मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ जेठ १ बुधबार १०:४६:००
Read Time : < 1 मिनेट
प्रदेश

मुख्यमन्त्रीको गुनासो : कर्मचारी अभावले सरकारी काम प्रभावित भयो

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित प्रदेशका सबै मन्त्रालय सचिवविहीन

Read Time : < 1 मिनेट
२०७६ जेठ १ बुधबार १०:४६:००

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले कर्मचारी अभावमा सरकारका कामकारबाही प्रभावित भइरहेको बताएका छन् । मंगलबार प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले कर्मचारीको चरम अभावले सरकार निकै समस्यामा रहेको बताएका हुन् । कर्मचारीकै अभावमा विपक्षी दलहरूसँग भएको भद्र सहमतिसमेत कार्यान्वयन गर्न नसकेको उनले जिकिर गरे । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित प्रदेशका सबै मन्त्रालयमा सचिव नरहेको उनले जानकारी दिए । ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव छैनन् । मन्त्रालयहरू पनि सचिवविहीन छन्,’ मुख्यमन्त्री राउतले भने, ‘सचिवजस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्ति नै नहुँदा सरकारका काम प्रभावित भइरहेको छ ।’ 

प्रदेश सञ्चार विधेयक टेबुल 
बैठकमा प्रदेश सञ्चार विधेयक टेबुल गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सञ्चारसम्बन्धी विधेयक टेबल गरेका हुन् । प्रदेशभर सञ्चालन हुने सञ्चारमाध्यमलाई व्यवस्थित गर्न तथा संरक्षण र प्रवद्र्धन गरिने विधेयकमा उल्लेख छ । 

नियमावली संशोधन 

प्रदेश २ को नाम र स्थायी राजधानीसम्बन्धी विधेयक ल्याउने उद्देश्यसहित प्रदेश सभा नियमावली संशोधन समिति गठन गरिएको छ । मंगलबारको प्रदेश सभा बैठकले नियमावली संशोधन गरेको हो । सभामुख सरोजकुमार यादवले वर्तमान प्रदेश नियमावलीमा प्रदेशको नाम र राजधानीसम्बन्धी व्यवस्था नरहेकाले त्यसलाई संशोधन गर्न पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिए । समितिका सांसद रामआशिष यादव, बाबलाल साह, सुन्दरबहादुर विश्वकर्मा, रामसरोज यादव र सवित्रीदेवी साह छन् ।