१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अमिन सैकाल
२०७६ जेठ १ बुधबार ०८:२०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

इरानमाथि अमेरिकी आक्रमणको प्रभाव

अमेरिकासँगको युद्धमा इरान सजहै हार खाने छैन, बरु सैन्य आक्रमणले क्षेत्रीय अवस्था नारकीय बनाउनेछ

Read Time : > 3 मिनेट
अमिन सैकाल
२०७६ जेठ १ बुधबार ०८:२०:००

संयुक्त राष्ट्र संघका लागि पूर्वअमेरिकी राजदूत स्यामान्था पावरले एकपटक जातीय नरसंहारलाई ‘नर्कबाट उब्जिएको समस्या’को संज्ञा दिएकी थिइन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको तनाव बढाइरहेमा विश्वजगत् दुई देशको ‘नर्कबाट उब्जिएको संग्राम’का लागि तयार हुनुपर्छ । हुन त अहिले अमेरिका र इरान दुवैले युद्ध नचाहेको बताइरहेका छन्, तथापि एकपछि अर्को कदमले ती दुई मुडभेडको बिन्दुतर्फ अघि बढिरहेको देखिन्छ । अमेरिकाले इरानको छेवैमा उल्लेख्य सैन्य परिचालन बढाएको छ ।

इरानको समुन्द्र तटछेउमा अमेरिकाले ‘युएसएस अब्राहम लिंकन’ नामक युद्धपोत परिचालन गरेको छ । त्यस्तै, अमेरिकाको बमवर्षक टास्कफोर्स पनि मध्यपूर्व पुगेको छ । इरानको डरधम्कीपूर्ण क्रियाकलापबाट आफ्ना गुटपक्षधरको प्रतिरक्षा गर्नका लागि यी कदम चालिएको अमेरिकी भनाइ छ । अमेरिकाको कदमलाई इरानका नेताले मनोवैज्ञानिक युद्ध भएको आरोप लगाएका छन् । यी गतिविधिले सैन्य द्वन्द्वको सम्भावना बढाएको तिनको आरोप छ । 

राष्ट्रपति पद सम्हालेदेखि ट्रम्पले झन्डै हरेकपटक इरानलाई मध्यपूर्वको समस्याका लागि दोष दिने गरेका छन् । इरानले मध्यपूर्व र त्योभन्दा बाहिर पनि आतंकवादलाई प्रायोजन गर्ने गरेको ट्रम्पको आरोप छ । ट्रम्प राष्ट्रपति हुनासाथ उनीअघिका राष्ट्रपति बाराक ओबामाले अंगीकार गरेको इरानसँगको अन्तरक्रियाको नीति उल्ट्याए । त्यसयता, इरानसँग ट्रम्प प्रशासनको तीन उद्देश्य देखिन्छ ।

पहिलो, ट्रम्प प्रशासन इरानको वर्तमान शासन ढाल्न चाहन्छ । त्यो नसकेको अवस्थामा उसले कम्तीमा पनि इस्लामिक गणतन्त्रको चरित्र फेर्ने उद्देश्य लिएको देखिन्छ । दोस्रो, अमेरिका इरानको अर्थतन्त्रलाई कमजोर बनाएर उसको हालको क्षेत्रीय शक्ति भुत्ते बनाउन चाहन्छ । तेस्रो, अमेरिकी प्रशासन इरानविरुद्ध मध्यपूर्वमै रहेका, तर त्यति राम्रो सम्बन्ध नभएका इजरायल र अरब राष्ट्रलाई एकै ठाउँमा ल्याउन चाहन्छ । ती उद्देश्य हासिल गर्न, ट्रम्पले अमेरिकालाई सन् ०१५ मा इरानसँग गरिएको आणविक सम्झौताबाट बाहिर निकाले ।

सम्झौता रद्द भएपछि उनको प्रशासनले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगायो । पछिल्लो आर्थिक प्रतिबन्धले इरानको अर्थतन्त्रका प्रत्येक क्षेत्र यति प्रभावित भएको छ कि केही विदेशी कम्पनीले ऊसँग व्यापार गर्न छाडिदिएका छन् । अघिल्लो महिना ट्रम्पले इरानको सैन्य फौजको एक हिस्सा ‘इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प’लाई नै आतकंवादी संगठन घोषणा गरिदिए । अमेरिकाले कुनै देशको सैन्य फौजलाई आतंकवादी संगठन घोषणा गरेको यो पहिलोपटक हो ।

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले हालै अमेरिकाले इरानको शासनसँग युद्ध नचाहेको, तर इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प र अन्य नियमित इरानी फौजको आक्रमणलाई प्रतिवाद गर्न पूर्ण तयार भएको बताए । उग्र राष्ट्रवादी बोल्टनकै भनाइसँग मिल्ने विचार ट्रम्प प्रशासनका विदेशमन्त्री माइक पोम्पेओले पनि राखे । यी उग्र व्यवहारले अमेरिका र इरानबीच युद्धको सम्भावना बढेको छ । भावी दिनमा नियतवश वा कुनै गलत आकलनकै आधारमा युद्ध भड्किन सक्छ । युद्ध सुरु भएको अवस्थामा अमेरिकाको सैन्य शक्ति अघि टिक्न सक्ने सामथ्र्य इरानसँग छैन ।

