मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल
२०७६ जेठ १ बुधबार ०८:४७:००
Read Time : > 4 मिनेट
फिचर

क्यालेन्डरमा उसवेलाका सहर : नयाँ सडकमा हात्ती, धरानमा रेल

Read Time : > 4 मिनेट
नवीन अर्याल
२०७६ जेठ १ बुधबार ०८:४७:००

होचा घर । केही गाडी । लमकलमक लम्किरहेको हात्ती । टाढैबाट देखिने जुद्ध सालिक र वसन्तपुर दरबार । गन्तव्यमा लम्किरहेका मान्छे । तर, भीडभाड छैन । यो ०२३ सालको नयाँ सडक हो । यो वर्ष हिमालयन बैंकले देशका प्रमुख सहरका ५० वर्ष पुराना तस्बिर राखेर क्यालेन्डर निकालेको छ । क्यालेन्डरमा काठमाडौंको नयाँ सडकसहित विराटनगर, धरान, धनकुटा, हेटौँडा, पोखरा, बनेपा, पाटनलगायत सहरका ५० वर्ष पुराना तस्बिर छन् । विदेशीले खिचेका तस्बिर हिमालयन बैंकलाई पोखराका सुनील उलकले उपलब्ध गराएका हुन् । बैंकले गत वर्ष राणाकालीन दरबारका पुराना फोटो राखेर क्यालेन्डर निकालेको थियो । त्यसलाई नाम दिएको थियो, दरबारका कथाहरू ।

हिमालयन बैंकले पुराना तस्बिर राखेर क्यालेन्डर प्रकाशन गर्न थालेको १५ वर्ष पुगिसकेको छ । बैंकले कहिले मन्दिर, कहिले दरबार त कहिले सहरलाई विषय बनाएर पुराना फोटो प्रकाशन गर्ने गरेको छ । 

हिमालयन बैंकले पुराना तस्बिर राखेर क्यालेन्डर प्रकाशन गर्न थालेको १५ वर्ष पुगिसकेको छ । कहिले मन्दिर, कहिले दरबार त कहिले सहरलाई विषय बनाएर पुराना फोटो प्रकाशन गर्ने गरेको छ । ०६९ सालमा चर्चित मन्दिरका पुराना तस्बिर राखिएको थियो । ०७४ मा पनि दरबार र मठमन्दिर राखिएको थियो । ०७३ मा पुराना प्रशासकीय अड्डाहरू समेटिएको थियो ।

बैंकको न्युरोड ब्रान्च पुराना तस्बिरले सजाउने क्रममा क्यालेन्डर प्रकाशनको सोचाइ आएको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले बताए । आफूहरूले फोटोको स्वामित्व पूर्ण रूपमा किनेर मात्र क्यालेन्डरमा राख्ने गरेको राणा बताउँछन् । यसपटक नयाँ पुस्तालाई सहरको पुरानो कथा देखाउने गरी ‘थिम’ बनाएको उनको भनाइ छ । 

हिमालयन बैंकको क्यालेन्डरबारे धेरैले चासो राख्छन् । ‘धेरैले क्यालेन्डर माग्छन्, तर सबैलाई पुर्‍याउन सकिँदैन,’ बैंकका कार्यकारी प्रशासकीय अधिकृत ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, ‘कतिले त वर्ष सकिएपछि भए पनि देऊ भन्छन् ।’ बैंकले यो वर्ष भित्ते र टेबल क्यालेन्डर गरी करिब ४० हजार प्रति छापेको छ । 

उसो त पुराना तस्बिर पाउनै कठिन छ । किन्न महँगो पर्छ । पुराना तस्बिरको संग्रह बालकृष्ण समको परिवार, चित्रकार परिवार र विदेशी फोटोग्राफरहरूसँग छ । सिइओ अशोक भन्छन्, ‘बालकृष्ण समका नाति जीवन शमशेर फोटोका निकै सौखिन थिए, उनको परिवारसँग थुप्रै पुराना फोटो र रिलको कलेक्सन छ ।’

यो वर्षको क्यालेन्डरको पनि माग धेरै छ । उवेलाको न्युरोडमा विशालबजार खुलिसकेको थिएन । अहिले देखिने क्यामेरा, चस्मा, मोबाइल, सुनचाँदी पसल तस्बिरमा देखिँदैनन् । यो तस्बिर चल्र्स हन्टलेले ०२३ सालमा खिचेका हुन् ।

