१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
वैभव भाट्स
२०७६ जेठ १ बुधबार ०८:०५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

भारतीय निर्वाचनमा सेलेब्रिटीको प्रयोग

भाजपाले चलाखीपूर्वक राजनीतिक बजारमा आकर्षण बढाउन सेलेब्रिटीको महत्व ठूलो रहने तथ्य बुझेको छ

Read Time : > 2 मिनेट
वैभव भाट्स
२०७६ जेठ १ बुधबार ०८:०५:००

भारतका पूर्वक्रिकेटर गौतम गाम्भीर सत्तारुढ भाजपाका उम्मेदवार हुन् । निर्वाचनको पूर्वसन्ध्यामा पूर्वी दिल्लीमा शुक्रबार आयोजित सभामा उनी ठूलो जत्थासहित सहभागी भए । अघिल्लो निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पक्षमा जसरी जनलहर देखिएको थियो, अहिले त्यस्तो माहोल नरहेको कार्यकर्ता तथा शुभचिन्तक नै बताउँछन् । बरु, अहिलेको माहोल अन्धकार र धम्कीपूर्ण देखिएको छ ।

चुनावी ¥यालीमा नेताहरूले गर्ने भाषणबाटै यसको गन्ध आउँछ । ‘राम्रो दिन सुरु हुने’ नारा दिएर सन् २०१४ मा चुनाव जितेका मोदी पाँच वर्षपछि नै बदलिएका छन् । भाजपा अहिले रक्षात्मक देखिएको छ । ‘हामी सबै विस्तारवादीलाई दिल्लीबाट लखेट्छौँ,’ भाजपाका एक स्थानीय नेताले चुनावी -यालीमा भने । उनले अल्पसंख्यक र विशेषगरी मुस्लिम र क्रिस्चियनतर्फ यस्तो संकेत गरेका थिए । 

संरक्षणका लागि घेरा हालेर बसेका बाउन्सर र भिडमा ठेलमठेल गर्दै गाम्भीर आइपुगे । उनी ड्यासमा बसे । धम्कीपूर्ण भाषण जारी नै थिए । स्थानीय बालबालिका, जो क्रिकेट ब्याट बोकेर आएका थिए, उनीहरू गम्भीर भएको स्थानमा पुगे र ब्याटमा हस्ताक्षर गराएर फर्किए । 

३७ वर्षीय गम्भीरले भारतीय राष्ट्रिय टोलीबाट खेल्दा ठूलो नाम कमाएका छन् । सन् २०११ को विश्वकप भारतलाई जिताउने क्रममा उनले फाइनलमा महŒवपूर्ण इनिङ खेलेका थिए । आफ्नो करिअरका दौरान उनी निकै कम बोल्थे, जसका कारण समर्थक र विज्ञापनदातामाझ त्यति लोकप्रिय हुन सकेनन् । पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीले भर्खरै प्रकाशित आफ्नो आत्मकथामा गम्भीरकोे ‘रबैयामा समस्या रहेको’ आरोप लगाएका छन् । २२ मार्चमा भाजपामा आबद्ध गम्भीरले छिटै पूर्वी दिल्ली निर्वाचन क्षेत्रबाट टिकट पाएका हुन् । भारतीय राजधानीका सात निर्वाचन क्षेत्रमध्ये यो एक हो । यहाँ, आइतबार निर्वाचन सम्पन्न भएको छ । मतगणना सुरु हुन २३ मेसम्म प्रतीक्षा गर्नुपर्छ । 

भाजपामा आबद्ध हुने गम्भीरको कदम आश्चर्यको विषय होइन । आफ्नो क्रिकेट करिअरका दौरान पनि उनी कट्टर राष्ट्रवादी थिए । विवादास्पद कास्मिर क्षेत्रका सवालमा कडा देखिने गरेका थिए । गम्भीरको राजनीतिक यात्रा मोदीमातहत मनोरञ्जन र राजनीतिक दुनियाँको बढ्दो नेक्ससको एउटा विस्तारित प्रवृत्ति हो । भारतका सबै राजनीतिक पार्टी खेलकुद र मनोरञ्जन क्षेत्रमा आफ्नो उपस्थिति खोज्छन् । अन्य पार्टीभन्दा ऐतिहासिक रूपमै भाजपा यस मामिलामा अघि छ । विपक्षी कांग्रेस जो ब्रिटिसविरुद्ध भारतीय स्वतन्त्रता संग्राममा सहभागी थियो ।

