरुवा जलेर नष्ट भएका छन् ।’ दर्जनौँ ठाउँमा अहिले पनि डढेलो लागिरहेको उनले बताए ।

पर्यावरणीयरूपमा महत्वपूर्ण मानिने चुरेसँगै जैविक विविधतामा अन्तर्राष्ट्रिय महत्व बोकेको कैलालीको वसन्ता जैविक मार्गमा पनि आगलागी भएको छ । धनगढी उपमहानगरपालिकाका विभिन्न सामुदायिक वनमा पनि डढेलो लागेको छ । सरकारी तथ्यांकअनुसार कैलालीमा दुई लाख पाँच हजार हेक्टर वन क्षेत्र छ । यसमध्ये ८२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा आगलागी भएको अनुमान वन कार्यालयको छ । ‘मोटामोटी तथ्यांक संकलन गरिरहेका छौँ, तर ४० प्रतिशतभन्दा बढी वन क्षेत्रमा आगलागी भएको अनुमान गरेका छौँ,’ वन अधिकृत ढकालले भने ।

सामुदायिकभन्दा राष्ट्रिय वन क्षेत्रमा बढी आगलागी भएको उनले बताए । चुरे क्षेत्रमा केही दिनदेखि फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । गोदावरी नगरपालिकाको सेती सामुदायिक वनमा लागेको डढेलो फैलिएर चुरे पहाडसम्म पुगेको छ ।

बुढीतोलाको वन क्षेत्रमा लागेको डढेलोले ठूलाबाहेक स–साना सबै बोटबिरुवा जलेर नष्ट भएको स्थानीय हरिबहादुर खनालले बताए । ‘हरिया डाँडाकाँडा डढेलोले काला भएका छन्,’ उनले भने, ‘डढेलो नियन्त्रण नभएकाले गाउँ पस्छ कि भनेर स्थानीय बासिन्दा चिन्तामा छन् ।’ डढेलो नियन्त्रणमा आउन नसकेपछि चुरे वन क्षेत्रआसपास रहेका बस्तीका स्थानीय त्रसित छन् । चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकाले चुरेका दर्जनौँ ठाउँमा डढेलो लागेको बताए ।  

नियन्त्रणका लागि टोली परिचालन

डढेलो नियन्त्रणका लागि जिल्लाका विभिन्न ठाउँमा टोली परिचालन गरिएको डिभिजन वनप्रमुख रामचन्द्र कँडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समन्वय समितिको बैठकले डढेलो नियन्त्रणका लागि वनरक्षकसँगै सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।

मानवीय कारणले डडेलो

मानवीय लापरबाहीले डढेलो लाग्ने गरेको बताइएको छ । चुरोट, बिँडीको ठुटा जथाभाबी फाल्ने, घाँस पलाउँछ भन्ने गलत सोचले आगो लगाउने गर्नाले वन क्षेत्रमा डढेलोका घटना बढेको डिभिजन वनप्रमुख कँडेलले बताए । डढेलोको मुख्य कारण मानवीय रहेको उनले बताए । सुरक्षा समन्वय समितिको बैठकले डढेलोका घटना दोहोरिन नदिन वन कार्यालयले जनचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस