मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १०:५७:००
Read Time : > 1 मिनेट
खेलकुद

एएफसी कप : जितको प्रतीक्षामा मनाङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १ बुधबार १०:५७:००

लगातार तीन खेलमा जित निकाल्न नसकेको नेपाली लिग च्याम्पियन मनाङमर्स्याङ्दी क्लब बुधबार एएफसी कपको चौथो खेलमा मिर्नेभा पन्जाबविरुद्ध प्रतिस्पर्धा गर्दै छ । घरेलु मैदानका रूपमा मनाङले पन्जाबविरुद्ध एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भुवनेश्वरमा भएको खेलमा मनाङले गत सिजनको आइलिग च्याम्पियन पन्जाबलाई २–२ को बराबरीमा रोकेर एक अंक जोडेकाले आफ्नो घरेलु मैदानमा तीन अंकका लागि प्रतिस्पर्धा गर्नेछ । समूह ‘ई’ को अघिल्ला दुई खेलमा पराजित मनाङलाई पहिलो अंकले केही राहत दिए पनि जित निकाल्न नसकेकाले दबाब कायम छ । 

सबै खेल जित्नुपर्ने दबाब

समूह ‘ई’ बाट एक टिम मात्र अघिल्लो चरणमा पुग्ने भएकाले मनाङका लागि अबको यात्रा झनै कठिन छ । तीन चरण सकिँदा चेन्नयिन ७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानको ढाकाको ४ अंक छ । अर्को प्रतिस्पर्धी  पन्जाब ३ अंकसहित तेस्रो स्थानमा छ । मनाङ १ अंकसहित चौथो स्थानमा रहेकाले शीर्ष स्थान पुग्न सहज छैन । 

मनाङलाई अघिल्लो चरणमा पुग्न बाँकी सबै तीन खेल नै जित्नुपर्ने दबाब छ । साथै, उसले अंकतालिकामा अग्रस्थानमा रहेका क्लबको हारको कामनासमेत गर्नुपर्नेछ । जसमा शीर्ष स्थानको चेन्नयिनले कम्तीमा तीनमध्ये दुई खेलमा हार व्यहोरे मात्र मनाङ शीर्ष स्थानमा रहेर अघिल्लो चरण प्रवेश गर्न सक्नेछ । जुन समीकरण निकै कठिन हो ।  

यसअघि मनाङले ढाकासँग एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलेको खेल १–० ले गुमाएको थियो । मनाङले दोस्रो खेल चेन्नयिनसँग खेल्यो । गत सिजनको भारतीय सुपर लिग च्याम्पियनसँगको खेलमा मनाङ २–० गोलले पराजित भएको थियो । मनाङले बुधबार पन्जाबसँग खेलेपछि पाँचौँ चरणमा ढाकासँग बंगबन्धु रंगशालामा आगामी असार ४ गते र अन्तिम खेल असार ११ गते चेन्नयिनसँग एन्फा कम्प्लेक्समा खेल्नेछ ।

कमजोरी सुधारेर मैदानमा

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले जित्नका लागि टिम मैदान उत्रने बताए । उनले भने, ‘यसअघिका गल्ती र कमजोरी सुधार गरेर मैदानमा उत्रनेछौँ । मौकाको सदुपयोग हुने विश्वास लिएको छु ।’ उनले टिम संरचनामा केही परिवर्तन गरेर अघि बढ्ने बताए । ‘हामीले टिम संरचनामा केही परिवर्तन गरेर भए पनि जित निकाल्ने लक्ष्य राखेका छौँ,’ उनले भने । उनले समग्र नेपाली फुटबलकै स्तर कमजोर रहेको भन्दै मनाङको यसअघिको प्रदर्शनको बचाउ गरे ।

जितविहीन पन्जाब

मनाङजस्तै पन्जाबले पनि जारी प्रतियोगितामा जित हात पार्न सकेको छैन । तर, उसले सुरुवाती तीन खेल नै बराबरी खेलेकाले आत्मविश्वासी प्रदर्शन गर्न सके पहिलो जित निकाल्ने दाबी गर्‍यो । पन्जाबका प्रशिक्षक सचिन बाडाधेले ३ अंकका लागि मनाङविरुद्ध मैदान उत्रने बताए । उनले भने, ‘हामी ३ अंकका लागि खेल्नेछौँ । जसका लागि खेलाडी तयार छन् । सबै खेलाडी फिट छन् ।’ उनले यसअघिका गल्ती नदोहोर्‍याए अघिल्लो चरण सम्भावना कायम रहेको जनाए । साथै, उनले आर्टिफिसियल टर्फमा गाह्रो हुन सक्ने भएकाले सचेत भएर मैदान उत्रने बताए ।