मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
मुना कुँवर
२०७५ पौष १३ शुक्रबार ०८:५८:००
Read Time : < 1 मिनेट
अर्थ

नक्कली बिमालेखका अभियुक्तलाई थुनामा राख्ने आदेश

Read Time : < 1 मिनेट
मुना कुँवर
२०७५ पौष १३ शुक्रबार ०८:५८:००

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाममा नक्कली वैदेशिक रोजगार बिमालेख जारी गर्ने तीनजनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । त्यस्तै, फरार दुईजनालाई पक्राउ पुर्जी जारी गर्न आदेश दिएको छ । न्यायाधीश अशोककुमार बस्नेतको इजालाशले अन्य तीनजनालाई जमानतमा फुकुवा गर्न आदेश दिएको छ । 

जिल्ला अदालत काठमाडौंले अभिकर्ता प्रकाश रेग्मी, प्राइम लाइफ इन्स्योरेन्सको ताहाचल कार्यालयको लेखा हेर्ने र बिमा पोलिसी बनाउने कर्मचारी सञ्जय केसी र सुदीप खड्कालाई मुद्दाको किनारा नलागेसम्म थुनामा राख्न आदेश दिएको छ । त्यसैगरी वर्ल्डवाइज म्यानपावरका कर्मचारी सिंहबहादुर लामा, प्राइम इन्स्योरेन्स ताहाचल कार्यालयका कार्यालय सहायक भोला पोखरेल र धुव्र रेग्मीलाई धरौटीमा छोड्न आदेश दिएको छ । अदालतले सिंहबहादुरलाई २ लाख, धुव्र रेग्मीलाई २ लाख ५० हजार र भोला पोखरेललाई २ लाख रुपैयाँ जमानत तोकेको छ । फरार रहेका गीता शर्मा रेग्मी र अमिता दाहालको नाममा पक्राउ पुर्जी जारी गर्न अदालतले आदेश दिएको छ । 

ठगेको स्वीकार गरे रेग्मीले 
जिल्ला अदालतमा बयान दिँदै प्रकाश रेग्मीले वर्ल्डवाइज म्यानपावरमार्फत जाने १ सय ४० जनाको नक्कली बिमालेख बनाएको स्वीकारेका छन् । उनले कम्पनीका कर्मचारीसँग मिलेर भाइ ध्रुव रेग्मी, पत्नी गीता शर्माको अभिकर्ता नम्बर राखी नक्कली बिमालेख बनाएको स्वीकार गरेका हुन् । त्यस्तै, वर्ल्डवाइज म्यानपावरका कर्मचारी सिंहबहादुर लामाले रेग्मीसँग केही रकम लिएको स्वीकार गरेका छन् ।

कम्पनीका कर्मचारी धुव्र रेग्मीको नामको अभिकर्ता नम्बर २६/२०४६९ बाट नक्कली बिमालेख जारी गरेकोे अदालतले ठहर गरेको छ । अर्का कर्मचारी भोला पोखरेलले भने नक्कली बिमा पोलिसीमा छाप लगाउने गरेको पाइएको छ । बयानका आधारमा कम्पनीका लेखा र बिमा बनाउने कर्मचारी सञ्जय केसी र सुदीप खड्का पनि नक्कली बिमा पोलिसी बनाउने कार्यमा संलग्न देखिएको अदालतको ठहर छ ।