पाँच दशकअघि पोखराको महेन्द्रपुल बजार कस्तो थियो ? अहिले त्यहाँ ठूल्ठूला महल ठडिएका छन् । मान्छे र गाडीको भिडभाड हुन्छ । विदेशी फोटोग्राफर डग र नान्सी हचले ०२५ सालमा खिचेको पुरानो तस्बिरले ५० वर्षअघिको महेन्द्रपुल देखाउँछ । त्यसताका महेन्द्रपुलमा ठूला महल थिएनन् । एकाध छाप्रे पसल देखिन्छन् । छिटपुट मान्छे छन् । पृष्ठभूमिमा माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमाल हाँसिरहेका छन् । अहिले हिमाल हिउँदमा पनि काला देखिन्छन् । त्यो समय हिमाल पूरै हिउँले ढाकिने रहेछ । 

उसवेलाको न्युरोडमा विशालबजार खुलिसकेको थिएन । अहिले देखिने क्यामेरा, चस्मा, मोबाइल, सुनचाँदी पसल तस्बिरमा देखिँदैनन् । यो तस्बिर चार्ल्स हन्टलेले ०२३ सालमा खिचेका हुन् ।

बनेपाको तस्बिर ०३१ सालमा पिटर भन मर्टिन्सले खिचेका थिए । तस्बिरमा अरनिको राजमार्ग खेतको बीचमा देखिन्छ । बनेपा बजार राजमार्गतिर फैलिएको छैन । बनेपा बजार राजमार्गभन्दा अलि पर गुजुप्प परेर बसेको देखिन्छ । राजमार्ग सुनसान छ । गाडी देखिँदैनन् । खेतीयोग्य जमिन प्रशस्तै छ । जहाँ अहिले भवन ठडिएका छन् । 

क्यालेन्डरमा विराटनगरको पाँच दशकअघिको पेट्रोलपम्प देखिन्छ । पम्पमा जिपहरू छन् । रिक्साले यात्रु कुरिरहेका छन् । न त गाडीको भीड, न मान्छेकै । गाडी चढ्न यात्रुहरू तछाडमछाड गरेको पनि देखिँदैन । नेपालमा औद्योगिक व्यावसायिक जग बसाल्ने विराटनगर सहरमा धेरथोर चहलपहल देखिन्छ । यो तस्बिर टिम मेकरले ०२५ सालमा खिचेका हुन् ।

पाल्पा दरबारवरिपरि घरहरू छन् । घरहरू गुजुप्प देखिन्छन् । टिन, ढुंगा र खरले छाएका घरहरूले गाउँ सम्पन्न देखिन्छ । एउटा छेउमा विद्यालय पनि देखिन्छ । बिल लेम्बेथले ०२२ सालमा तानसेनको तस्बिर खिचेका थिए, जहाँ आधुनिक तानसेन सहर होइन, मनमोहक गाउँ देखिन्छ । 

झन्डै ६ दशकअघिको धनकुटा बजार सुनसान छ । सडक ढुंगाले छापेको छ । घरहरू गुजुप्प छन् । एउटा ठिटो फोटो खिच्ने क्यामेरातर्फ हेरिरहेको छ । पसलमा मान्छे देखिन्छन् । केही घरका छानो पुरानो भएर खसेको छ । केही घर महलजस्तै देखिन्छन् । ०१७ तिरै धनकुटा बजार सम्भ्रान्त थियो । उतिवेला विदेशी जिम स्कटले धनकुटा बजार क्यामेरामा कैद गरेका थिए । अहिले बजारको स्वरूप फेरिइसकेको छ ।

कोसी ब्यारेज निर्माणको समय । ब्यारेज निर्माणका लागि निर्माण सामग्री ओसारपसार गर्न धरानसम्म मालबाहक रेल कुद्थ्यो । अहिले धरानमा रेल त कुद्दैन, पुरानो लिक देख्न पाइन्छ । तस्बिरमा टनाटन भरिएको रेल कुदिरहेको देखिन्छ । केही कामदार र यात्रु रेलको डिब्बामा चढिसकेका छन् । केही यात्रु रेल चढ्दै छन् । तस्बिर खिचेको देखेरै होला, सबैको अनुहार हँसिलो देखिन्छ । असपासमा कुनै घर देखिन्न । यो ऐतिहासिक तस्बिर बब वाचमनले ०२३ सालमा खिचेका हुन् ।

