शनिबार आएको भीषण असिनापानीले जिल्लाको दोर्दी, क्होलासोँथर, दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको ग्रामीण क्षेत्रमा लगाइएको मकैबाली नष्ट भएको छ । मकैबालीसँगै असिनाले तरकारी तथा अन्य फलफूलमा समेत क्षति पुर्याएको दूधपोखरी गाउँपालिका कोल्कीका स्थानीय रूपबहादुर गुरुङले बताए । उनका अनुसार असिनाले मकैबाली जरैसम्म नष्ट गरेको छ ।
मध्यनेपाल नगरपालिका डडुवादुर्छाकी आशा गुरुङले गाउँमा मकैबाली र तरकारी नष्ट भएको बताइन् । उनका अनुसार लामागाउँ, कुवापानी, करापु, भकुन्डे, बास्कोट, आलडाँडा, डडुवादुर्छा गाउँका अन्नबाली र तरकारीमा करिब २५ लाख रुपैयाँबराबरको क्षति भएको छ । असिनापानीले क्होलासोँथर गाउँपालिकाका सबै वडामा क्षति पुर्याएको क्होलासोँथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए । गुरुङले मकै, कागुनो र तरकारीबाली असिनाले नष्ट पारेको बताए ।
दोर्दी गाउँपालिका– ८ बन्सार टापगाउँकी बबिता गुरुङका अनुसार असिनापानीले बन्सारसँगै छिमेकी गाउँहरूको समेत मकैबाली नष्ट पारेको छ । शनिबार साँझ परेको असिनाले मकै, तरकारी, फलफूल सबै नष्ट पारेको हो । दूधपोखरी गाउँपालिका–३ फुलिङगिरिका किसान धनबहादुर तामाङले आफ्नो ७ रोपनी जग्गामा लगाएको मकैबाली नष्ट भएको बताए । उनले भने, ‘असिनाले सबै मकै सखाप बनायो, केही राखेन, डाँठ मात्रै छ ।’
दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले वडा नम्बर–१ दूधपोखरी, २ बिचौर, ३ र ४ इलमपोखरी, ५ कोल्की र ६ गौँडाका किसानले लगाएका मकैबाली साथै बन्दा, भ्यान्टा, काँक्रो, घिरौँला तथा सागपात नष्ट भएको बताइन् ।