भारतका संस्थापक नेताका परिवारबाट आफूलाई उत्तराधिकारी दाबी गर्दै टिकट लिनेको होड यस पार्टीमा ठूलो देखिन्छ । भाजपाले चलाखीपूर्वक राजनीतिक बजारमा आकर्षण बढाउन सेलेब्रिटीको महत्व  ठूलो रहने तथ्य बुझेको छ । त्यसैले मोदीले क्रिकेटर र बलिउड सेलेब्रिटीलाई चुनावी मैदानमा उतारेका हुन् । चाहे, उम्मेदवारका रूपमा होस् वा प्रचारकका रूपमा । 

मोदीको बायोपिक गत ११ अप्रिलमा निर्वाचनको संघारमा प्रदर्शनमा आउनेवाला थियो । यसलाई निर्वाचन आयोगले रोक लगाइदियो । तर, यसले पनि मोदीलाई चर्चा हासिल गर्न मद्दत नै गरेको छ । पर्दामा कट्टर राष्ट्रवादी नायकको भूमिका निभाउने अभिनेता सन्नी देओल पञ्जाबको पश्चिमी क्षेत्र गुर्दासपुरबाट उम्मेदवार छन् । भोजपुरी फिल्मका विख्यात कलाकार रवि किसन र गायक हंसराज हंस अन्य त्यस्ता प्रभावशाली व्यक्तित्व हुन्, जो ढिलो गरी भाजपा प्रवेश गरे र टिकट पनि हासिल गरे । 

आर्थिक वृद्धिदरमा सुस्तता र उच्च बेरोजगारीबाट सर्वसाधारणको ध्यान मोड्न निर्वाचनमा सेलेब्रिटी राम्रो माध्यम बन्न सक्छन्
 

त्यसो त मोदीले बलिउडका ठूला स्टारमध्येका एक अक्षय कुमारलाई निर्वाचनकै पूर्वसन्ध्यामा अन्तर्वार्ता दिए । गैरराजनीतिक भनिए पनि यो अन्तर्वार्ता जनसम्पर्कको अभ्यास थियो । जहाँ, मोदीलाई आँप मन पर्छ वा पर्दैन भन्ने खालका प्रश्न अक्षय कुमारले सोधेका थिए । मोदीले प्रायः सामाजिक सञ्जालमा सेलेब्रिटीसँगका तस्बिर राख्ने गरेका छन् । उनी केही सेलेब्रिटीका बिहेभोजमा समेत सहभागी हुन्छन् । 

आर्थिक वृद्धिदरमा सुस्तता र उच्च बेरोजगारीबाट सर्वसाधारणको ध्यान मोड्न भाजपाले यसपटकको चुनावमा राष्ट्रवादको नारा उचालेको छ । यस्ता गम्भीर मुद्दाबाट जनताको ध्यान मोड्न सेलेब्रिटी राम्रो माध्यम हुन सक्छन् । ‘गम्भीरसँग त्यस्तो कुनै योग्यता छैन, जसले उनलाई सांसद् निर्वाचित गर्न सकोस्,’ चर्चित स्तम्भकार अक्षर पटेलले भनेका छन्, ‘उनले ट्विटरमा हिंसा भड्कने अभिव्यक्ति दिए । सामाजिक सञ्जालमा राष्ट्रवादका प्रवक्ता बने । तर, उनले छिमेकमा निस्किएर कहिल्यै गरिबी वा अन्य घटना नियालेका छैनन् । उनको उम्मेदवारी भारतीय मध्यमवर्गको प्रतिनिधित्व हो ।’

देखियो पनि यस्तै, दिल्लीबाट उम्मेदवारी दिनेमध्येका धनाढ्य गम्भीरले निम्न–मध्यमवर्गीय मतदातालाई भावनात्मक रूपमा आकृष्ट गर्ने गरी अभिव्यक्ति दिन संघर्ष गर्नुप-यो । स्टेज छाड्दै गर्दा उनले मतदाताका समस्या सुन्ने र उनीहरूसँग छलफलका लागि रोकिने धैर्य पनि देखाएनन् । बरु, बाउन्सरहरूले घेरिएका यी सेलेब्रिटीलाई स्कर्टिङ गरेर लगियो । भिडबाट गायब भएर उनी आफ्नो आरामदायी गाडीमा छिरे । 

(वैभव स्वतन्त्र पत्रकार हुन्)अलजजिरा डट कमबाट