हेटौँडामा सडकको छेउमा दुईवटा ट्रक रोकिएका छन् । एउटा ट्रक कुदिरहेको छ । सहरकै बीचमा चौतारो छ । चौतारोमा मान्छे सुस्ताइरहेका छन् । मान्छेहरू हतारहतारमा देखिन्छन् । सहरमा आधुनिक भवन होइन, पुराना टायलले छाएका घरहरू देखिन्छन् । बजारमा धेरथोर चहलपहल देखिन्छ । डेभ हलले ०२३ सालमा खिचेको तस्बिरले पुरानो झझल्को दिन्छ । हेटौँडा पहिलेदेखि नै काठमाडौं आउने प्रवेशद्वार थियो । तस्बिरमा देखिएको सडक अहिले पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग बनेको छ ।

कोसी ब्यारेज निर्माणको समय । ब्यारेज निर्माणका लागि निर्माण सामग्री ओसारपसार गर्न धरानसम्म मालबाहक रेल कुद्थ्यो । अहिले धरानमा रेल त कुद्दैन, पुरानो लिक भने देख्न पाइन्छ । यो तस्बिर बब वाचमनले ०२३ सालमा खिचेका हुन् ।

अहिले भिडभाड हुने जनकपुरको धनुषा सागर ०२४ सालतिर निकै शान्त देखिन्छ । मान्छेको भीड देखिन्न । ठूल्ठूला भवन पनि देखिन्नन् । सडकमा दुईजना छाता ओढेर बसिरहेका छन् । सायद व्यापार गर्दै छन् । हात्तीले घाँस बोकेर गन्तव्यतिर लागिरहेको छ । एउटा युवा छेउमा बसेर ताल हेरिरहेको छ । त्यसताका देखिने तालछेउका भवन अहिले पनि देख्न पाइन्छ ।

नारायणी नदी बगिरहेको छ । तर, नदीमाथि पुल बनिसकेको छैन । भर्खर महेन्द्र राजमार्गको रूपरेखा कोरिँदै छ । बाटोको छेउमा कुनै घर छैन । नारायगढको पुलचोकबाट काठमाडौंतिर आउने बाटोमा बजार देखिन्छ । तर, खास चहलपहल देखिँदैन । महेन्द्र राजमार्गआसपास खेतैखेत देख्न सकिन्छ, बाटोको धर्सो मात्र देखिन्छ । अहिले नारायणगढको पुल्चोक मुलुककै व्यस्त ठाउँमा गनिन्छ । 

विराटनगरको विमानस्थल बसपार्कजस्तो देखिन्छ । तत्कालीन रोयल नेपाल एयरलाइन्सको विमान रोकिएको छ । भिडले जहाज घेरिएको छ । यस्तो लाग्छ, कलंकीमा बस चढ्नझैँ जहाज चढ्नलाई पनि तँछाडमछाड हुँदै छ । ब्राइन कुकले ०२२ सालमा खिचेको विराटनगरको पुरानो विमानस्थलले नेपाली वायुसेवाको तत्कालीन अवस्था झल्काउँछ । अहिले विराटनगर विमानस्थल मुलुककै व्यस्त आन्तरिक विमानस्थलमध्येमा पर्छ ।

चीन सरकारको सहयोगमा सञ्चालित ट्रलीबसको अहिले अवशेष पनि बाँकी छैन । तर, कुनै समय यही ट्रलीबस राजधानीका बासिन्दाको गतिलो यातायात साधन थियो । रिच फाउले ०३४ सालमा भक्तपुर सूर्य विनायक क्षेत्रमा ट्रलीबस कुदेको फोटो खिचेका छन् । ट्रलीबसको छेउमा एउटा बच्चा खेलिरहेको छ । केही युवा ट्रलीबसको छेउमा उभिएर कुराकानी गरिरहेका छन् । कति ट्रलीबस चढ्दै छन् । बस चढ्न तँछाडमछाड देखिँदैन । पृष्ठभूमिमा डाँडो देखिन्छ, एकाध साना घर मात्र देखिन्छन् । जमिन पूरै खाली छ । अहिले यो ठाउँ घरले भरिएको छ । र, सडक पनि व्यस्त छ ।