युद्धमा अमेरिकाले इरानका सैन्य संयन्त्र, आणविक केन्द्र र प्रमुख पूर्वाधार सेवालाई नष्ट गर्न सक्छ । त्यस्तै, अमेरिकाले आफ्नो सैन्य सामथ्र्य प्रयोग गरेर ‘स्ट्रेट अफ हरमुज’मा इरानले लगाउन सक्ने प्रतिबन्ध पनि खुलाउला । विश्वमा हुने कुल तेल ढुवानीको ३० प्रतिशत हिस्सा ‘स्ट्रेट अफ हरमुज’बाट हुन्छ । समुद्र पारवहनको यस्तो महत्वपूर्ण  भाग यस्तो अवस्थितिमा छ कि इरानले चाहेमा जुनसुकै वेला बन्द गर्न सक्छ । अमेरिकी आक्रमणको सामु इरानको शासनले ‘स्ट्रेट अफ हरमुज’माथि लामो समय नियन्त्रण गर्न नसक्ला । तर, छोटो समयमा पनि यसले धेरै तेल बोकेका जहाज डुबाइदिन सक्छ । उदारणका लागि इरानसँग आधुनिक हवाई युद्ध मोर्चामा लड्ने फौजको अभाव छ । तर, उसले छोटो, मध्यम र लामो दूरीको मिसाइल विकास र निर्माणमा उल्लेख्य प्रगति गरेको छ । ती हतियारमार्फत उसले इजरायलसम्म मार हान्न सक्छ । 

इरानमा ट्रम्प प्रशासनको तीन उद्देश्य देखिन्छ– पहिलो, इरानको वर्तमान शासन ढाल्ने । त्यस्तो नसकेमा कम्तीमा पनि इस्लामिक गणतन्त्रको चरित्र फेर्ने । दोस्रो, इरानी अर्थतन्त्रलाई कमजोर बनाएर उसको क्षेत्रीय शक्ति भुत्ते बनाउने । तेस्रो, इरानविरुद्ध मध्यपूर्वमै रहेका, तर त्यति राम्रो सम्बन्ध नभएका इजरायल र अरब राष्ट्रलाई एकै ठाउँमा ल्याउने ।
 

आफूमाथि युद्ध घोषणा गरिएको अवस्थामा इरानले दुबईमा रहेको विश्वको अग्लो भवन बुर्ज खलिफाजस्ता महत्वपूर्ण  स्थलमाथि प्रहार गर्न सक्छ । त्यसमार्फत इरान मध्यपूर्वका शत्रु राष्ट्रमा आर्थिक संकट निम्त्याउने प्रयास गर्नेछ । हुन त इरानी मिसाइलको सटिकता कस्तो छ यकिन छैन, तर पनि जस्तो अवस्थामा पनि धेरै इरानी मिसाइललाई प्रतिरक्षा प्रणालीले रोक्न सक्ने छैनन् । किनकि विश्वकै उत्कृष्टमध्ये एक मानिने इजरायलको मिसाइल प्रतिरक्षा प्रणाली ‘आइरन डोम’ले गाजा क्षेत्रबाट हानिएका सबै घरेलु मिसाइल रोक्न सक्दैनन् ।

इरानसँग त त्योभन्दा निकै परिष्कृत मिसाइल छन् । इरानमा इस्लामिक गणतन्त्र स्थापना भएदेखि नै इरानी शासनले मध्य–पूर्वभरि छद्म शक्तिको सञ्जाल निर्माण गरेको छ । अमेरिकाले युद्ध सुरु गरेपछिको अवस्थामा यो सञ्जाल इरानको निर्णायक हतियार सावित हुनेछ । इरानको नेतृत्वमा हाल अफगानिस्तानदेखि लेबनानसम्म एक सिया–रणनीतिक गठबन्धन छ । यो मोर्चाको महत्वपूर्ण कडिमा सियाशासित सिरिया र सिया बहुल इराक पनि छन् ।

इरानको छद्म शक्तिमा अफगानिस्तानको सिया जनसंख्याएको एक हिस्सा, इराकको सिया मिलिसिया र हेजबुल्ला समूह पर्छन् । इजरायलसँग सिमाना जोडिएको लेबनानको दक्षिणी भागलाई नियन्त्रण गरेर बसेका हेजबुल्ला समूहले हजारौँ रकेट इजारायलतर्फ फर्काएर तयारी अवस्थामा राखेका छन् । हेजबुल्ला कमजोर संगठन होइन, भन्ने कुरा सन् २००६ मा इजरायलसँगको युद्धबाट अनुमान गर्न सकिन्छ । त्यसैले अमेरिकासँगको युद्धमा इरान सजहै हार खाने छैन । बरु त्यसको उल्टो कुनै पनि खालको प्रमुख सैन्य आक्रमणले क्षत्रीय स्तरको अनियन्त्रित नारकीय अवस्था निम्त्याउनेछ । यसैले दुवै पक्ष युद्ध नभड्काउन सचेत हुनुपर्छ ।

(अमिन सैकाल राजनीतिशास्त्रका प्राध्यापक तथा अस्ट्रेलियन नेसनल युनिर्भसिटीको ‘अरब तथा इस्लामी विश्व केन्द्र’का निर्देशक हुन्)

ë Project Syndicate 2019

नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य